ad ad

राजनीति


राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ : पौडेल

राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ : पौडेल

फाइल फोटाे


नेपालखबर
पुस १९, २०७९ मंगलबार १४:३२, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्।

मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन्।

उनले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरुले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए।

उनले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिए।

लामो संघर्षबाट आएको राजनीतिक परिवर्तनलाई जोगाउँदै सबै एक भएर राष्ट्रिय सहमति गरेर अघि जानुपर्ने उनको भनाई छ। 

उनले भने, ‘मलाई अझैपनि लाग्छ राष्ट्रिय सहमतिको एउटा खोजि गरौँ। अझैपनि लाग्छ हामी मिलेर नेपालको स्वार्थमा, नेपालीको, प्रजातन्त्रको स्वार्थमा। ७० वर्ष लडेर प्राप्त गरेको परिवर्तन, व्यवस्था, यो संविधानको स्वार्थमा एकपटक फेरि हामीले राष्ट्रिय सहमति खोज्ने हो कि? म यहाँ बाहिर भएर यो भनिरहेको छैन। तपाईहरु विचार गर्नुहोला भोलि। म जहाँ भएपनि म एउटा नेपाली भएर भनिरहेको छु। अहिले पनि राष्ट्रिय सहमति र राष्ट्रिय सहमतिको सरकारको प्रयत्न अझै पनि गर्नुपर्छ कि भन्ने मलाई लाग्छ। यो मेरो भित्र दिलले देखाएको बाटो। एउटा उपाय बाँच्ने बाटो। यो मलाई लागिरहेको छ। नेपाललाई अहिले यो परिवर्तनलाई जोगाएर, यो व्यवस्था, यो संविधानलाई जोगाएर हामी एक भएर अझै पनि राष्ट्रिय सहमति गरेर जाने हो कि भन्ने मलाई लाग्छ।’

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गरे। उनले आफूहरुले गरेको हिसावकितावले काम नगरेको बताए। उनले विगतमा आफूहरुका बीचमा भएको गठबन्धन टुट्नु देशको लागि दुर्भाग्य भएको बताए। देशमा अस्थिरताको श्रृङ्खला अगाडी बढेको उनले बताए।

उनले भने, ‘म ताक्छु मुडो बञ्चरो ताक्छ घुँडो भन्ने एउटा नेपाली उखान छ, एउटा कुरा सोचेर आइराखेको छ कुरा अर्कै भइसक्छ। हाम्रो हिसावकितावले यहाँ काम गरेकै छैन। कुन हिसावकितावले काम गरेको हो थाहा छैन। एकथोक सोचेको अर्कोथोक भइराखेको हुन्छ। कांग्रेसले माओवादीलाई हँसियाहथौडामा भोट हालेर, माओवादीले रुखमा भोट हालेर आफ्नो विपरित सिद्धान्तलाई पनि अंगिकार गरेर चुनाव सम्पन्न भयो। लगभग गठबन्धन बहुमतमा आयो पनि। दुई चार भोट यता उता त्यो मिलिहाल्थ्यो। त्यो आएको गठबन्धन एकाएक हाइज्याक भयो। यसलाई मैले के रुपमा भनेको छु भने फेरि देशको लागि दुर्भाग्य। अस्थिरताको श्रृङ्खला यो मुलुकमा अत्यन्त तिब्रतासाथ अगाडि बढ्यो। यसले फेरि राष्ट्रलाई गरिखान दिँदैन। हामीले विकास गर्नलाई यहाँ बसेर फेरि नपाउनेतिर जान लागेको मलाई चिन्ता भएको छ।’

वरिष्ठ नेता पौडेलले सांसदहरुलाई ऐन, कानून बनाउनका लागि जनताको प्रतिनिधिको रुपमा पठाइने भएपनि सांसदहरु विकास निर्माणको काममा मात्रै केन्द्रित हुने गरेका बताए। जनताले पनि सांसदहरुलाई विकासे कार्यकताको रुपमा बुझ्दा समस्या भएको बताए। जनताले सांसदले कति विकास ल्यायो ल्याएन भन्ने मात्र हेर्ने गरेपछि सांसदहरु पनि विकास निर्माणको काममा मात्रै केन्द्रित हुनुपर्ने बाध्यता रहेको उनले बताए। 

उनले संविधानले दिएजति अधिकार स्थानीय तहले पाउन नसकेको बताए। केन्द्रिकृत मानसिकताबाट मुक्त हुन नसकेका कारण स्थानीय तहहरुले अधिकार नपाएका उनको भनाई छ। वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री तथा मन्त्रीहरुले सबै कुरा आफैँमा केन्द्रिकृत हुने प्रवृत्ति प्रस्तुत गरेका बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .