जनता समाजवादी पार्टी नेपालले पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमार्फत् भ्रम फैलाएको आरोप लगाएको छ।
त्यसलाई लिएर जसपाले गम्भीर आपत्ति जनाउँदै कारवाही माग गरेको छ।
सामाजिक सञ्जाल फेसबुक, टिकटक र ट्विटर लगायतमा जनमत पार्टीका नेता एवं कार्यकर्ताले अध्यक्ष यादवविरुद्ध तथ्यहीन सन्देशहरु उत्पादन एवं संप्रेषण गरी मतदाता जनतामा भ्रम फैलाएको जसपाको आरोप छ।
निर्वाचनमा कुनै पार्टी वा उम्मेदवारबारे तथ्यहीन सामाग्री गर्नु गराउनु आचारसंहिताको गम्भीर उल्लंघन भएको भन्दै जसपाले त्यस्ता कार्यमा संलग्न जनमत पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।
जसपा सप्तरीका अध्यक्ष केदार यादवले उम्मेदवारहरु चुनावी अभियानमा रहेको अवस्थामा सीके राउतका कार्यकर्ताहरुले निर्वाचन आचारसंहिताविपरीत गलत कार्य गर्न आफ्ना कार्यकर्ताहरुलाई प्रोत्साहन गरेको आरोप लगाएका छन्।
सप्तरी अध्यक्ष केदार यादवले भने, ‘सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले बोल्दै नबोलेको कुरालाई भिडियो क्लिपमा जनमत पार्टीलाई समर्थन गरेको भन्दै नक्कली आवाज राख्न लगाई सामाजिक सञ्जाल मार्फत् मतदातामा भ्रम फिँजाउने कार्य हुँदैछ, यो नितान्त गलत एवं अशोभनिय हो । निर्वाचन आयोगले उनीहरुलाई कारबाही गर्नुपर्छ ।’
आफूहरुले मर्यादित रुपमा निर्वाचन आचारसंहिताको पालना गर्दैआएको र स्वस्थ प्रतिष्पर्धाको पक्षमा रहेको उनले बताए।
जनमत लगायतका पार्टीका कार्यकर्ता वा भ्रम फिँजाउने कार्यमा संलग्न जो कोहीको भ्रामक प्रचारबाजीमा नपर्न जसपाका जिल्ला अध्यक्ष यादवले सबैमा अपील गरेका छन्।
चुनावी माहोललाई बिगार्ने कार्यहरु भइरहेकोले यसतर्फ सबै पक्षलाई चनाखो रहन उनले आग्रह गरेका छन् ।
चुनावी प्रतिष्पर्धा स्वस्थ हुनुपर्नेमा यस्ता गलत कार्य गरी मतदाताहरुमा भ्रम फैलाउनुले उक्त पार्टीको वास्तविक रुप देखिएको यादवले बताएका छन्
‘निर्वाचन आचारसंहिताको धज्जी उडाइरहँदा पनि निर्वाचन आयोग लगायत सम्बन्धित निकायले चासो नलिनु दुःखद हो’, उनले भनेका छन्।
Shares
प्रतिक्रिया