पछिल्लो विकसित राजनितीक घटनाक्रमका कारण अप्ठेरोमा परेका प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीभित्र गम्भीर छलफलमा छन्।
नागरिकता प्रकरणका कारण गृहमन्त्री पदबाट हटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः आफूलाई गृह मन्त्रालयमा फर्काउनुपर्ने नत्र आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएपछि सत्ता गठबन्धन संकटमा परेको छ।
माओवादी केन्द्र तथा प्रधानमन्त्री प्रचण्ड राहदानीलगायत विवाद कायमै रहेकाले रविलाई गृहमन्त्रीमा दोहोर्याउने मनसायमा देखिएका छैनन् भने एमाले अध्यक्ष ओली सहमतिअनुसार पुनः रविलाई गृहमन्त्री बनाउनुपर्ने पक्षमा देखिएका छन्। यस्तै राष्ट्रपति पद पनि आफूले पाउनुपर्ने अडान एमालेले राखेका कारण प्रधानमन्त्री प्रचण्ड अलमलमा परेका छन्। माओवादी अध्यक्ष प्रचण्ड भने कांग्रेससमेतको सहमतिमा सर्वस्वीकार्य व्यक्ति राष्ट्रपति बनाउनुपर्ने पक्षमा छन्।
यिनै विषयमा एउटा निर्णयमा पुग्न माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड पार्टीभित्र घनीभूत छलफलमा छन्। यसै क्रममा आज उनले पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँग छलफल गर्दै छन्।
उनीहरूबीच अहिले बिहान ११ बजे छलफल हुने स्रोतले जानकारी दिएको छ। विकसित पछिल्लो राजनीतिक घटनाक्रमकै कारण माओवादी केन्द्रले आजका लागि तय गरेको स्थायी कमिटी बैठक पनि भोलिका लागि सारेको छ।
Shares
प्रतिक्रिया