राजनीति


धरानमा यसरी रोकियो भदौ ९ को सम्भावित धार्मिक–जातीय भिडन्त

धरानमा यसरी रोकियो भदौ ९ को सम्भावित धार्मिक–जातीय भिडन्त

धरानको गोपाल मन्दिर र नजिकै बनाइएको चर्च


जेवी पुन मगर
भदौ १०, २०८० आइतबार ९:२८, धरान

भदौ ९ गते धरानमा श्री वैष्णव परिषद्, विश्व हिन्दु परिषद्, विश्व हिन्दु महासंघ नेपाल, जगत्‌गुरु बालसन्त, कृष्णदासजी महाराजलगायत हिन्दुवादी संगठन र धर्मगुरुहरूले ‘धार्मिक संरक्षण र सदभाव र्‍याली’ गर्ने भएपछि स्थानीय आदिवासी सम्बद्ध राजनीतिक दल र संस्था त्यसको प्रतिकारका निम्ति जुर्मुराए। यसले साम्प्रदायिक हिंसा हुनसक्ने जोखिम देखिएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले ‘सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली/भेला/प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम नगर्न/नगराउन’ भन्दै भदौ ८ गते राति १२ बजेदेखि लागू हुनेगरी २४ घण्टाका लागि निषेधाज्ञा जारी गर्‍यो। जुन निषेधाज्ञा आइतबार बिहानबाट हटाइएको छ। 

धरान उपमहानगरपालिकाका पूर्वमेयर तिलक राई, मनोजकुमार मेयाङ्बो, कुमार बहादुर कार्की र पूर्वनगर उपप्रमुख मीनकुमार सुब्बाले भदौ ७ मा निकालेको संयुक्त अपिलले स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गराउन दबाब सिर्जना गरेको थियो। 

साथै स्थानीय प्रशासनलाई ‘र्‍यालीका निम्ति बाहिरबाट धरान आउनेहरूले सिंहदेवी मन्दिरको शिर र बालगोपाल मन्दिरअगाडि बनाइएको होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च तोडफोड गर्दैछन्’ भन्ने रिपोर्टिङ गरिएको थियो। हिन्दुवादी संगठनहरूले गरेको एउटा भर्चुअल बैठकमा यस्तो छलफल गरिएको जानकारी गराइएको थियो।

त्यस सर्वदलीय बैठकमा सहभागी तथा अपिलमा हस्ताक्षर गर्नेमध्येका एक राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव विष्णु थाम्देन भन्छन्, ‘मैले धरानलाई पनि टीकापुर बनाउन खोजिँदै छ, त्यसैले तपाईंहरूको सरकार छ, तुरुन्त गृहमन्त्रीलाई फोन गरेर कर्फ्यु लगाउन भन्नोस् भनेर सत्तारुढ पार्टीका नेतालाई भनेँ।’

सुरुमा प्रतिकारका निम्ति तयारी अवस्थामा रहेको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेख्ने विष्णुलगायत पहिचानवादी नेताले सम्भावित भिडन्त टार्न स्थानीय प्रशासनलाई कर्फ्यु लगाउन अनुरोध गरेका थिए। 

आफूहरू प्रतिकारका निम्ति तम्तयार भई बसेको बताउने पहिचानवादी नेता लोक आङ्लाका भनाइमा पाँचवटा फोर्सका युवा तयारी अवस्थामा थिए। ती हुन्- पहिचानका लागि युवा, काङ्सोरे फोर्स, किराँत फोर्स, लाजेहाङ फोर्स र लिम्बुवान भोलिएन्टर्स। कोशी प्रदेश नामकरणविरुद्ध केही महिनादेखि सडकमा उत्रिएका यी संगठनका युवाहरूका सामाजिक सञ्जालका स्टाटसले पनि त्यस्तै देखाउँछन्।

आङ्ला भन्छन्, ‘हामीलाई विराटनगरका साथीहरूले पारिबाट (बिहार) बसका बस मान्छे विराटनगरमा झारेका छन् भन्ने सूचना दिएकाले हामी तयारी अवस्थामा थियौँ। यही सूचनाका आधारमा विष्णुले धरानलाई अर्काे टीकापुर बनाउन थालिएको बताएका थिए। यस्तो संवेदनशील सूचनाको गम्भीरता मनन गरी स्थानीय नागरिक अगुवा र सबै दल एक ठाउँमा उभिए।’ 

‘धरान सा‌ंस्कृतिक, भाषिक, जातीय तथा भौगोलिक विशेषता बोकेको धार्मिक सहिष्णुता, सांस्कृतिक रूपमा बहुलतायुक्त समाज सधैँ एकबद्ध भएर अगाडि बढेको सहर हो। एकले अर्काे समुदायविरुद्ध द्वेष फैलाउने र सामाजिक सद्‌भाव खल्बल्याउने काम यसअघि कहिल्यै भएको छैन’, चारजना नागरिक अगुवाले हस्ताक्षर गरेको भदौ ७ को अपिलमा भनिएको छ, ‘वर्षौंदेखि आपसी सद्‌भाव, भाइचारा तथा एकता कायम गरेको समाज र समुदाय नै धरानको सौन्दर्य हो। विशेषता पनि हो। पछिल्लो समय धरानमा विभिन्न पक्षबाट भइरहेका तथा सामाजिक सञ्जालमा देखिएका छरपस्ट अराजक, असहिष्णु विचार र बहसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

त्यस अपिलमा सम्भावित दुर्घटना हुन नदिन र सामाजिक सद्‌भाव कायम राख्न अनुरोध गर्नाका साथै भोलिपल्ट दिउँसो २ बजे नागरिकस्तरबाट सदभाव र्‍याली निकाल्ने र त्यसअगाडि बिहान ११ बजे नै उत्पन्न धार्मिक र सांस्कृतिक विवाद हल गर्नेगरी सर्वदलीय बैठक डाक्न दलहरूलाई अनुरोध गर्ने उल्लेख गरिएको थियो। साथै ‘सम्भावित सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्ने’ भनिएको थियो।

धरानको पालिका हाँकेका यी चार प्रबुद्ध व्यक्तिले गरेको सामूहिक निर्णयले सकारात्मक परिणाम दियो। भदौ ८ गते धरान उपमहानगरपालिकाभित्र संगठित १३ वटा राजनीतिक दलको संयुक्त बैठक बस्यो र त्यसबाट फेरि अर्काे अपिल जारी गरियो। 

अपिलमा नेकपा एमालेका नगर सभापति हर्कजंग एभेङ, नेपाली कांग्रेसका नगर सभापति श्याम पोख्रेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष सूर्यबहादुर भट्टराई, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष रेवतीरमण राई, जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष ताजुव लिम्बु, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर संयोजक राजेशमान श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर सचिव तिलक मगर, नागरिक उन्मुक्ति पार्टीका नगर उपाध्यक्ष पदम खेवाहाङ, राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव विष्णु थाम्देन, नेपाल संघीय समाजवादी पार्टीका प्रदेश इन्चार्ज दिनेश राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका इन्चार्ज भूपेन्द्र सुन्दर लावती र किराँत खम्बुवान संघीय पार्टीका केन्द्रीय अध्यक्ष भूपी कोयीले हस्ताक्षर गरेका छन्। 

अपिलमा ‘धरानमा देखापरेको धार्मिक, सांस्कृतिक विवादका विषयलाई सर्वपक्षीय, सर्वदलीय संवादको माध्यमद्वारा समाधान गर्न आफूहरू प्रतिबद्ध रहेको’ उल्लेख गर्दै आमसमुदायलाई ‘परिस्थितिको गम्भीरतालाई मनन गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सद्‌भाव खल्बलिने सामग्रीहरू पोस्ट, सेयर तथा कमेन्ट नगरिदिन सबैलाई अनुरोध गरियो। साथै सम्बन्धित निकायलाई सामाजिक सद्‌भाव तथा शान्ति सुरक्षा कायम गर्न आग्रह गरियो। अपिल जारी गरिएपछि झरीमा समेत सर्वदलीय सद्‌भावना र्‍याली आयोजना गरियो।

हर्क आएनन्, विज्ञप्ति आयो
पूर्वमेयर र सर्वदलीय छलफलसँगै तिनका अपिल सार्वजनिक भपछि यो द्वन्द्वमा प्रमुख कारकका रूपमा प्रचार गरिएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि भदौ ८ मै अपिल जारी गर्दै ‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक सद्‌भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण तथा आपसी सद्‌भाव, भाइचारा र एकता कायम गर्न’ नगरवासीलाई अनुरोध गरे। 

तर यस्तो अपिल जारी गरे पनि मेयर हर्क सर्वदलीय र सर्वपक्षीय र्‍यालीमा सहभागी भएनन्। नगर उपप्रमुख अइन्द्रविक्रम बेघाले मात्र कार्यक्रममा सहभागी भई सद्‌भाव कायम गर्न नगरवासीलाई अनुरोध गरे। हिन्दु संगठनहरूले मेयर हर्कले हिन्दु धर्मावलम्बीलाई चोट पुग्नेगरी व्यवहार गरेको र इसाई मिसनरीहरूलाई काखी च्यापेको भन्दै उनको विरोध गरिरहेका बेला सद्‌भाव र्‍यालीमा उनको अनुपस्थितिलाई धरानवासीले निको मानेका छैनन्। केहीका भनाइमा यस्तो संवेदनशील मुद्दामा उनको अनुपस्थितिले राम्रो सन्देश गएको छैन। 

धरानबाहिर जान छुट, प्रवेश निषेध  
भदौ ८ गते शुक्रबार रातको १० बजे पूर्वपश्चिम राजमार्गको व्यापारिक केन्द्र इटहरीबाट सिरानमा रहेको धरानतर्फ जाँदै गर्दा इटहरी–धरान सिमानामा पर्ने टरहरामा सुरक्षाकर्मीहरूले कडा जाँच गरिरहेका थिए। त्यसपछि पनि ठाउँठाउँमा चेकपोस्ट बनाई बसेका सशस्त्र प्रहरी र जनपद प्रहरीले आश्वस्त भएपछि मात्र धरान प्रवेशको अनुमति दिइरहेका थिए। भानुचोकमा पुग्दा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखियो। निषेधाज्ञा जारी गरे पनि भोलिपल्ट हुने भनिएको सम्भावित भिडन्तको डरले मान्छेहरू त्राहीमाम देखिन्थे। प्रशासनले नाकाबन्दी लगाए पनि धरान गइछाड्ने सामाजिक सञ्जालमा छरपस्ट हिन्दुवादी संगठनका नेताहरूका स्टाटसले त्यस्तो त्रास उत्पन्न गराएको थियो।

हिन्दुवादी संगठनहरूले ‘मरे बलिदान, बाँचे स्वाभिमान, गौहत्यामुक्त धरान’, गौसंरक्षण हाम्रो अभियान’ लेखिएका पोस्टर बनाएर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती बनाएका थिए। यता त्यसको प्रतिकार गर्न उक्साउँदै किराँत राई कम्युनिटीजस्ता फेसबुके संस्थाले राई, लिम्बु, तामाङ, मगरलगायतका आदिवासीलाई भदाै ९ गते बाहिर निस्कन आह्वान गर्दै ‘गाईको मुत छर्केर धरान अपवित्र बनाउन आउने धार्मिक अतिवादी जोगीहरूलाई लखेटौँ र धार्मिक अतिवादी जोगीहरूलाई धरानमा गाईको मासुले नै स्वागत गरौँ’ जस्ता उग्र नारा लगाएका थिए।

यस्तो वाकयुद्धले धरानमा त्रास फैलिएको थियो। 

यस्तो संवेदनशील परिस्थितिलाई विचार गरेर स्थानीय प्रशासनले दल र नागरिक अगुवाहरूको सहयोगमा विशेष सतर्कता अपनाएको थियो। सुरक्षाकर्मीहरूले भदौ ९ गते बिहान धरानबाट पहाडी भेग धनकुटा, भोजपुर, तेह्थुम, संखुवासभातिर जाने ट्याक्सीलाई चल्न दिइरहेका थिए भने दमक, झापा काँकडभिट्टातर्फ जाने बसहरूलाई जाँचपास गरी छाडिरहेका थिए। तर धरान छिर्ने नाकामा सुरक्षाकर्मीको कडा सुरक्षा थियो। धरान छिर्ने चार नाका चतराको झण्डाचोक, भेँडेटार, पानबारी र  धरान-इटहरी खण्डमा पर्ने पानीपियामा सुरक्षाकर्मीको ठूलो दस्ता परिचालन गरिएको थियो। 

तर विर्तामोड, विराटनगर र इटहरीमा शंख फुक्दै ‘गौहत्या बन्द गर’, ‘क्रिश्चियन हकरे मुर्दावाद’, ‘चर्च हामी तोड्छौँ तोड्छौँ’, ‘इसाई मिसनरी होसियार’, ‘धर्मछाडा मुर्दावाद’ जस्ता नारा लगाउँदै पहेँलो झण्डा बोकेका सयौँ मान्छे सडकमा उत्रिए। केही चाहिँ धरान प्रवेश गर्ने भन्दै नाराबाजी गर्दै इटहरीबाट धरानतर्फ बढे। ती निषेधित क्षेत्रभित्र छिर्न खोज्दा इटहरी-धरान सडकमा पर्ने पानीपियामा बसेका सयौँ सुरक्षाकर्मीको दस्ताले रोकेको थियो। भीड राति अबेरसम्म नाराबाजी गर्दै बस्यो। 

मन्दिर–चर्च आमनेसामने 
हिन्दुवादीहरूले धरानका मेयर हर्क साम्पाङविरुद्ध मोर्चा खोल्नुको पछाडि एक वर्ष पुरानो कथा छ, जसले आजको धार्मिक र जातीय द्वन्द्वमा पेट्रोल छर्कने काम गरेको छ। यो कथा त्यतिबेलाको हो, जतिबेला हर्क मेयरमा निर्वाचित भए। त्यो बेला साम्पाङ कहाँ एउटा मुद्दा आउँछ। बराह सहकारीले बचतकर्ताको अर्बाैं डुबाइदिएपछि पीडित खगेन्द्र नेपालीको नेतृत्वमा गठित संघर्ष समितिले डुबेको रकम उठाइदिन पहल गरिदिन भन्दै मेयरलाई गुहार माग्छ।

संयोजक नेपालीका भनाइमा पीडितलाई सहयोग गर्नुको साटो मेयर साम्पाङले उल्टै नेपालीलाई मेयर पदमा साम्पाङसँग प्रतिस्पर्धा गरेकी मञ्जु भण्डारीसँग जोडेर प्रचार गरे। उनले भण्डारीको डिजाइनमा आफ्नो बेइज्जत गर्न आन्दोलन गरेको आरोप मात्र लगाएनन्, आफ्नो फेसबुकमा नेपाली र मञ्जुको फोटो मोन्टाज गरेर दुष्प्रचार पनि गरे। मेयरको यस्तो व्यवहारविरुद्ध मञ्जु कानुनको ढोका ढक्ढक्याउन गइन्। 

त्यसपछि रिसाएका मेयर साम्पाङले मञ्जुको फेसुबक आईडीबाट प्रचार गरिएको भन्दै एउटा स्क्रिनसट सार्वजनिक गर्छन्, जसमा ‘राई-लिम्बुहरूले धरान खाइसकेकाले बाहुन-क्षेत्री एक हुनुपर्‍यो’ भन्ने आशयको स्टाटस लेखिएको हुन्छ। मेयरको उक्त स्टाटसले समाजमा राई-लिम्बु भर्सेज बाहुन-क्षेत्रीको स्थिति ल्याइदियो। जातीय विद्वेष फैलाइदियो। विवाद चर्कंदै गएपछि मञ्जु र उनको दल एमालेले पत्रकार सम्मेलन नै गरेर मेयर स्वंयले ‘फेक फेसबुक जेनेरेटर एप्स’ बाट मञ्जुको नामबाट फेक स्टाटस बनाई दुष्प्रचार गरेको भन्दै गम्भीर आरोप लगायो। यसरी ध्रुवीकरण हुँदै गएको समाज गत वैशाखमा आएर झन् नराम्ररी फाट्न पुग्यो। 

धरान सहरको शिरमा ऐतिहासिक थलो विजयपुर छ, जहाँ किराँत र हिन्दुको संगमस्थलका रूपमा चिनिने बूढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्याजस्ता पौराणिक मन्दिर छन्। यही थलोमा वि. स. १९९२ मा बनेको बालगोपाल मन्दिर छ। गएको वैशाखमा यही मन्दिरको ठीक पारिपट्टि रातारात ‘होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च’ खडा गरिएपछि विजयपुर धार्मिक संरक्षण समन्वय समितिले चर्च हटाउने अभियान चलायो। नक्सापास नगरीकनै चर्च बनाइएको भन्दै असारमा समितिले नगरप्रमुखसमक्ष ज्ञापनपत्र बुझायो। उसको पछिपछि क्रिश्चियन समाज पनि मेयरकहाँ पुग्यो।

मेयरले दुई पक्षलाई सँगै राखेर मिलाउनुको साटो गोप्य बैठक नै लाइभ गरिदिए। कुरा नमिलेपछि दुवैलाई अदालत गई मिलाऔँ भनी पन्छाउन खोजे। मेयरको यस्तो उपेक्षाले धार्मिक संरक्षण समितिका पदाधिकारी क्रूद्ध भए। र, तिनले जसरी पनि त्यहाँबाट चर्च हटाउने अभियान चलाए। 

यसै क्रममा समितिले विवादास्पद र उग्र धर्मगुरु श्रीनिवास आचार्यलाई मन्दिरमा डाक्यो। आफ्ना दुई चेलालाई आफैँमाथि गोली चलाउन लगाएर पक्राउ परी जेल सजाय काटेका श्रीनिवासले मेयर साम्पाङविरुद्ध इसाई मिसनरी भन्दै विष वमन गरे। उनको यस्तो उग्रवचन सेलाउन पाएको थिएन, लगत्तै उग्र जनजाति नेता आङकाजी शेर्पा धरान पुगे र चर्च र मन्दिर-मन्दिरमा गई फेसबुक लाइभ गर्दै भड्काउ भाषण दिएर फर्किए। यसले आगोमा घिउ थप्ने काम गर्‍यो। 

गोरुकाण्डको कथा 
मन्दिर–चर्च विवाद उत्कर्षमा थियो। त्यहीबीच साउन ९ गते धरानमा टयाम्पोमा गोरुको मासु ओसारिरहेका कुमार राई र राजन परियार पक्राउ परे। धरानमा गोरु काटेर मासु खानुलाई पहिलेदेखि सामान्य मानिन्छ। राई–लिम्बुको कुलायन पूजामा नभइनहुने गोरुको मासु धरानका सबै होटलमा पाइने कुरा यहाँका सबै समुदायलाई थाहा छ। यो कुरा प्रशासनबाट पनि छिपेको छैन। तर ऊ आँखा चिम्लेर बस्थ्यो।

दुईजना पक्राउ परेपछि आदिवासी संस्थाहरूले दबाब दिई तिनलाई धरौटीमा छुटाए। त्यसरी छुटाएर ल्याएपछि उनीहरूको सम्मानमा सांस्कृतिक अधिकार संरक्षण समितिको अगुवाइमा गोरुको वध गरी एउटा स्वागतभोज आयोजना गरियो। त्यसलाई मंगोल नेसनल अर्गनाइजेसनकी कार्यकर्ता विनिता बेघाले लाइभ गरिन्। सामाजिक सञ्जालमा त्यो भिडिओ भाइरल भयो।

भिडिओ भाइरल गराउने काममा आफूलाई अभियन्ताका रूपमा पेस गर्ने नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय खुलेर लागे। ट्विटरमा ४ लाखभन्दा बढी र फेसबुकमा ४ हजार ९ सय फलोअर भएका उपाध्यायले घृणा फैलाउन झुटा कथा कथेर थुप्रै पोस्ट पनि गरे। यस क्रममा उनले भैँसीको मासु खाइरहेकी चितवनकी एक महिलालाई धराने गोरुखाने महिलाका रूपमा प्रस्तुत गरेपछि ती महिलाले उपाध्यायविरुद्ध मुद्दासमेत हालेकी छन्। तर पनि उपाध्यायले विभिन्न समुदाय र धर्मावलम्बीविरुद्ध घृणा फैलाउने स्टाटस लेख्न छाडेका छैनन्। 

उपाध्यायसँगै श्रीनिवास आचार्य र आङकाजी शेर्पाहरूले समस्या सुल्झाउनुभन्दा त्यसलाई चर्काउन खोजेको देखिन्छ। धरान वडा नम्बर-३ का पूर्ववडाध्यक्ष आशाकुमार श्रेष्ठ भन्छन्, ‘धरानभित्र हामीबीच कुनै समस्या छैन। सयौँ वर्षदेखि मिलेर बसिरहेको बहुजातीय र बहुधार्मिक समाज हो यो। लड्ने/लडाउने काम सबै धरान बाहिरबाट भइरहेको छ।’ 

वैशाखदेखि असारसम्म चर्काइएको मन्दिर-चर्च विवाद अहिले आएर गाई पूजक हिन्दु भर्सेज गाईगोरुको मासु खाने राई-लिम्बुमा परिणत भएको छ। यस विषयमा सामाजिक सञ्जालमा लडिरहेका धरानबाहिरका दुवै पक्षका कट्टरवादीहरू भदौ ९ गते भाैतिक रुपमै आमनेसामने हुँदै  थिए। तयारीअनुसार उनीहरुबीच धरानमा भिडन्त भएको भए त्यसले ठूलो मात्रामा जनधन क्षति गर्ने निश्चित थियो। यसपालि धरानका नागरिक अगुवा र दलका नेताहरूले समयमै सजगता अपनाई सम्भावित ठूलो दुर्घटना टारेका छन्। तर धरानमा हुर्किरहेको अन्तर सामुदायिक तथा धार्मिक तुष छिट्टै मेटिने छाँटकाँट चाहिँ अझै देखिएको छैन। 

यो काण्ड संसद्‌मा समेत पुगिसकेकाे छ। भदौ ५ मा नेपाली काग्रेंसका केन्द्रीय सदस्यसमेत रहेका सांसद शंकर भण्डारीले गोरु काटेको घटनालाई निन्दनीय भन्दै कारबाही गर्न माग राखे।

‘धरानमा सार्वजनिक रूपमा गोरु काटेर आपसी सद्‌भाव भड्काएर धार्मिक हिंसा गराउन खोजिँदै छ। गाईगोरु काटेर यहाँ जातीय सद्‌भाव खल्बल्याउने प्रयास भएको छ। सनातन धर्मलाई कमजोर बनाउने र तिनको आस्थामा चोट पुर्‍याउने काम भएको छ,’ भण्डारीले संसदमा भने, ‘अतिवादीहरूले द्वन्द्व सिर्जना गराउने काम गर्दै छन्। यस्ता अराजक तत्त्वहरूलाई गृह मन्त्रालयले कारबाही गर्नुपर्छ। वैदिक सनातन धर्मको अपमान गर्ने तथा हिन्दु धर्मविरुद्ध खुलेआम गतिविधि गर्नेविरुद्ध कारबाही गर्नुपर्छ।’ 

धर्मगुरुबिनाको र्‍याली 
धरानमा सबै राजनीतिक दल र नागरिक अगुवालाई एक ठाउँमा उभ्याउने प्रमुख कारण दुइटा थिए। पहिलो- हिन्दु मन्दिरअगाडि चर्च खडा गरिनु र दोस्रो- गोरु काटेर खाएको भोजलाई चुनौतीका रूपमा सामाजिक सञ्जालमा प्रचार गरिनु। यी दुवै प्रकरणमा हिन्दु, किराँत, इसाई र इस्लाम धर्मावलम्बीहरू प्रत्यक्ष जोडिएका छन्।

त्यसैले भदौ ८ मा गरिएको सर्वदलीय सर्वपक्षीय नाम दिइएको सद्‌भावना र्‍यालीमा ती धर्मका धर्मगुरुहरूलाई बोलाइएको भए त्यो अझ प्रभावकारी हुन्थ्यो र त्यसले सकारात्मक सन्देश दिन्थ्यो भन्नेहरू पनि भेटिए। यो तर्क ठीक पनि देखिन्छ।

सद्‌‌भावना र्‍यालीमा सहभागी मुसलमानहरूको संगठन अञ्जुमन इस्लामिया धरानका महासचिव अफाक अहमद भन्छन्, ‘हतारमा गरिएकाले आयोजकहरूले धर्मगुरुहरुलाई छुटाउनु भएको होला। तर उहाँहरूको सहभागिता भएको भए त्यो र्‍याली पूर्ण हुन्थ्यो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .