राजनीति


बालेन्द्र र सुनीताले सुनेका समस्या : बाँदरदेखि फोहोरसम्म

बालेन्द्र र सुनीताले सुनेका समस्या : बाँदरदेखि फोहोरसम्म

रुपक चौलागाईं
जेठ १७, २०७९ मंगलबार १७:४६, काठमाडौँ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सोमबार बोलाएको पहिलो कार्यपालिका बैठकमा कर्मचारी र वडाध्यक्षबीच केहीबेर गर्मागर्मी बहस भयो। बैठक करिब अढाइ घण्टा चलेको थियो।

स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंको मेयर जितेका शाहले बैठक लाइभ गरेको विषयमा मिश्रित प्रतिक्रिया आइरहेका छन्। बैठकको अन्त्यतिर ६ बुँदे निर्णय सुनाउँदै गर्दा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालले प्रमुख प्रशासकीय अधिकृतमाथि आपत्ति जनाए।

प्रमुख, उपप्रमुखसहित सबै वडाध्यक्षको उपस्थितिमा बसेको बैठकमा नवनिर्वाचित मेयरलाई वडाध्यक्षहरुले काठमाडौंका समस्या सुनाएका थिए। काठमाडौंका समस्याबारे बैठकमा नयाँ प्रमुखलाई वडाध्यक्षहरुले सुनाए।

अधिकांश वडाका जनप्रतिनिधिहरुले ढल निकास, फुटपाथ, सडक, फोहोर, खानेपानी, दुरसञ्चार लगायतका क्षेत्रमा भएका समस्याबारे प्रमुख शाह र उपप्रमुख सुनिता डंगोललाई रिपोर्टिङ गरेका थिए।

ढलमा पानी जाँदैन, घरैमा धोबीखोलो पस्छ : वीरेन्द्र प्रजापति
वडाध्यक्ष, वडा नम्बर ५

अहिले पानी पर्न थालेको छ। सडकमा एकघन्टा पानी पर्दा धोविखोला घरमा आइपुगेको छ।

करिडोरमा बनाइएको ढलको पाइपमा पानी नै नजाने भएको छ। दुई घन्टा पानी आयो भने जनताले हामीलाई फोन गर्ने गरेका छन्। हामीले माथिल्लो निकायमा फोन गर्दा त्यहाँ घर नै बगाइसकेको हुन्छ।

महानगर मात्र फोहोरको विषयमा जिम्मेवार होइन। नीतिगत रुपमा सरकारसँग समन्वय गरेर राज्यले के गर्ने हो भन्ने कुरा व्यवस्थित हुनुपर्छ।

बाँदरले सीसीटीभी निकालिदिन्छ : हिरालाल तण्डुकार
वडाध्यक्ष, वडा नम्बर ११

मेरो वडामा बाँदर छ, सीसीटीभी राख्दा पनि बाँदरले निकालिदिन्छ। यो राख्दा वाइरलेस राख्ने हो वा होइन? यदि वाइरलेस भयो भने पनि बाँदरले राख्नै दिँदैन।

मेरो वडा गुठीको घरमा बसिरहेको छ। सानो पनि छ। पार्किङ पनि छैन। मलाई पनि घर बनाउनका लागि १० करोड छुट्याएको छ। तर, सर्वोच्च अदालतले कुनै पनि घर भाडामा दिँदा घर बनाउन नपाउने भनेको रहेछ। त्यसकारण हामीले वडा कार्यालय पनि बनाउन पाएनौं। अहिले पाइने जग्गा पनि ओगटिसकेको छ।

मेलम्चीको पानी आउनासाथ हाम्रा सडकहरुमा पानी चुहिन्छ। हामीले पानी पठाउँदा यस्तो भयो भनेर समय–समयमा भनिरहनु पर्छ। पानी पठाउँदा हाम्रो सडकमा नचुहिने गरी गर्न सक्नुपर्यो। कल सेन्टर राख्ने कुरा गरेका छौं।

फोहोर महानगरले उठाएको कि माफियाले? : मुकुन्द रिजाल
वडाध्यक्ष, वडा नं १६

हिजो फोहोर कसले उठाएको थियो? फोहोर माफियाले उठाएको हो? हामीभित्रै समस्या छ। समाधान पनि हामीभित्रै छ। करको पैसा अन्त्य गर्नुपर्ने देखिएको छ। हामी ठूला करोडौंको कुरा गर्छौं तर, काम गर्दैनौं। खानेपानी, दुरसञ्चार, बत्ती र सडक एकीकृत महानगरको विकासमा जानुपर्छ।

कलंकीमा मान्छे असरल्ल पिसाब फेरिरहेका भेटिन्छन् : सुमन श्रेष्ठ
वडाध्यक्ष, वडा नं १४

म कलंकीनिवासी पनि हुँ। यहाँ बाहिरबाट आउने बसहरुको प्रवेशद्वार हो। यहाँ प्रवेश गर्नेबित्तिकै सबैभन्दा बढी फोहोर देखिन्छ। त्यहाँ हप्तौंसम्म प्राइभेट सेक्टरका निकायले फोहोर उठाउँदैनन्। तीन दिन फोहोर नउठ्दा चौथो दिन किन कारबाही नगर्ने? जरिवानाको व्यवस्था पनि गर्नुपर्छ।

कलंकी चोकमा बेलुकी ५ बजेपछि फुटपाथमा पसलहरु बस्ने र त्यसले फोहोरहरु निकाल्ने गरेका छन्। कलंकी चोकबाट सानेपा जाँदा हरियाली बनाएको छ। कलंकी चोकबाट स्वयम्भुतर्फ झनै बढी पसलहरु राखिएको छ। हाम्रो वडामा नगर प्रहरी कम छन्। त्यहाँ हाट बजार राख्न दिइएको छ। त्यो किन त्यस्तो भएको हो?

कलंकी चोकबाट स्वयम्भूतर्फ आउँदा र पूर्वतर्फ आउँदा असरल्ल रुपमा फोहोर ढल बगेको छ। टिकट काउन्टरहरु र बस स्टेसन बनेका छन्।

महानगरपालिकाले त्यहाँ पिच गर्ने वातावरण बनायो भने आफैं समस्या समाधान हुन्छ। काठमाडौंमा प्रवेश गर्दा कलंकीमा ओर्लेपछि एउटा पनि शौचालय छैन। मान्छेहरु असरल्ल रुपमा पिसाब फेरिरहेको भेटिन्छ।

सार्वजनिक शौचालय निःशुल्क गर्नुपर्छ : आशामान संगत
वडाध्यक्ष, वडा नं ८

काठमाडौं महानगरपालिकामा शौचालय निःशुल्क गर्ने भन्ने कुरा ठीक छ। सार्वजनिक शौचालय हरु पनि निःशुल्क गर्नुपर्छ। काठमाडौं महानगर प्रशासनिक काम मात्रै हुने ठाउँ हो। काठमाडौं महानगरवासी बस्ने सुविधा दिने कुरामा ध्यान दिन सकेनौँ।

फोहोर भन्नेबित्तिकै घरबाट मात्रै निस्किने फोहोरलाई मात्र बुझ्यौँ। सुविधा उपभोग गर्ने नाममा भएको तारहरु पनि उपत्यकाको फोहोर हो नि। पोलमा आगो बलिरहेको छ। पोलमा तार राख्न महानगरपालिकाको स्वीकृति लिन पर्ने कि नपर्ने?

महानगरको फोहोर कसले उठाइरहेको छ? निजी क्षेत्रमा कसरी गइरहेको छ?

बूढानीलकण्ठले ढल खन्न दिएन : विमलकुमार होडा
वडाध्यक्ष, वडा नं ७

मेलम्चीको पानी आइरहेको छ। आज हामीले पानी आउँदा छताछुल्ल भइरहेको पाउँछौँ। ढलको व्यवस्थापन भइरहेको छैन। मेरो वडामा कहिल्यै पनि ढल सफा गरेको देखेको छैन। नियमितरुपमा ढलको सफाइ गर्ने काम नहुँदा समस्या भयो। आज पनि मेरो टोल जलमग्न थियो। प्रत्येक घरले सेफ्टी ट्यांकी बनाउँदा ध्यान दिएको छैन।

ठूलाठूला गाडीहरु टोलभित्र छिर्दा पनि समस्या भएका छन्। अहिले सात तले क्षेत्रमा निकै समस्या भएको छ। महांकालदेखि आएको पानीले त्यहाँ सामान्य वर्षा हुँदा पनि बाढी आउँछ। बूढानीलकण्ठ नगरपालिकाले त्यहाँ ढल खन्न नदिँदा पनि समस्या भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .