सत्ता साझेदार नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष पदमा तीन नेताले दाबी गरेका छन्।
आठौं महाधिवेशनबाट अध्यक्षबाहेक पद चयन गर्न नसकेको माओवादीले जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा टुंगो लगाउने कसर भएको हो।
वरिष्ठ उपाध्यक्ष र महासचिवसहितका पदाधिकारी चयन प्रक्रिया अघि बढेसँगै नेताहरुले दाबी थालेका हुन्।
वरिष्ठ उपाध्यक्ष पदमा नारायणकाजी श्रेष्ठ, मात्रिका यादव र कृष्णबहादुर महराले दाबी गरेका छन्।
यसअघि नारायणकाजीले आफ्नो स्वभाविक दाबी वरिष्ठ उपाध्यक्षमा रहेको बताउँदै आएका थिए।
मंगलबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकमा यादव र महराले पनि वरिष्ठ उपाध्यक्षमा दाबी गरेको एक नेताले जानकारी दिए।
माओवादीभित्र पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ।
आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी टुंगो लगाउन दबाब बढेपछि पदाधिकारी चयनको गृहकार्य सुरु गरिएको हो। यसका लागि जारी केन्द्रीय कमिटी बैठक नै रोकिएको छ।
प्रचण्डको सचिवालयका अनुसार केन्द्रीय कमिटीको अर्को बैठक बुधबार बस्नेछ। कार्यालयको विस्तारित बैठकबाट आएका सुझावलाई आधार मान्दै पदाधिकारी टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ।
मंगलबारको बैठकमा नारायणकाजीसँग अन्तर्विरोध राख्दै आएका यादवले सुरुमा आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने दाबी अघि सारेका हुन्।
त्यसपछि महराले पनि आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने दाबी गरेका थिए। यससँगै वरिष्ठ उपाध्यक्ष पदका लागि श्रेष्ठ, महरा र यादवबीच दौड सुरु भएको छ।
अन्य पदाधिकारी?
माओवादीको विधानमा १५ जना पदाधिकारी रहने व्यवस्था छ। केन्द्रीय समितिबाट पारित विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ।
गत पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट प्रचण्डलाई अध्यक्षको जिम्मेवारी दिइएको थियो। अन्य १४ जना पदाधिकारी टुंगो लगाउन बाँकी छ।
वरिष्ठ उपाध्यक्षपछि उपाध्यक्ष पदमा देव गुरुङ, पम्फा भुसाल, उर्मिला अर्याल र लीलामणि पोखरेलले दाबी गरेका छन्।
महासचिवमा वर्षमान पुन र जनार्दन शर्माले दाबी गरिरहेका छन्। उनीहरु आठौं महाधिवेशन अघिबाटै महासचिवको दौडमा छन्।
उपमहासचिवमा शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र हरिबोल गजुरेलले दाबी गरेका छन्।
तर यसअघि जनार्दन शर्मा र वर्षमान पुनलाई लिएर सहमति नभए शक्ति बस्नेतलाई महासचिवको दाबेदार मानिएको थियो। त्यसैगरी महासचिवमै गिरिराजमणिले पनि इच्छा देखाउँदै आएका थिए।
Shares
प्रतिक्रिया