नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको संलग्नता परित्याग गरेका छन्।
पद तथा गोपनियताको शपथ लिनु एक दिनअघि उनले आइतबार कांग्रेससँगको संलग्नता परित्याग गरेका हुन्।
राष्ट्रपति पौडेलले कांग्रेसको कुनै पनि सांगठनिक संरचनामा नरहने घोषणा गरेर केन्द्रीय कार्यालयमा पत्र पठाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि (सोमबार) शपथ लिने भएका छन्। राष्ट्रपतिको कार्यालय शीतलनिवासले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ।
नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथका लागि शीतलनिवासमा समारोह आयोजना गरिएको खबर प्राप्त भएको उनका सहयोगीहरुले बताएका छन्।
नेपालको संविधानले राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था गरेको छ।
जसअनुसार नयाँ राष्ट्रपतिलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ गराउने छन्।
पौडेल फागुन २५ गते सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका थिए। उनको कार्यकाल ५ वर्षको हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिँदैछ।
Shares
प्रतिक्रिया