संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन्। खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) उद्घाटन कार्यक्रममा उनले तीनवटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि पापी मन भएकाले घेराबन्दी गरिरहेको बताएका हुन्।
‘घाटामा गएको नेपाल वायुसेवा निगमलाई मैले मन्त्रालय सम्हालेको करिब तीन महिनामै रु चार अर्ब ऋण घटाएको छु। अहिले हामी तीनवटा जहाज किन्ने प्रक्रियामा छौँ। हवाईजहाज किन्न नदिन संसारभरका पापी मनहरूले घेराबन्दी गरिरहेका छन्’, मन्त्री किराँतीले भने, ‘तपाईंहरूको साथ पाएँ भने प्रक्रिया र प्रणालीमा पारदर्शी तरिकाले पाँच पैसा घोटाला हुन नदिने गरी जहाज ल्याउँछौँ।’
मन्त्रालयले खरिद गरेर ल्याइने दुईवटा जहाज पश्चिम नेपालमा र एउटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने मन्त्री किराँतीले जानकारी दिए। ‘हवाईजहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा विमानस्थलमा एकजना सुत्केरी भए पनि उडान भर्ने गरी तयारी थालिएको छ’, मन्त्री किराँतीले भने, ‘म मन्त्री भएर जाँदा हवाईजहाज त बेहोस अवस्थामा भेन्टिलेटरमा सुतिरहेको रहेछ। त्यसलाई हामी उपचार गर्दै छौँ। २२ वटा विमानस्थल गौचरणमा परिणत भएको छ। कारण जहाजमाथि ठूलाठूला भ्रष्टाचार भए। पापीको आँखा लागे, लुट्नसम्म लुटे। खाने, पिउने र रमाउने ठाउँ त्यही मन्त्रालयलाई बनाए। अब यसरी चल्न दिन्नँ।’
Shares
प्रतिक्रिया