ad ad

राजनीति


नयाँ सरकारका लागि एमाले-माओवादी संवाद, देव गुरुङले केपी ओलीलाई भेटे

नयाँ सरकारका लागि एमाले-माओवादी संवाद, देव गुरुङले केपी ओलीलाई भेटे

नेपालखबर
मंसिर २८, २०७९ बुधबार ११:४०, काठमाडौँ

नयाँ सरकार निर्माणको दौडधुप बढिरहेका बेला दुई प्रमुख कम्युनिष्ट नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वार्ताको ढोका खोल्न थालेका छन्।

मंसिर ४ को आमनिर्वाचनमा बहुमत ल्याउन नसकेपछि समस्या परेको सत्ता गठबन्धनले बहुमत जुटाउने कोसिस तीव्र पारिरहेका बेला एमाले र माओवादीबीच पनि संवाद सुरु भएको हो। 

सत्ता गठबन्धनले सरकार निर्माण प्रयास थालिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ‌ओली राजनीतिक संवादमा जुटिरहेका छन्। 

यी संवादका क्रममा मंगलबार साँझ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ ओलीसँग वार्ताका लागि भक्तपुरको बालकोट पुगे। 

२०७४ मा बनेको गठबन्धन भत्किएर एमाले र माओवादीमासमेत विभाजन आएको अवस्था यी दुई दलबीच फेरि मिल्ने प्रयास सुरु भएको हो। 

मंसिर ४ को चुनावी परिणाम निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ बुझाउने तयारी गरिरहेका बेला सरकार निर्माणका अनेक प्रयास सतहमा आइरहेका छन्। त्यहीक्रममा एमाले र माओवादीबीच फेरि संवाद हुन थालेको हो।

बालकोटमा एक घण्टा बढी भएको दुई नेताबीचको संवादबारे दुवै पक्षले केही खुलाएका छैनन्। माओवादी महासचिव देव गुरुङले नेपालखबरसँग छोटो प्रतिक्रिया दिँदै भेट भएको पुष्टि गरे। 

'कुरा भएको हो', उनले भने, 'खास त्यस्तो केही भएको छैन।'

ओलीले आफू बाहिरै बसेर भए पनि समर्थन गरेर गठबन्धन विभाजनको रणनीति बनाइरहेका छन्। उनी यसकै लागि नेपाली कांग्रेसदेखि माओवादी र अन्य दलका नेताहरुसँग पनि छलफलमा छन्। 

सत्ता समीकरणको रस्साकस्सी चलिरहेका यसअघि मंसिर १९ मा  एमाले सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए। 
 
महासेठले निर्वाचनमा विजयी भएको भन्दै प्रचण्डलाई बधाई दिन गएको बताएका थिए। उनले नेकपा हुँदैदेखि प्रचण्डसँग निकटता रहेकाले आफू खुमलटार पुगेको बताएका थिए। तर त्यसबेला पनि उनी बालकोटबाट ओलीको सन्देश लिएर खुमलटार पुगेका थिए। अहिले महासचिव गुरुङ बालकोट पुगेका हुन्। 

त्यसअघि ओलीले गोरखाबाट निर्वाचनमा विजयी भएकोमा फोन गर्दै अब मिलेर जान सकिने प्रस्ताव गरेको दाबी प्रचण्डको सचिवालयले गरेको थियो। तर प्रचण्डले ओलीलाई केही समय कुरेर अघि बढ्ने जवाफ त्यसबेला दिएका थिए। 

पछिल्लो समय एमाले र माओवादी दुवै दलका दोस्रो तहका नेताहरु फेरि पनि मिलेर जानुपर्ने पक्षमा छन्। उनीहरु त्यहीअनुसार लविङमा पनि जुटिरहेका छन्। 

एमालेमा उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङहरु वाम गठबन्धन बनाएर जाने दिशामा छलफलमा छन्। उनीहरुले नेतृत्वलाई पनि मिलेर नगए कम्युनिष्टहरुको अस्तित्व नै संकटमा पर्ने बताइरहेका छन्। 

माओवादीमा पनि केही नेताहरु एमालेसँग मिलेर जानुपर्ने दिशामा छन्। यसअघि दुवै दलका दोस्रो तहका नेताहरुले ओली र प्रचण्डको भेट गराउन खोजेका थिए।

दुई साताअघि नै उनीहरुबीच भेट गराउने प्रयास भएको थियो। मिति पनि करिब टुंगो भएको थियो। तर दुई नेताबीच संवाद अघि बढ्न सकेन। 

यसबीचमा प्रचण्डले यही मंसर २६ गते प्रेस सेन्टरको एक कार्यक्रममा सम्बोधनका क्रममा नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच भित्रभित्रै वार्ता भइरहेको सूचना आफूलाई आइपुगेको बताएका थिए। यदि कांग्रेस र एमाले मिलेमा आफू प्रतिपक्षमा बस्ने उनको भनाइ थियो।

पाँच दलीय गठबन्धन बनाएर प्रचण्ड र माधवकुमार नेपालको सहयोगमा कांग्रेस सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्री छन्। तर नयाँ जनादेशपछि यही गठबन्धन रहेमा पहिलो २ वर्ष आफू प्रधानमन्त्री हुनुपर्ने पक्षमा प्रचण्डले लविङ गरिरहेका छन्। 

यस्तोमा ओली र प्रचण्डबीच चाँडै संवाद हुन सक्ने अनुमान छ। एमाले अध्यक्ष ओली माओवादीसँग मिल्न तयार भए पनि पार्टी फुटाएर गएका माधवकुमार नेपालहरुलाई साथमा लिन तयार छैनन्। उता समाजवादी र मा‌ओवादीबीच एकताको पनि चर्चा चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .