ad ad

राजनीति


आफैँले अघि सारेको समाजवादी मोर्चामा किन आबद्ध भएनन् बाबुराम? यस्तो छ उनको स्पष्टीकरण

आफैँले अघि सारेको समाजवादी मोर्चामा किन आबद्ध भएनन् बाबुराम? यस्तो छ उनको स्पष्टीकरण

नेपालखबर
असार २४, २०८० आइतबार ७:१२, काठमाडौँ

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित चार दलको ‘समाजवादी मोर्चा’ सत्ता प्राप्तिका लागि मात्र बनेको आरोप लगाउँदै सोही कारण आफ्नो पार्टी त्यसमा संलग्न नभएको दाबी गरेका  छन्।

घोषित मोर्चा नयाँ युगको नयाँ ढंगको समाजवादबारे स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएको आरोप डा. भट्टराईले लगाएका छन्। यसैकारण आफू त्यसमा नमिसिएको जिकिर उनले गरेका छन्। 

समाजवादी मोर्चाको प्रस्तावना आफूले नै अघि सारेको भए पनि सत्ता लिप्साका कारण आफूहरूसँग कुनै सल्लाह नै नगरी रहस्यमय ढंगले मोर्चा घोषणा गरिएको आरोप पनि उनले लगाएका छन्।  

‘...पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक/राजनीतिक विषयप्रतिको अरुचि/अनिच्छा र खालि तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफलस्वरूप हामीसँग कुनै परामर्श र छलफलबिनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’को एकतर्फी घोषणा हुनपुग्यो’, डा. भट्टराईले भनेका छन्, ‘नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन। किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठूलो घात हो।’

धेरै शुभेच्छुक विशेषतः माओवादी आन्दोलनमा लागेका साथीहरूले  आफैँले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट किन अलग भएको भनेर र अन्य कतिपयले तपाईं पुराना शक्तितिर कि नयाँ शक्तितिर भनेर निरन्तर प्रश्न गरिरहेकाले आफ्नो दृष्टिकोण सार्वजनिक गरेको डा. भट्टराईले बताएका छन्। 

उनले भनेका छन्, ‘जहाँसम्म हामी नयाँ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ, हामी नै वास्तवमा वैचारिक रूपले गत एक दशकदेखि देशमा नयाँ वैकल्पिक राजनीति/शक्तिका प्रमुख प्रवर्तक भएकाले हामी नयाँ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ।’ 

यसैबीच हिजो (शनिबार) मात्र समाजवादी मोर्चाको पहिलो बैठक बसेको छ। बैठकले मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम निर्माणका लागि ४ सदस्यीय कार्यदल गठन गरेको छ।

यस्तो छ बाबुरामको पूरा वक्तव्य–
धेरै शुभेच्छुकहरू विशेषतः माओवादी आन्दोलनमा लागेका साथीहरूले हामीलाई आफैँले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट किन अलग भएको भनेर र अन्य कतिपयले तपाईं पुराना शक्तितिर कि नयाँ शक्तितिर भनेर निरन्तर प्रश्न गरिरहनुभएकाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु आवश्यक भएको छ।

१. नेपालमा संविधानसभाबाट समाजवाद-उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि ती उपलब्धिहरूको रक्षा गर्दै सुशासन र समृद्धिको जगमा समुन्नत समाजवाद निर्माण गर्न नयाँ ढंगको समाजवादी केन्द्र वा समाजवादी मोर्चा आवश्यक छ भन्ने प्रस्तावना हामीले अघि सारेकै हो।

सकेसम्म पुराना शक्तिहरूको रूपान्तरणबाटै त्यस्तो शक्ति बन्नसके सहज हुन्छ भन्ने इमान्दार प्रयत्न हामीले गरेकै हो। त्यस निम्ति गम्भीर प्रकृतिको वैचारिक÷राजनीतिक छलफलको आग्रह पनि गरेकै हो। 

परन्तु पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक/राजनीतिक विषयप्रतिको अरुचि/अनिच्छा र खालि तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफलबिनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’को एकतर्फी घोषणा हुनपुग्यो। नयाँ युगको नयाँ ढंगको समाजवादबारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन। किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठूलो घात हो।

२. जहाँसम्म हामी नयाँ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ, हामी नै वास्तवमा वैचारिक रूपले गत एक दशकदेखि देशमा नयाँ वैकल्पिक राजनीति/शक्तिका प्रमुख प्रवर्तक भएकाले हामी नयाँ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ। 

बीचमा केही क्षेत्रीयतावादी शक्तिहरूसँग सहकार्य गर्दा हाम्रो छवि जनसमक्ष धमिलिन पुगेको कुरालाई स्वीकार्दै हामीले आत्मालोचनासहित त्यसलाई सच्याउने कार्य गरिसकेका छौँ। अतः नयाँ युगको र देशको आवश्यकताअनुरूप हामी देशमा उदाउँदै गरेका सबै अग्रगामी नयाँ शक्तिहरूसँग सहकार्य गर्दै बृहत् नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढंगले स्पष्ट पार्न चाहन्छौँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .