प्रमुख प्रतिपक्षी नेकपा एमालेले गत फागुनमा प्रदेश १ को नाम कोशी प्रदेश राखिएपछि पहिचानवादी भनिएकाहरुले पार्टीका नेता र सांसदहरुमाथि आक्रमण गरेको भन्दै आपत्ति प्रकट गरेको छ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै बोल्ने क्रममा एमालेका सांसद एवम् सचिव योगेश भट्टराईले पहिचानवादीको उग्र गतिविधिबारे सरकार रमिते बनाएको बताए।
एमाले नेताहरूमाथि नियोजित रुपमा आक्रमण भइरहँदा प्रहरी र प्रशासन रमिते भएको पनि बताए।
सांसद भट्टराईले यस किसिमको आक्रमण एमालेविरुद्ध जारी रहेमा स्वीकार्य नहुने पनि बताएका छन्। भट्टराईले यो प्रकरणमा सरकारको मौनताको प्रतिकार गर्ने पनि बताए।
‘प्रदेशको नाम राख्ने काम हाम्रो सरोकारको विषय होइन। प्रदेशसभाले नै राख्छ। नाममा चित्त नबुझेको भए निर्वाचनबाट बहुमत ल्याएर नाम राखे हामी स्वीकार्छौँ। तर विरोधका नाममा अराजकता र उग्रता देखाउनु ठीक होइन। विरोधका नाममा देशलाई जातीय विभाजनतर्फ लैजान खोज्ने प्रयास कसैले गर्नु हुँदैन।’
संसद्मा बोल्ने क्रममा भट्टराईले पहिचानवादीका नाममा भएको आन्दोलनका क्रममा सत्तारुढ दलका नेता कार्यकर्ताहरुले नै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गरेको बताए।
भट्टराईले सत्ता पक्ष एमालेसँग भिड्न खोजेको भन्दै आक्रोश पनि पोखेका छन्।
Shares
प्रतिक्रिया