ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डसँग अझै ६ वटा मन्त्रालय

प्रधानमन्त्री प्रचण्डसँग अझै ६ वटा मन्त्रालय

नेपालखबर
चैत १९, २०७९ आइतबार २१:१८, काठमाडौँ

सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डा भइसक्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आधा दर्जन मन्त्रालयहरु आफू मातहत राखेर बसेका छन्। साझेदार दलहरुले सरकारमा पठाउने मन्त्रीको नाम नबुझाउँदा उनी ६ मन्त्रालयहरु आफू मातहत राखेर बसेका हुन्।

अहिले प्रचण्डमातहत कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र खानेपानी तथा सरसफाइ मन्त्रालय रहेका छन्। 

ती मध्ये कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय कांग्रेसको भागमा परेका मन्त्रालयहरु हुन्।

वन तथा वातावरण मन्त्रालय जनता समाजवादी पार्टी (जसपा) ले पाउने मन्त्रालय हो।  

खानेपानी तथा सरसफाइ मन्त्रालय जनमत पार्टीको भागमा थियो। तर, शुक्रबार प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार गरेसँगै उक्त पार्टीका मन्त्री मोहम्मद अब्दुल खानले पदबाट राजीनामा दिएका थिए। जनमत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माग्दै आएको थियो। 

सत्ता गठबन्धनबीच भागबण्डा गर्दा उक्त मन्त्रालयसँगै रक्षा, अर्थ र सहरी विकास र मन्त्रालय कांग्रेसको भागमा परेको थियो। कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्रीमा नियुक्त उपसभापति पूर्णबहादुर खड्का पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी भएका थिए। 

कांग्रेसले अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरणम महत, सहरी विकासमन्त्रीमा सीता गुरुङ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाललाई पठाएका छ। कांग्रेसले चार जना मन्त्रीलाई सरकारमा पठाउन बाँकी छ।

संस्थापन इतर समूहले ३ मन्त्रालय मागेपछि कांग्रेसले आफ्नो भागमा परेका अन्य चार मन्त्रालयका लागि नाम सरकारलाई बुझाउन सकेको छैन। 

कांग्रेसको भागमा परेका मन्त्रालयहरुमा उपसभापति धनराज गुरुङ, एनपी साउद, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बू जाने चर्चा छ। उनीहरुलाई गत शुक्रबार नै पद तथा गोपनियताको शपथ गराउने बताइए पनि अन्तिम समयमा आएर रोकिएको थियो। 

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले गृह, सञ्चार तथा सूचना प्रविधि, ऊर्जा, जलस्रोत तथा सिचाईं र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हाली रहेको छ। 

माओवादीबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले उपप्रधान तथा गृह मन्त्रालय र रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालेका छन्। माओवादीक तर्फबाट शाक्ति बस्नेत ऊर्जा, सुदन किराती संस्कृति र अमनलाल मोदी सामान्य प्रशासनमन्त्री छन्। 

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले कृषि तथा पशुपंछी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेको छ। एकीकृत समाजवादीका नेता वेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिकमन्त्री छन्। 

जसपाले आफ्नो भागमा परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अशोक राईलाई पठाएको छ। भागमा परेको वन मन्त्रालयमा जसपाले पनि नाम पठाउन सकेको छैन। उक्त मन्त्रालयमा जसपाले प्रदीप यादव र राजकिशोर यादव मध्ये एक जनालाई पठाउने चर्चा छ। 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भागमा परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीको भागमा परेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीमा रञ्जिता श्रेष्ठ र नेपाल समाजवादी पार्टीको भागमा परेको महिला बालबालिका तथा जेष्ठमन्त्रीमा महिन्द्रराय यादव रहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .