उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको बताएका छन्।
नेपाल निजामती कर्मचारी युनियनले मंगलवार बडा दशैँ तथा शुभ दिपावली लगायतका पर्वहरुको अवसरमा काठमाडौंमा गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन्।
उनले तत्कालित सत्तारुढ पार्टीले दुई पटक संसद विघटन गरेर संविधानलाई मार्न खोजेकोले संविधानलाई बचाउन गठबन्धन भएको बताए।
मुलुकको स्थिरताका लागि प्रतिपक्षमा रहेको कांग्रेसलाई खोजेर मुलुकको नेतृत्व दिनुपरेको उनले बताए।
उनले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानलाई बचाउने पनि बताएका छन्।
‘खतराबाट बाँचेका छौँ हामी। यो संविधान बाँचेको छ। यसलाई अझ बचाउनु पर्छ। त्यसकारण बन्यो गठबन्धन। त्यसकारण यो बन्नुपर्ने भइराखेको छ। हामी त प्रतिपक्षमा छँदै थियौँ। हामीले हो र भत्काएको यो? तर यो भत्किँदा मुलुकमा स्थिरताका लागि र संविधान खतरामा पर्यो है कहाँ छ कांग्रेस? भनेर खोज्नु परेन? फेरि लिड गर्यो', उनले भने, 'हामी बचाउँदैछौँ। हाम्रो नेतृत्वमा यो मुलुकको संघीय संसद, प्रादेशिक संसद तयार हुँदैछ। यो संविधान बाँच्छ। यो संविधान बचाउने लडाईं र संविधान समाप्त गर्नेहरुको बीचको एउटा जनमत बन्नसक्छ।’
उनले नेपाली कांग्रेसले राजनीतिलाई ठिक ठाउँमा पुर्याएको बताएका छन्। कांग्रेस सबैलाई एकै ठाउँमा ल्याएर नेतृत्व गर्न सफल भएको पनि उनले बताएका छन्।
Shares
प्रतिक्रिया