राजनीति


चितवन २ मा आक्रामक चुनावी प्रचार गर्दै एमाले

मुख्य निशाना रवि, मंसिरको सबै मत फर्काउने कसरत
चितवन २ मा आक्रामक चुनावी प्रचार गर्दै एमाले

चितवन २ का एमाले उम्मेदवार रामप्रसाद न्यौपाने। तस्बिर : नेपालखबर


सागर न्यौपाने
चैत २३, २०७९ बिहिबार २३:३२, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हराउने योजनासहित नेकपा एमालेलेका प्रभावशाली नेताहरू खटिएका छन्।

महासचिव शंकर पोखरेलले उक्त क्षेत्र जित्ने एमालेको मुख्य योजना रहेको बताएका छन्।

रास्वपाका लामिछानेलाई मुख्य प्रतिस्पर्धी देखेको एमालेका स्थायी कमिटी र पोलिटव्युरो सदस्य चैत १० गतेदेखि चितवन परिचालित छन्। उनीहरूको प्रचार लामिछानेको विरोधमा बढी केन्द्रित छ।

केन्द्रबाट महासचिव पोखरेल आफैँ आक्रामक प्रचार गरिरहेका छन्। 

उनले उम्मेदवार रामप्रसाद न्यौपानेको पक्षमा मतमात्र मागेका छैनन्, माओवादी केन्द्रको मतसमेत तान्ने कोसिस गरिरहेको उनका पछिल्ला अभिव्यक्तिमा देख्न सकिन्छ।

उम्मेदवारी दर्तासहित पहिलो चरणको चुनावी माहोल विश्लेषण गरेर पोलिटव्युरो सदस्य गोकुल बास्कोटा बिहीबार काठमाडौं आइपुगे। एमालेले उनलाई उपचुनावको कमाण्डर बनाएर चितवन खटाएको छ।

स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश कमिटी इन्चार्ज काशीनाथ अधिकारी र देवी ज्ञवाली लगायत नेताहरू त्यही क्षेत्रमा निरन्तर खटिएका छन्।

एमालेको विश्लेषणमा रविले ४ मंसिरको चुनावमा आफूहरूको मात्रै १५ हजार बढी मत पाएका छन्।

यसपटक सबै मत फर्काएर रवि हराउन खटिएको बास्कोटा दाबी गर्छन्।

‘भरतपुरका निर्णायक तीनवटा वडामा हाम्रो विशेष प्रचार र घरदैलो हुन्छ,’ बास्कोटाले नेपालखबरसँग भने, ‘त्यसबाहेक केही दलको मत तान्ने योजना छ।’

त्यस क्षेत्रमा माओवादी केन्द्रको पनि राम्रो प्रभाव छ। त्यहाँ ७ हजार बढी मत माओवादीको छ।

एमालेले त्यो मतमध्ये केही न्यौपानेले पाउन सक्ने अपेक्षा गरेको छ।

‘विगतको चुनावमा रविले एमाले–काङ्ग्रेस–माओवादी र राप्रपाको समेत ३० हजार मत लगेका रहेछन्,’ बास्कोटाले हिसाब सुनाउँदै थपे, ‘एमालेको ११ हजार मत फिर्ता गरिसक्यौँ, अझै ५ हजार मत बाँकी छ।’

एमालेले त्यस क्षेत्रमा सबैभन्दा बलियो उम्मेदवार उठाएको दाबी गरेको छ।

‘युवा, माडी घटनाको पहिलो उद्दारकर्ता र कुशल संगठक पनि हो उहाँ,’ बास्कोटाले भने, ‘माओवादी र रविजीको पार्टीतिर लागेका मत फर्काउन सक्ने एकमात्रै उम्मेदवार भएकोले पनि यो उपनिर्वाचन हामी जित्छौँ भन्ने विश्वास बढेको छ।’

स्थायी कमिटी सदस्य एवम् बागमती इन्चार्ज अधिकारीले पनि यो पटक जित्ने सम्भावना देखेरै न्यौपानेलाई उठाएको दाबी गरे।

‘उहाँको स्वभाव नै मुख्य कारण हो, त्यसबाहेक लामो समय विद्यार्थी राजनीति गर्दै गाउँ, जिल्ला चलाउनु भएको अनुभवले खारिनु भएको छ, हँसिलो स्वभावकै कारण उहाँ यसपटक चुनावको योग्य उम्मेदवार हुनुहुन्छ।’ उनले भने।

चुनाव प्रचारकैबीच बास्कोटा पनि काठमाडौं आइपुगेका छन्। उनले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर त्यस क्षेत्रको पछिल्लो अवस्था ब्रिफिङ गरे।

‘निर्वाचन क्षेत्रको सबै स्थान पुगेपछि मतदाता उत्साहित भएको पाएँ,’ बास्कोटाले नेपालखबरसँग भने, ‘एमालेको विगतको मत फर्काएको छु।’

उम्मेदवार न्यौपानेले मतदाताहरु तीव्र ध्रुवीकरण हुन थालेको बताए।

‘रविजीको पक्षमा हिँड्ने संख्या घटेको उहाँले नै बताउनु भएको छ,’ न्यौपानेले भने, ‘अब केन्द्रीय नेताहरू नै खटिनुहुन्छ।’

आगामी २६ गते बास्कोटा फेरि चितवन जानेछन्। त्यसपछि उनी चुनाव सकेर मात्रै फर्किने योजनामा छन्। अध्यक्ष ओलीलाई एकपटक चितवन लगेर माहोल अझै बनाउने दाउमा एमाले छ।

उता बास्कोटा त्यहाँको मतदाताको मनोविज्ञान बुझ्दै मतको सर्वेक्षण गरिरहेका छन्।

रविप्रति किन आक्रामक छ एमाले?
चितवन २ को चुनावी प्रचार हेर्दा एमाले रास्वपा र रविप्रति आक्रामक छ।

फागुन २५ मा रामचन्द्र पौडेललाई राष्ट्रपतिमा मत दिएपछि रास्वपासँग एमाले बिच्किएको थियो। ६ चैतमा त्यही रास्वपाले प्रचण्डलाई विश्वासको मत दिएको थियो।

रास्वपाको यही व्यवहारले एमाले रविसँग बढी आक्रोशित देखिन्छन्। 

एमालेका नेताहरूबाट उक्त कुरा अभिव्यक्त भएको छ।

रास्वपा–काङ्ग्रेस र एमाले तीन दलबीच प्रतिस्पर्धा हुँदा कुन दलले जित्छ अहिले अनुमान गर्न कठिन छ।

को हुन् न्यौपाने?
म २०३६ साल असार १० गते माडीको तत्कालीन कल्याणपुर गाविस (हाल माडी नगरपालिका ७) मा जन्मिएका न्यौपानेको परिवारिक पृष्ठभूमि नै राजनीतिक थियो।

‘म त्यो समयमा माडीको हरीनगर माध्यामिक विद्यालयमा पढ्थेँ’, उनले भने। पञ्चायती व्यवस्थाको तानाशाह प्रवृत्ति देखेका उनी कक्षा ५ मा पढ्दादेखि नै तत्कालीन बाल अखिलमा संगठित भएका थिए।

उनी कक्षा ६ के पुगेका थिए। २०४६ सालको जनआन्दोलन सुरु भयो। उनी सबैभन्दा कान्छो उमेर भएको व्यक्ति थिए। माडीमा नै फुच्चे कमरेडको रुपमा जनआन्दोलनमा सहभागी भएको उनी स्मरण गर्छन्।

कक्षा ५ मा पढ्दादेखि नै संगठन बनाउन थालेका न्यौपाने आजसम्म कम्युनिष्ट (एमाले)को राजनीतिक मूलधारबाट बाहिर नगएको र जानुपर्ने स्थित नभएको बताउँछन्।

२०४५ सालदेखि एमाले भ्रातृ संगठन अनरेरास्ववियुमा लागेका उनी प्रारम्भिक कमिटीको दुई पटक इलाका अध्यक्ष भएका थिए।

माडीबाट माध्यामिक तहको अध्ययन पूरा गरेर  २०५१ सालमा उच्च शिक्षाको लागि उनी भरतपुर पुगे। त्यहाँ केही समयपछि अनेरास्ववियु जिल्ला कमिटी सदस्य बने।

२०५१ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य र २०५२ सालमा पनि जिल्ला कमिटी सदस्यकै रुपमा जिम्मेवारी पूरा गरेका न्यौपाने २०५३ मा भएको जिल्ला अधिवेशननबाट सचिवमा निर्वाचित भए।

२०५५ साल र २०५६ सालमा दुई पटक अखिलको जिल्ला अध्यक्ष भएका उनले अखिलमा रहँदै २०५५ सालमा पार्टीको गाउँ कमिटी इन्चार्ज बन्ने सौभाग्य पाए।

२०५७ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य र नारायणी अञ्चल इन्चार्ज भएका न्यौपाने २०५९ सालदेखि पार्टीको क्षेत्रीय कमिटीमा थिए। २०७४ मा वीरेन्द्र बहुमुखी क्याम्पसबाट एमए उत्तीर्ण गरेका छन्।

२०६३ मा जिल्ला कमिटीमा निर्वाचित भएका उनी पार्टी एकताबाट नेकपा भएपछि भरतपुर महानगरको अध्यक्ष भएर काम गरेका थिए।

२०७८ देखि उनी चितवन अध्यक्ष छन्। ४ मंसिरको चुनावमा चितवन ३ बाट उम्मेदवारी दिने उनको नाम अन्तिम अवस्थामा काटिएको थियो।

एमाले विश्लेषण
चितवन २ मा एमालेको मत २९७०० रहेको बास्कोटाले दाबी गरे। 

‘त्यो मत फर्काउन एमाले तल्लिन भएर लागिरहेको छ, काङ्ग्रेस र एमालेको मत बढ्दा रविको मत घट्छ,’ अधिकारीले भने, ‘अहिलेको अवस्था केही दिन हुँदा जित्ने अव्स्थामा पुग्छौँ।’

एमालेले आफ्ना नेता(कार्यकर्तालाई फर्काउन पहल गरिरहेको छ। चुनावको अघिल्लो दिनसम्म रविलाई यसअघि मत हाल्ने सबैलाई फर्काउने कोसिसमा एमाले छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .