ad ad

राजनीति


पाल्पा २ : ठाकुरलाई कांग्रेसी मतको आश, पुराना एमाले तान्ने सोमप्रसादको प्रयास

पाल्पा २ : ठाकुरलाई कांग्रेसी मतको आश, पुराना एमाले तान्ने सोमप्रसादको प्रयास

सुदीप भण्डारी
कात्तिक २६, २०७९ शनिबार १७:१२, भैरहवा

२०५१ सालमा पाल्पा क्षेत्र नम्बर २ बाट सोमप्रसाद पाण्डे पहिलो पटक सांसद बन्दा ठाकुर गैरे तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु सचिव थिए। गैरे २०४९ र २०५१ मा गरी २ कार्यकाल सो पदमा रहे। पाण्डे सांसद बनेकै वर्ष गैरे अनेरास्ववियु पाल्पा जिल्ला कमिटीको अध्यक्ष पनि थिए। 

सांसद बन्नुभन्दा अघि सोमप्रसाद पाण्डे कानुन व्यवसायी थिए। पाण्डेको काठमाडौँमा अन्य व्यवसायसँगै ल फर्म पनि थियो। विश्वकान्त मैनाली र उनी एउटै ल फर्ममा थिए। 

पाण्डे २०५० सालमा जिल्ला बार एसोसिएसन पाल्पाको अध्यक्ष बनेकै बेला उनले क्षेत्र नम्बर २ मा चुनाव लड्न टिकट पाएका थिए। त्यतिबेला उनी एमाले जिल्ला कमिटी सदस्य पनि थिए। 

यता ठाकुर गैरे २०५३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बने। केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय सचिव, महासचिव हुँदै २०६३ सालमा सो संगठनको केन्द्रीय अध्यक्ष भएका थिए। 

२०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनयता ठाकुर गैरे एमालेको केन्द्रीय सदस्य छन्। 

एमाले विभाजनअघि गैरे पार्टीभित्र माधव नेपालको पक्षमा थिए। तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गर्दा सडकमा ओर्लेर विरोध गरे। तर, पार्टी विभाजन हुँदा उनी माधव नेपाल पक्षमा गएनन्, एमालेमै बसे।

माधव नेपालको पक्षमा रहेर ओलीको चर्को विरोध गरे पनि २०७८ मंसिरमा चितवनमा भएको एमालेको दसौँ महाधिवेशनमा खुल्लातर्फ केन्द्रीय सदस्य निर्वाचित हुँदा गैरेले दोस्रो बढी लोकप्रिय मत प्राप्त गरेका थिए। 

प२९ वर्षअघि नै सांसद बनेको भए पनि पाण्डे गैरेभन्दा पछि एमालेको केन्द्रीय सदस्य बने। गैरे आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य बने पनि पाण्डे २०७१ सालमा भएको नवौँ महाधिवेशनबाट मात्र केन्द्रीय कमिटीमा प्रवेश गरेका थिए।

२०५१ सँगै २०५६, २०७० र २०७४ मा गरी उनी चार पटक सांसद भइसकेका छन्। २०६४ को चुनावमा भने उनी पराजित भएका थिए।

यता ठाकुर गैरेको उम्मेदवारीको चर्चा २०७० सालको चुनावदेखि नै थियो। तर टिकट पाउन सकेका थिएनन्। दोस्रो संविधान सभाको चुनावमा पाल्पा क्षेत्र नम्बर २ बाट पाण्डेसँगै गैरेको पनि नाम उम्मेदवारको लागि सिफारिस भएको थियो। अन्तिममा पाण्डेले नै टिकट हात पारे। प्रत्यक्षमा टिकट नपाएका गैरेको नाम त्यसबेला समानुपातिकको सूचीमा राखिए पनि संविधान सभामा अटाउन सकेनन्। 

२०७४ सालको चुनावमा पनि पाल्पा २ मा गैरेको अन्तिमसम्म दाबी थियो। त्यसबेला उनी समानुपातिकतर्फ बस्न मानेका थिएनन्। तर उनलाई पन्छाउँदै पाण्डेले नै टिकट पाए। पाण्डे माधव नेपालका सम्धी समेत हुन्। माधव नेपालकै जोडबलमा उनले लगातार टिकट पाउँदा गैरै अवसरबाट वञ्चित भएको चर्चा चल्ने गर्दछ। 

पार्टी विभाजनअघि गैरे विगतका चुनावमा सोमप्रसाद पाण्डेको प्रचारमा हिँड्थे। तर, अहिले गैरेले एमालेबाट टिकट पाउँदा उनीसँग भिड्न एकीकृत समाजवादीले उनै पाण्डेलाई अघि सारेको छ।

दुवै जनाले प्रचारप्रसार र घरदैलोलाई तीव्रता दिएका छन्। उम्मेदवार मनोनयनको केही साता अघिबाटै उनीहरु आफ्नो निर्वाचन क्षेत्रमा खटिरहेका छन्। केही दिन अघिसम्म उम्मेदवारहरु घरघर पुगेर मत माग्ने गर्दथे। चुनाव आउन अब ८ दिन मात्र बाँकी हुँदा उनीहरु प्रचारप्रसारका क्रममा घरघर पुग्न भने सकेका छैनन्। टोल टोलमा पुगेर कोण सभा गर्ने गरेका छन्। 

पाण्डेको एकीकृत समाजवादी पार्टी एमाले जस्तो बलियो छैन। तर उनलाई कांग्रेस र माओवादी केन्द्रको साथ छ। 

ठाकुर गैरे नयाँ तर परिचित अनुहार हुन्। विद्यार्थी राजनीतिमा विगतमा देखाएको सशक्त भूमिकाका कारण धेरै युवा मतदाताहरुलाई उनले आकर्षित गर्न सक्ने छन्। मतदाताहरुले भइरहेको अनुहा भन्दा नयाँ अनुहार खोजेमा पाल्पा २ गैरेको लागि अनुकूल हुन सक्छ। 

तर गैरेको लागि पनि केही चुनौती छन्। ५ वर्षअघिको जस्तो सिंगो एमाले उनीसँग छैन। त्यसबाहेक लगातार सांसद भइसकेका पाण्डेसँग तानसेन र आसपास क्षेत्रमा बढी नै नेटवर्क र सम्पर्क छ। त्यो सम्पर्कका कारण एमालेतर्फको केही भोट पनि पाण्डेले तान्न सक्ने अनुमान गरिन्छ।

अर्कोतर्फ आफ्नो उम्मेदवार नहुँदा कांग्रेसका केही युवा स्वतन्त्र पार्टीको पक्षमा लागेको देखिन्छ। सोमप्रसादलाई जाने कांग्रेसको त्यो मत घट्दा गैरेलाई फाइदा हुन सक्छ।  

नेकपा एमाले पाल्पाका पूर्व जिल्ला अध्यक्ष देवी बस्यालले गैरेको पक्षमा माहोल बढिरहेको भन्दै जित सुनिश्चित भएको दाबी गरे। 

‘आम मतदातामा उदीयमान नेतालाई अगाडि बढाउनुपर्छ, रोक्नुहुँदैन भन्ने भावना छ। सोमप्रसाद पाण्डेलाई अब जिताइरहन पर्ने कुनै कारण नै छैन। उहाँप्रति कुनै आकर्षण नै छैन,’ उनले भने ‘कांग्रेसलाई पनि लाजको मर्नु छ। अहिलेसम्म आफैँलाई पराजित गरेकालाई बोकेर हिँड्नु परेको छ। त्यसैले कांग्रेसको सबै मत सोमप्रसादलाई जाँदै जाँदैन। तटस्थ मान्छेको मत पनि हामीलाई आउँछ।’  

यता नेकपा एकीकृत समाजवादीका पाल्पा जिल्ला अध्यक्ष कमल पाण्डेले गठबन्धनको मत दायाँबायाँ नजाने बताए। पाल्पा २ का अधिकांश वडाको लागि सोमप्रसाद पुरानो उम्मेदवार नभएको उनको दाबी छ। 

‘गठबन्धनका दलको मत दायाँबायाँ जाँदैन भन्नेमा म ढुक्क छु। माहोल बढ्दै गएको छ चुनाव जितिन्छ,’ उनले भने ‘केही वडाको लागि मात्र सोमप्रसाद पुरानो उम्मेदवार हो। धेरै वडाको लागि उहाँ दोस्रो पटकको उम्मेदवार हुनुहुन्छ।’ 

२०७४ सालअघि पाल्पामा ३ वटा निर्वाचन क्षेत्र थियो। पछि घटेर २ वटा कायम भएको छ। क्षेत्र घट्दा अहिलेको पाल्पा २ मा रहेका ४४ वटा वडा मध्ये १० वटा सोमप्रसादको पुरानो क्षेत्रको वडा पर्दछ। बाँकी ३४ वटा वडा तत्कालीन ३ नम्बर क्षेत्रको रहेकाले सोमप्रसाद पाण्डेलाई पुरानो उम्मेदवार भन्न नमिल्ने जिल्ला अध्यक्ष कमल पाण्डेले बताए। 

२०७४ को चुनावमा पाल्पा क्षेत्र नम्बर २ मा सोमप्रसाद पाण्डेले ३४ हजार ८९९ मत ल्याएर विजयी भएका थिए। त्यसबेला उनलाई माओवादी केन्द्रको साथ थियो। उनका प्रतिस्पर्धी हरि नेपालले २४ हजार ५५४ मत ल्याएका थिए। 

गत वैशाखमा भएको स्थानीय चुनावमा पाल्पा क्षेत्र नम्बर २ मा एमालेका वडाध्यक्षहरूले कुल ३० हजार ५३६ मत ल्याएका थिए। त्यस्तै नेपाली कांग्रेसका वडाध्यक्षले २९ हजार ३९ मत, माओवादीले ४३१३ मत र नेकपा एकीकृत समाजवादीले ४३३ मत पाएका छन्। 

गत चुनावलाई आधार मान्दा गठबन्धन केही अघि देखिएको छ। तर पनि यो पटक कसले जित्ला भन्ने अनुमान गर्न सहज छैन। 

पाल्पा क्षेत्र नम्बर २ मा एमालेका गैरे, एकीकृत समाजवादीका पाण्डेसहित कुल १३ उम्मेदवार छन्। जसमा १० जना दलका तर्फबाट र ३ जना स्वतन्त्र हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .