ad ad

राजनीति


राजेन्द्र श्रेष्ठको संयोग : २०६४ मा आमा हिसिलासँग हारे, अहिले छोरी मानुषीसँग भिड्दै

राजेन्द्र श्रेष्ठको संयोग : २०६४ मा आमा हिसिलासँग हारे, अहिले छोरी मानुषीसँग भिड्दै

फाइल तस्बिर


नेपालखबर
असोज ३०, २०७९ आइतबार १९:४७, काठमाडौँ

निवर्तमान सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ २०६४ को पहिलो संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट एमालेका प्रत्यासी थिए। 

जनता समाजवादी पार्टी (जसपा) का नेता श्रेष्ठ एमालेमा रहे पनि विचार र एजेण्डामा माओवादीसँग निकटता थियो। 

आफू सहानुभूतिशील हुँदाहुँदै चुनावी प्रतिस्पर्धामा माओवादीले आफूप्रति सहानुभूति नराखी बलियो प्रत्यासी खडा गरेको गुनासो उनले गरेका थिए। 

त्यो गुनासो अस्वभाविक थिएन । किनभने त्यस क्षेत्रमा माओवादीले चर्चित महिला नेतृ हिसिला यमीलाई प्रतिस्पर्धाका लागि उतारेको थियो ।

काठमाडौंका १० माओवादी प्रत्यासीमध्ये यमी नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि सबैभन्दा वरिष्ठ नेत्री थिइन्। प्रचण्ड त्यो निर्वाचनमा रोल्पा–२ सँगै काठमाडौँ–१० बाट पनि उठेर विजयी भएका थिए।

त्यसबेला एमालेका श्रेष्ठलाई पराजित गर्दै यमी काठमाडौँ–७ बाट संविधान सभामा निर्वाचित भएकी थिइन् ।  

पहिलो संविधान सभामा निर्वाचित भए पनि २०७० को दोस्रो संविधान सभामा यमी यो क्षेत्रमा पराजित भइन्। एमालेबाट अलग भएर अशोक राईले संघीय समाजवादी पार्टी गठन गर्दा श्रेष्ठ त्यतै लागे। तर, २०७० को प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेनन् । 

बहुदलभर एमालेले कहिल्यै नगुमाएको क्षेत्रमा यमीबाट पराजित श्रेष्ठले यसपटक फेरि उनै यमी र डा. बाबुराम भट्टराई पुत्री मानुषीसँग भिड्नुपर्ने भएको छ। 

मानुषी यमी भट्टराई

मानुषी सत्तागठबन्धनबाट माओवादी केन्द्रको उम्मेदवार बनेकी छन्। श्रेष्ठले जसपाको तर्फबाट उम्मेदवारी दिएका छन्। तर उनलाई एमालेले साथ दिएको छैन। 

२०७४ को आमनिर्वाचनमा वामगठबन्धनको तर्फबाट रामवीर मानन्धरले एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

एमालेले त्यहाँ श्याम घिमिरेलाई प्रत्यासी बनाएको छ । राप्रपाको तर्फबाट ध्रुवविक्रम मल्ल उम्मेदवार छन् । 

अघिल्लो निर्वाचनमा यो क्षेत्रमा एमाले–माओवादी गठबन्धनबाट मानन्धर १८ हजार १ सय २ मतसहित विजयी भए। 

यहाँ कांग्रेस–राप्रपा गठबन्धनबाट राप्रपाका उम्मेदवार विक्रमबहादुर थापा निकटतम प्रतिद्वन्द्वी थिए । थापाले १००७९ मत ल्याए।

यमीसँग पराजित भए पनि २०६४ को निर्वाचनको स्थिति श्रेष्ठका लागि सहज मानिन्थ्यो । त्यो निर्वाचन क्षेत्र त्यसअघि एमालेले कहिल्यै गुमाएको थिएन । 

काठमाडौँमा एमालेको सबैभन्दा बलियो क्षेत्र भएकाले निर्वाचनअघि एमालेका लागि परिणाम त्यति प्रतिकूल हुन्छ भन्ने अनुमान मतदातामा पनि थिएन । 

तर पनि श्रेष्ठ झण्डै ४ हजार मतान्तरले पराजित भए । यमीले १२ हजार २ सय ७६ मत ल्याउँदा श्रेष्ठले ८ हजार ८ सय १५ मत पाएका थिए। 

राजेन्द्र श्रेष्ठ

२०६४ भन्दा अहिलेको निर्वाचन श्रेष्ठका लागि धेरै प्रतिकूल देखिन्छ । त्यो निर्वाचनमा उनी एमाले उम्मेदवार थिए, अहिले जसपाबाट मैदानमा छन्। 

देशव्यापी रुपमा एमाले–जसपाबीच गठबन्धन भए पनि श्रेष्ठ आफ्नै व्यक्तित्वको बलबुतामा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यतामा छन् । यहाँ उनले एमालेका श्याम घिमिरेसँग पनि भिड्नुपर्नेछ। जसपाको संगठन र प्रभाव यहाँ खासै छैन।

२०६४ मा माओवादीबाहेक यो क्षेत्रमा निरन्तर विजेता एमाले हो । तर, यो क्षेत्रबाट २०७४ मा निर्वाचित सांसद रामवीर मानन्धरको स्वतन्त्र उम्मेदवारी र आफ्ना उम्मेदवार घिमिरे कम परिचित भएकाले एमाले पनि अप्ठेरोमा छ । 

श्याम घिमिरे

त्यसो त, सांगठनिक हिसावले मानुषी पनि सहज स्थितिमा छैनन् । किनकी, यहाँ माओवादी केन्द्रको प्रभाव र संगठन बलियो छैन । तर यहाँ नेपाली कांग्रेसको साथले उनको उम्मेदवारीलाई बलियो बनाएको छ । 

यसका अलावा यमी–डा. भट्टराईको विरासत र युवा उम्मेदवारीका कारण श्रेष्ठभन्दा मानुषी केही सहज स्थितिमा छिन् । 

नेवार र गैरनेवार मतदाता बराबरीजस्तै रहेकाले मानुषीका लागि यो क्षेत्र अनुकूल रहेको मानिन्छ। किनभने डा. भट्टराईपुत्री भएकाले उनले गैरनेवार समुदायको मत प्राप्त गर्न सहज हुनेछ। यमीपुत्री भएकाले नेवार समुदायको मत पनि आकर्षित गर्न सक्ने छिन् । 

२०६४ मा हिसिलासँग पराजित श्रेष्ठले १५ वर्षपछि उनकै छोरी मानुषीसँग प्रतिस्पर्धा गर्नु परेपछि काठमाडौँ–७ पनि धेरै चासो भएका निर्वाचन क्षेत्रमध्ये भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .