ad ad

राजनीति


सरकारप्रति खिलराजको टिप्पणी : ‘वल्लो घरको नरे पल्लो घर सरे’

सरकारप्रति खिलराजको टिप्पणी : ‘वल्लो घरको नरे पल्लो घर सरे’

फाइल फोटाे


नेपालखबर
चैत २, २०७९ बिहिबार १८:५१, काठमाडौँ

पूर्वमन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले सरकार अस्थिर हुने गरेकाले देशमा नीति निर्माणको काम प्रभावकारी रुपमा हुन नसकेको बताएका छन्।

बिहीवार फोकस नेपाल संस्थाको १० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजना गरिएको ‘वर्तमान शिक्षा नीति र आगामी चुनौतिहरु’ विषयक विचार गोष्ठिमा बोल्दै पूर्व मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले सरकार अस्थिर भएको बताए। उनले सरकार स्थिर हुन नसक्दा नीति निर्माणको काम हुन नसकेको टिप्पणी गरे। 

उनले सरकार गठन गर्ने र कसरी टिकाउने भन्ने कुरा मात्रै प्राथमिकतामा परेको भन्दै दीर्घकालिन नितिगत सोच र कार्ययोजना ल्याउन नसकेको आरोप लगाए।

सरकारले दैनिक रुपमा गर्नुपर्ने प्रशासनिक कामभन्दा बाहेक अरु गर्न नसकेको उनको भनाई थियो। रेग्मीले वर्तमान सरकारलाई ‘वल्लो घरको नरे पल्लो घर सरे’ भन्ने उखानसँग तुलना गरे।

उनले भने, ‘वास्तवमा शिक्षा र रोजगारलाई जोडेर हेर्न सकिएन भने त्यसको के अर्थ रहने? त्यसकारणले संविधान आफैँ क्रियाशील हुने होइन। नीति, निर्माण र कार्यान्वयन सरकारले गर्ने हो। राज्यका अरु अवयवहरु सहायक हुन्। तर सरकार स्थिर हुन सकेको छैन। विगतदेखिको अनुभव यस्तै छ। सरकार गठन गर्ने र कसरी टिकाउने भन्ने क्रियात्मक श्रृङ्खला प्राथमिकतामा परेको छ। ‘वल्लो घरको नरे पल्लो घर सरे’ भन्ने नेपाली उखान चरितार्थ हुँदैछ।’

उनले नेपालको शिक्षा प्रणाली विद्यार्थीहरुलाई परनिर्भर बनाउने खालको भएको बताए।

विचार गोष्ठिमा बोल्दै पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन ल्याउनतर्फ कोही सचेत बताए। ऐन ल्याउनेतर्फ कसैलाई मतलव नहुँदा समयमा आउन नसकेको उनको भनाई छ।

उनले ऐन ल्याउने कसरत गर्दा टेबलैपिच्छे अड्किने गरेको र अर्को टेबलमा पुग्न नै ३ महिना लाग्ने गरेको बताए। उनले निजामती ऐन र संघीय शिक्षा ऐन सँगै ल्याउनुपर्नेमा जोड दिए।

उनले नेपालको शिक्षालाई सुधार गर्न कानूनी, भौतिक पूर्वाधार र शिक्षण सिकाइ गरी तिन क्षेत्रमा सुधार गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .