ad ad

राजनीति


प्रेस चौतारीका अध्यक्षविरुद्ध गृहमन्त्रीका प्रेस सल्लाहकारले दिए साइबर ब्यूरोमा उजुरी

प्रेस चौतारीका अध्यक्षविरुद्ध गृहमन्त्रीका प्रेस सल्लाहकारले दिए साइबर ब्यूरोमा उजुरी

नेपालखबर
साउन ४, २०८० बिहिबार १८:४०, काठमाडौँ

नेकपा (एमाले)निकट पत्रकारहरूको संस्था प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेतविरूद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले उनीविरुद्ध उजुरी दिएका हुन्।

गृहमन्त्री श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमार्फत् भ्रामक प्रचार गरेकाले बस्नेतविरूद्ध उजुरी गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। 

गृहमन्त्रीको निष्ठा र आचरणमाथि अतिरञ्जित भ्रम सिर्जना गर्न खोजिएको सचिवालयले बताएको छ। गृहमन्त्रीलाई इंगित गर्दै ‘एक रुपैयाँ पनि आम्दानी नभएका सादगी’ व्यक्तिले  दैनिक ५० हजार खर्च गर्ने गरेको दाबी समेत बस्नेतले स्टाटसमा गरेका छन्।

सल्लाहकार गिरीले आपराधिक मनोवृत्ति राखेर गृहमन्त्रीप्रति झुठो र कपोलकल्पित आरोप निर्माण गर्ने बस्नेतलाई साइबर कानुन अन्तर्गत आवश्यक कार्वाही गर्न साइबर ब्युरोलाई अनुरोध गरेका गरेका छन्।

त्यस्तै, मंगलबार बरामद गरिएको सुनलाई जोडेर भ्रामक समाचार प्रकाशित गरेको भन्दै जनबोली डटकम (अनलाइन)विरूद्ध पनि उजुरी परेको छ।

अध्यक्ष बस्नेतले भने आफूविरुद्ध दर्ता भएको साइबर क्राइम प्रमाणित गर्न चुनौती दिएका छन्। 

‘...कमरेड नारायणकाजीबाट यही अपेक्षा थियो, खुसीको खबर सुनियो, दिनभर समाचार लेखाइयो, अनि प्रहरीलाई निर्देशन दिइयो, ‘साइबर क्राइम लगाऊ।’ प्रिय नारायणकाजी कमरेड, तपाईले २०६५ सालदेखि को–कोबिरुद्ध समाचार लेखाउनु भयो? के के काम गर्नुभयो?,’ बस्नेतले भनेका छन्, ‘भर्खरै मात्र पनि पत्रकार बोलाएर मबाहेक प्रधानमन्त्री र अरु सबै मन्त्रीको धन्दा ठीक भएन, काम गर्ने त ममात्रै भएँ, मलाई कसैबाट सहयोग भएन भनेर आफ्नै मुखारबृन्दबाट ओकल्नु भएकै हो। कमरेड सबै कुरा थाहा छ, मैले हिजो बेलुका लेखेको यो स्ट्याटसलाई साइबर क्राइम प्रमाणित गरेर देखाउनोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .