ad ad

राजनीति


आज मुलुकले पाउनेछ नयाँ राष्ट्रपति

बिहान १० बजेदेखि मतदान हुँदै
आज मुलुकले पाउनेछ नयाँ राष्ट्रपति

सुवासचन्द्र नेम्वाङ र रामचन्द्र पौडेल


नेपालखबर
फागुन २५, २०७९ बिहिबार ७:४३, काठमाडौँ

मुलुकले आज बेलुकीसम्म नयाँ राष्ट्रपति पाउने भएको छ। राष्ट्रपति चयनका लागि आज चुनाव हुँदै छ। राष्ट्रपति पदका लागि नौदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता  रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ चुनावी प्रतिस्पर्धामा छन्। 

यी दुईमध्ये एकलाई राष्ट्रपति चुन्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुँदै छ। 

मतदान सम्पन्न हुनासाथ मतगणना सुरु हुने र आजै साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएकी छन्। 

आज पौडेल र नेम्वाङमध्ये एकजना नेपालको तेस्रो राष्ट्रपति बन्नेछन्।

यस्तो छ अंकगणित 
निर्वाचनमा प्रतिनिधि सभा सदस्य २ सय ७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा सदस्य ५५० गरी कुल मतदाता संख्या ८८४ हुन्छ। राष्ट्रपति चुनावमा प्रतिनिधि तथा राष्ट्रिय सभा सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८  तय गरिएको छ।

संघीय संसदका सदस्यहरुको मतभार २६ हजार ३८६ र प्रदेश सभा सदस्यहरुको २६ हजार ४४० गरी जम्मा मतभार ५२ हजार ७८६ छ। राष्ट्रपतिको चुनाव जित्न कम्तीमा ५० प्रतिशत मतभार ल्याउनै पर्छ।

प्रतिनिधि सभामा ८९ र राष्ट्रिय सभामा १० सिट रहेको सबैभन्दा ठूलो दल कांग्रेसको ७ हजार ८२१ मतभार छ। कांग्रेसका १७५ प्रदेश सभा सदस्यको मतभार ८ हजार ४०० हुन्छ। यसरी कांग्रेसबाट राष्ट्रपति उम्मेदवारलाई खस्ने कुल मतभार १६ हजार २२१ छ।

७८ जना प्रतिनिधि सभा र १५ जना राष्ट्रिय सभा सदस्य रहेको एमालेको ७ हजार ४२६ मतभार छ। १६१ प्रदेश सभा सदस्य जितेकोले त्यसको ७ हजार ७२८ प्रदेश मतभार हुन्छ। एमालेको कुल मतभार १५ हजार १५४ छ। 

सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग प्रतिनिधि सभामा ३२, प्रदेश सभामा ८३ र राष्ट्रिय सभामा १५ सांसद छन्। यस आधारमा माओवादी केन्द्रको मतभार ७ हजार ६ सय ९७ हुन्छ। 

एकीकृत समाजवादीको २ हजार ५७४, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५८०, जसपाको २ हजार १४५, राप्रपाको २ हजार ४५० र जनमत पार्टीको १ हजार २४४ मतभार छ। त्यस्तै, स्वतन्त्र सांसदको १ हजार २, लोसपाको ९७१, नागरिक उन्मुक्ति पार्टीको ८१३, राष्ट्रिय जनमोर्चाको २०६ र नेमकिपाको २२३ मतभार छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .