संसदीय दलको नेताका एकल उम्मेदवार तय गर्न छलफलमा जुटेको नेपाली कांग्रेस इतर समूहको बैठक निष्कर्षविहीन भएको छ।
होटल एम्बेस्डरमा सोमबार अपरान्ह बसेको कांग्रेस इतर समूहको बैठकमा दलको साझा उम्मेदवार बनाउने निर्णय हुन नसकेको एकजना केन्द्रीय सदस्यले बताए।
दलको नेताका आकांक्षी महामन्त्री गगन थापा र डा. शेखर कोइरालामध्ये एकजना को लड्ने भन्ने अझै अनिश्चित छ।
कांग्रेस दलको नेताका लागि बुधबार निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा संस्थापनबाट सभापति शेरबहादुर देउवा उठ्ने पक्का भइसकेको छ।
‘भोलि ११ बजे फेरि थप सांसदसँग छलफल गरेर एकल उम्मेदवार बनाउने प्रयास हुन्छ’, छलफलमा सहभागी एक केन्द्रीय सदस्यले भने।
इतर समूहमा कुरा नमिल्दा सभापति देउवालाई दलको नेतामा फेरि दोहोरिन सजिलो हुने भएको छ।
‘छ्लफल सकारात्मक भयो। पदाधिकारी र शीर्ष नेताले आ-आफ्नो कुरो राख्नु भयो,’ बैठकमा सहभागी ती नेताले भने, ‘भोलि थप सांसदहरुसहित बसेर टुग्याउँछौं।’
४ मंसिरको प्रतिनिधि सभा चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट जितेको छ।
दलको नेताका लागि यसअघि सर्वसम्मतको पहलमा नेताहरु लागेका थिए। तर बुधबार बिहान चुनाव गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ।
यसअघि आइतवार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार कांग्रेसले दलको नेता छान्न निर्वाचन कार्यकतालिका सार्वजनिक गरेको हो।
Shares
प्रतिक्रिया