ad ad

राजनीति


अर्कै जिल्लाका उम्मेदवार मत माग्न रुपन्देही!

अर्कै जिल्लाका उम्मेदवार मत माग्न रुपन्देही!

सुदीप भण्डारी
कात्तिक २१, २०७९ सोमबार ८:१७, बुटवल

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आउन १५ दिन मात्र बाँकी रहँदा शनिबार बिहान गुल्मी क्षेत्र नम्बर २ का पाँच दलीय गठबन्धनका कुनै पनि उम्मेदवार आफ्ना निर्वाचन क्षेत्रमा थिएनन्। क्षेत्र मात्र होइन, जिल्ला नै छोडेर केही टाढा आएका थिए। 

गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्री प्रदेश सभा सदस्यका उम्मेदवार कांग्रेसका भुवन श्रेष्ठ र माओवादी केन्द्रका बुद्धिबहादुर जीसीसँगै गठबन्धन दलका गुल्मी जिल्लाका नेताहरू नै मत माग्न बुटवल झरेका हुन्। 

बुटवलको योगीकुटीमा रहेको एक पार्टी प्यालेसमा उनीहरूले रुपन्देहीमा रहेका आफ्ना कार्यकर्ता तथा मतदाता भेटेका हुन्। 

केही साताअघि नेकपा एमालेका गुल्मीका उम्मेदवारहरूले पनि बुटवलमा चुनावी कार्यक्रम गरे। दसैंका बेला टीकाको केही दिनअघि गुल्मी १ का उम्मेदवार प्रदीप ज्ञवाली र २ का उम्मेदवार गोकर्ण विष्टसहितका एमालेका ४ वटै प्रदेश सभाका उम्मेदवार बुटवल आएका थिए। 

बुटवल देशकै पश्चिम क्षेत्रको आर्थिक केन्द्र हो। अध्ययन, जागिर र व्यवसायको सिलसिलामा गुल्मी, अर्घाखाँची, पाल्पा, स्यांङजा, पर्वत बाग्लुङलगायत जिल्लाका मानिस यहाँ छन्।  

रुपन्देहीमै घर बनाएर बसेकमध्ये कतिपयको मतदाता नामावली पहाडी जिल्लामा छ। 

ठूलो संख्यामा आफ्ना मतदाता यहाँ रहेकाले पहाडी जिल्लाका उम्मेदवारहरूले केही समय छुट्याएर बुटवलमा पनि आफ्नो चुनावी कार्यक्रम गर्ने गरेका छन्। 

रुपन्देहीमा सबैभन्दा बढी गुल्मीबाट झरेकाहरू छन्। गुल्मीको जिल्ला स्तरका मात्र नभई गावैँपिच्छेका सम्पर्क समाज रुपन्देहीमा क्रियाशील छन्। चुनावका बेला पार्टीगत सम्पर्क समाजहरू सक्रिय हुने गर्छन्। 

यी नै पार्टीगत सम्पर्क समाजहरूले बुटवलमा उम्मेदवारसहितको कार्यक्रम गर्ने र उम्मेदवार नभएका बेला पनि औपचारिक तथा अनौपचारिक चुनाव केन्द्रित अभियान सञ्चालन गर्छन्। 

कांग्रेस गुल्मी रुपन्देही सम्पर्क समाजका कार्यवाहक अध्यक्ष घनश्याम पन्तले चुनाव नजिकिएसँगै आफ्ना मतदाताहरू कति छन् भनेर खोज्ने काम भइरहेको बताए। 

‘गुल्मी नामावली भएर यहाँ बस्ने मतदाताहरू धेरै हुनुहुन्छ। रुपन्देहीमा रहेका मतदताहरूलाई मतदानका बेला गाउँ जान र आफ्नो पक्षमा भोट दिन आग्रह गरिरहेका छौं’, उनले भने, ‘पालिका र वडा स्तरको संयन्त्र बनाएर हामीले आफ्ना मतदाताको तथ्यांक संकलन गरिरहेका छौं।’ 

नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष हेम थापाले अहिले निरन्तरजसो चुनाव केन्द्रित कार्यक्रम गरिरहेको बताए।

‘गुल्मीका अधिकांश मान्छेको बसाइ रुपन्देहीमा छ। यहाँका मतदाताले जिल्लामा गएर सजिलै प्रभाव पार्न सक्छन्’, उनले भने, ‘हामी सम्पर्क मन्चमा भएकाहरूले निरन्तरजसो भेला बैठक गरिरहेका छौं। सबै पालिका र वडा स्तरका मञ्च बनाएका छौं। उहाँहरूले आफू नजिककालाई सम्पर्क गरिरहनुभएको छ।’ 

यस्तै अर्घाखाँची, पाल्पालगायत जिल्लाका पार्टीगत सम्पर्क समितिहरूले पनि चुनाव केन्द्रित कार्यक्रम गरिरहेका छन्।

अर्घाखाँचीका गठबन्धनका उम्मेदवारहरू पनि मत माग्न बुटवल आइसकेका छन्। प्रतिनिधि सभामा कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल लगायतका प्रदेश सभाका उम्मेदवारहरू यही कात्तिक १ गते बुटवल आएर कार्यक्रम गरेका थिए। कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समितिका सचिव विनोद घिमिरेले जिल्लाका मतदाताहरूसँग भेटघाट र सम्पर्क बाक्लो भएको बताए।

‘एक चरण उम्मेदवारहरू आएर कार्यक्रम भइसकेको छ। अहिले यहाँ भएका मतदाताहरूलाई मतदान गर्न जिल्ला जान आग्रह गरिरहेका छौं’, उनले भने। 

अर्घाखाँचीका एमालेका उम्मेदवारहरू बुटवल नआए पनि यहाँका पार्टीको सम्पर्क समितिले मतदाता केन्द्रित अभियान चलाइरहेको छ। प्रतिनिधि सभातर्फ अर्घाखाँचीमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी छन्। नेकपा एमाले रुपन्देही अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष डबल बीसीले समय अभावले उम्मेद्वार नआए पनि आफूहरूले रुपन्देहीमा पनि चुनावी कार्यक्रम गरिरहेको बताए। 

‘पालिका र वडा स्तरका मञ्चहरू बनाएर उनीहरूलाई सहजिकरणको भूमिका निर्वाह गरिरहेका छौं,’ उनले भने।  

एक प्रकारले बुटवलमा रहेका पहाडी जिल्लाका मतदाताहरू चुनावमा निर्णायक मानिन्छन्। बुटवल लगायतका सहरी क्षेत्रबाट जसले धेरै मतदाता लैजान सक्यो, उही पार्टीले जित्ने सम्भावना बढी हुन्छ। त्यसैले पाटीगत सम्पर्क समिति तथा मञ्चहरूले अहिले बुटवलका मतदाताहरूलाई आफ्नो पक्षमा पार्ने काम गरिरहेका छन्। मतदानको लागि आफ्ना कार्यकर्ता तथा मतदाता लैजान ठूलो संख्यामा निःशुल्क गाडीको व्यवस्था गर्ने तयारी समेत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .