ad ad

राजनीति


नेकपा एसको उपाध्यक्षबाट राजीनामा दिएका न्यौपाने भन्छन्– पद त्यागेको हुँ, पार्टी छैन

नेकपा एसको उपाध्यक्षबाट राजीनामा दिएका न्यौपाने भन्छन्– पद त्यागेको हुँ, पार्टी छैन

नेपालखबर
चैत १८, २०७९ शनिबार १२:१४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपानेले उपाध्यक्ष पदबाट राजीनामा दिएका छन्। पदबाट राजीनामा दिए पनि उनले पद छोड्नु र पार्टी छोड्नु अलग कुरा भएको र आफू एकीकृत समाजवादीमै रहेको बताएका छन्। 

नेकपा एमालेमै फर्किन लागेको चर्चा चलिरहेका बेला मंगलबार बसेको समाजवादीको सचिवालयको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो। एक महिना अघिदेखि नै उनले समाजवादी छाड्ने चर्चा गृहजिल्ला मकवानपुरमा चलिरहेको थियो। एमालेमा फर्कन लागेको हल्लाबारे नेपालखबरले राखेको प्रश्नमा उनले भने, ‘यो सबै हल्लै हल्लाको खेल हो। पदमा बस्न मन नलागेर पद त्यागेको हुँ, पार्टी त्यागेको छैन।’

उनले एमालेमा फर्कने/नफर्कने बारेमा कुनै निर्णय नगरेको बताए।

‘मैले एमालेमा जान लागेँ भनेर बोलेकै छैन, यसै हल्ला हुन्छ भने मैले के जान्नु! अहिले यति मात्रै भन्न चाहान्छु पद छोडेको हो, पार्टी छोडेको छैन। पछि के होला त्यो त पछि मात्रै थाहा हुन्छ,’ न्यौपानेले भने।

यद्यपि, मकवानपुरका एमाले नेताहरू भने न्यौपाने एमालेमै फर्किेन गृहकार्यमा रहेको प्रतिक्रिया दिइरहेका छन्।

तत्कालीन नेकपाका पोलिटब्युरो सदस्य तथा एमालेमा २०४५ सालदेखि पटकपटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए।

एमालेमा रहँदा माधव नेपाल पक्षका न्यौपाने भने एकीकृत समाजवादीभित्र एमालेसँग मिल्नुपर्ने लाइनका मुख्य नेता थिए। माधव नेपालका विश्वासपात्र मुकुन्द न्यौपानेले पनि यसअघि एमालेसँग मिल्नुपर्ने विषय पार्टी कमिटी बैठकमै उठाएका थिए।

एकीकृत समाजवादीभित्र न्यौपाने दाजुभाइसहित धेरै नेताहरू एमालेसँग मिलेर बलियो कम्युनिस्ट शक्ति निर्माण गर्नुपर्नेमा निरन्तर जोड दिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .