राजनीति


मन्त्री बन्न हानथाप बढेपछि बागमतीका शीर्ष नेताहरूलाई प्रधानमन्त्रीले बोलाए

मन्त्री बन्न हानथाप बढेपछि बागमतीका शीर्ष नेताहरूलाई प्रधानमन्त्रीले बोलाए

सुनिता विष्ट
जेठ ४, २०८० बिहिबार १६:३२, हेटाैंडा

बागमती प्रदेशमा भागवण्डा र मन्त्रालय जिम्मेवारीलाई लिएर फेरि लफडा सुरु भएको छ।

मन्त्रालय संख्यामा भागवन्डा मिलिसकेको बागमतीमा कुन मन्त्रालय कस्लाई भन्ने विषयमा सहमती भएपछि प्रदेशको लफडा केन्द्रमा मिलाइने भएको छ।

बागमतीको मन्त्रालयमा कांग्रेस र एकीकृत समाजवादीको हानथाप मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बागमतीका शीर्ष नेताहरूलाई बालुवाटार बोलाएका छन्।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा बिहीबार साँझ बालुवाटारमा बैठक राखिएको स्रोतले जानकारी दिएको छ। प्रचण्डले मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलसहित शीर्ष नेताहरूलाई बालुवाटार बोलाएका हुन्।

बुधबार सरकारलाई पूर्णता दिन बस्ने भनिएको सत्ता पक्षको बैठक समेत बस्न सकेन। जसका कारण नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम राखेर अन्तिममा रोकिएको थियो।

स्रोतका अनुसार एकीकृत समाजवादी मन्त्रालय विस्तारमा सहभागी हुन प्रदेशको राजधानी हेटौंडा उपस्थित भएपनि कांग्रेसको अनुपस्थितीका कारण सरकारलाई पूर्णता दिन नसकिएको हो। 

यस बिषयमा एकीकृत समाजवादीको संसदीय बैठक बसेर को कुन मन्त्रालयमा जाने भन्ने बिषयमा सहमती जुटाएको थियो। यद्यपि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तुरुन्तै सरकार विस्तार गर्न खोजे पनि कांग्रेसले विभिन्न अड्को थाप्दै आएको एकीकृत समाजवादीका सांसदहरु बताउँछन्। 

‘हिजै (बुधबार) मन्त्री नियुक्त गर्ने सल्लाह अनुसार हामी हेटौंडा आएका थियौं। तर सत्ता पक्षको बैठक सम्म पनि बस्न सकेन,’ एकीकृत समाजवादी बागमती प्रदेश संसदीय नेता कृष्ण शर्मा खानालले नेपालखबरसँग भने।

उनका अनुसार बल्लतल्ल संख्यामा भागवन्डा मुख्यमन्त्रीले मिलाइदिए पनि कुन मन्त्रालय भन्नेमा किचलो सुरु भएको हो।

‘बागमतीको लफडाले केन्द्रमा तहल्का ल्याउला भन्ने त्रासले पार्टीका शीर्षनेताहरु सहित बागमतीका माओवादी, कांग्रेस र समाजवादीका संसदीय नेता राखेर कुरा गर्ने भनेर बालुवाटार बोलाउनु भएको छ। त्यसैले जाँदै छु,’ खनालले भने।

यता, बालुवाटार बैठकमै सहभागी हुन कांग्रेस संसदीय दलका नेता एवंम् प्रदेशका अर्थ मन्त्री बहादुर सिंह लामा पनि बालुवाटार जाने क्रममा रहेको उनका निजी स्वकीय सचिव राजेन्द्र फुयँलले बताए। यस्तै माओवादी संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल पनि बैठकमा सहभागी हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .