ad ad

राजनीति


उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने बजेट ल्याउन लुम्बिनी सरकारलाई सुझाव

उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने बजेट ल्याउन लुम्बिनी सरकारलाई सुझाव

सुदीप भण्डारी
जेठ २०, २०७९ शुक्रबार १८:२, बुटवल

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका सम्बन्धमा छलफल थालेको छ। प्रदेशको बजेट आउन भन्दा १० दिनअघि सबै पक्षसँग छलफल भएको हो।

लुम्बिनी सरकार अन्तर्गतको प्रदेश योजना आयोगले शुक्रबार बुटवलमा गरेको छलफल कार्यक्रममा अर्थ सम्बन्धी जानकार, व्यवसायीक संघ संस्थाका अगुवा तथा अन्य विभिन्न व्यक्तिहरुले उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने गरि बजेट ल्याउन सुझाएका थिए।

साथै आयात प्रतिस्थापन गर्न, सूचना प्रविधिको भरपूर प्रयोग हुने गरि योजना बनाउन, लुम्बिनी र बुद्धको पहिचानलाई उजागर गर्ने गरि बजेट बनाउन उनीहरुको आग्रह छ ।

त्यस्तै विद्युतीय गाडीको उपयोगिता बढाउने र उद्यमशीलता बृद्धि गर्ने गरि बजेट ल्याउनुपर्ने कुरा समेत उठेको थियो।  

छलफलमा उद्योगी व्यवसायीहरुले प्रशासनिक काममा झन्झट हटाउन सरकारसँग माग गरेका थिए। उनीहरुले रोजगारी सिर्जना गर्ने तथा आर्थिक चलायमान बनाउने निजी क्षेत्रलाई सम्मान गर्न आग्रह समेत गरे।

रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष कृष्ण पराजुलीले देशलाई आत्मनिर्भर बनाउने हो भने आयात निरुत्साहन गर्नुपर्ने, पुँजी पलायन नियन्त्रण हुने प्रकृतिको बजेट ल्याउन माग गरे।

व्यापार संघ रुपन्देहीका अध्यक्ष भेषराज गैरेले भारतबाट अझैपनि वार्षिक अर्बौंको खाद्यान्न आइरहेकोले प्रदेश सरकारले कृषिमुखी बजेट ल्याएर खाद्यान्नमा रहेको परनिर्भरता घटाउनु पर्ने सुझाव दिए।

प्राध्यापक प्राम्सु नेपालले बढ्दो बसाईसराईका कारण पहाडमा जमिन बाँझो हुँदै गएकोले बजेटमा पहाडका किसानलाई आकर्षित गर्नेगरी योजना ल्याउन सुझाव दिए।

उनले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन किसानका उत्पादन खेर जान नदिन कोल्ड स्टोर निर्माण गर्न, किसानलाई राहत र अनुदानका कार्यक्रम ल्याउन आग्रह गरे।

सहभागीहरुको सुझाव सुनेपछि प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले कृषिमा आत्मनिर्भर प्रदेश बनाउने योजना सहित उद्योग, पर्यटन मैत्री बजेट निर्माणमा प्राथमिकता दिइएको जानकारी दिए।

प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसालले कृषि, पर्यटन र उद्योगलाई नै प्राथमिकतामा राख्नेगरी सुझाव आएकोले प्रदेश योजना आयोगले सोही अनुसारको बजेट तर्जुमा गर्ने बताए। यस पटक पूर्वाधारका नयाँ योजना निकै कम पर्ने भन्दै भइरहेका पुराना आयोजनाको श्रोत सुनिश्चितता सहितको बजेट निर्माण हुने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .