राजनीति


के धरानका मेयर हर्क साम्पाङ इसाई हुन्?

के धरानका मेयर हर्क साम्पाङ इसाई हुन्?

जेवी पुन मगर
भदौ ११, २०८० सोमबार १२:३०, धरान

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यतिखेर विवादको केन्द्रमा छन्। हिन्दूवादी संगठनहरुले आयोजना गरेको ‘सद्भाव र्‍याली’मा उनलाई इसाई मिसनरी भन्दै विरोध गरिएपछि धेरैको मनमा प्रश्न उब्जिएको छ– के मेयर हर्क इसाई मिसनरी नै हुन् त?

भदौ ९ गते हिन्दूवादी संगठनहरुले इटहरीमा आयोजना गरेको ‘गोवंश तथा स्वधर्म संरक्षणका लागि र्‍याली’ मा शंख फुक्दै ‘गौ–हत्यारालाई फाँसी दे’, ‘हिन्दू राष्ट्र घोषणा गर’, ‘क्रिश्चियन हर्के मुर्दावाद’, ‘चर्च हामी तोड्छौँ तोड्छौँ’, ‘इसाई मिसनरी होसियार,’ ‘धर्मछाडा मुर्दावाद’ जस्ता नाराबाजी गर्दै पहेँलो झण्डा बोकेका सयौं मान्छे सडकमा उत्रिए। 

त्यसको तीन दिनअघि जनकपुरमा हिन्दू सम्राट सेना र बजरंग दलका नाममा प्रदर्शन गर्नेहरुले ‘राष्ट्रिय जनावर मार्न पाईंदैन’, ‘राई–लिम्बु मुर्दावाद’ र ‘धराने मेयरलाई फाँसी दे’ जस्ता जातिसूचक नाराबाजी गरेका थिए। सामाजिक सञ्जाल र यस्ता विरोध कार्यक्रमको तारोमा अहिले धरानका मेयर हर्क साम्पाङ देखिन्छन्। 

धरानमा करिब एक दर्जन व्यक्तिहरुसँग विमर्श गरेपछि मेयर हर्कमाथि लागेको ‘इसाई मिसनरी’ को आरोपको जवाफ उनकै मुखबाट सुन्न आतुर थिएँ। मैले उनका नजिकका सहयोगीहरुसँग आफ्नो इच्छा जाहेर गरेँ। ‘धरानलाई केन्द्र बनाई चर्काउन थालिएको धार्मिक–जातीय उग्रताको अपजस मेयर हर्कमाथि लगाइएकोले उनी केही दिन मिडियासँग बोल्न चाहँदैनन्’ भन्ने जवाफ दिइयो।

तर भदौ ९ गते राति एकजना सञ्चारकर्मीमार्फत भोलि बिहान भेट्ने समय उपलब्ध गराइएको जानकारी मेरो कानसम्म पुर्याइयो। भदौ १० गते निर्धारित समयमा मेयर हर्क स्वंयले निर्माण गरेको धरानको शिरमा अवस्थित श्रम संस्कृति पार्कमा उनको सम्मुख थिएँ म, जहाँ उनी आधा दर्जन सहयोगीसँग घेरिएर केही युट्युबरहरुसँग आफ्नो भनाइ राख्दै थिए। 

सुरुमै उनलाई मेरो प्रश्न थियो– ‘मेयरसाब! धरानमा धर्म र जातको बबण्डर मच्चिनुका पछाडि तपाईं इसाई मिसनरी भएर हो भनिँदैछ। यसमा तपाईंको जवाफ के हो?’ 

उनले मलाई आफ्नो चिरपरिचित शैलीमा दिएको जवाफ पछाडि बताउँछु। तर त्यसभन्दा अगाडि मेयर हर्कलाई मान्छेले किन इसाई मिसनरीको आरोप लगाउँदै आक्रमण गरिरहेका छन् भन्नेबारे केही बुँदागत तथ्य बताउन गैरहेको छु।

छुच्चो व्यवहार
मेयरमा जित्नासाथ हर्कले ‘श्रम संस्कृति’ नाम दिइ ल्याएको वृक्षरोपण कार्यक्रममा उनले आह्वान गर्दा देशभरिका मान्छे सहभागी भए। काकाकुल धरानबासीलाई पानी खुवाउन उनले गरेको अथक प्रयत्नलाई सघाउन धरानमा मान्छेको ओइरो नै लाग्यो। विश्वभरका नेपालीले अर्थ–सहयोग गरे। मेयर हर्ककै शब्दमा त्यसले धरानको नकारात्मक छविलाई बदल्न सहयोग पनि गर्यो। 

तर सामाजिक सञ्जालमा छुद्र स्टाटसहरु लेख्दै मान्छे बिच्काउने र छुच्चो व्यवहारले उनको लोकप्रियताको ग्राफ तल झर्दै गइरहेको देखिन्छ। तैपनि उनलाई यसले असर पारेको छैन। जात, धर्म, सम्प्रदाय र व्यक्तिहरुमाथि तोकेरै गालीगलौज गर्ने उनको व्यवहारले प्रारम्भमा निर्माण भएको ‘हर्क व्यक्तित्व’ क्षयीकरण हुँदै  गैरहेको छ, जसको फाइदा उनको उदयबाट खुसी नभएका ठूलो पक्तिंले उठाउन खोजिरहेको देखिन्छ।

संस्कृतिमाथि प्रहार
मेयर पदको शपथग्रहणपछि बधाई दिन आउनेहरुलाई ‘अबिरमाला लगाउँदिनँ’ भन्ने सार्वजनिक अभिव्यक्तिबाट आफ्नो कार्यकाल सुरु गरेका हर्कले दशैँतिहारमा शुभकामना दिनुको सट्टा ‘लक्ष्मीपूजा गर्नुभन्दा श्रम गरौँ’ भन्दै स्टाटस लेखे। पलपलमा सामाजिक सञ्जाल अपडेट गर्ने उनले आफू पनि दशैँ र तिहार मनाएको देखिनेगरी कुनै कार्यक्रममा उपस्थित भएनन्। उनको यस्तो व्यवहारलाई हिन्दू संघसंस्थाका नेताहरुले संज्ञानमा राखिरहेका थिए। 

यस्तै परिवेशमा एउटा घटना भयो। मेयर हर्कको फेसबुकबाट दशैँतिहारपछि आउने क्रिसमसका दिन इसाई धर्मावलम्बीहरुको एउटा समूहले उनको कार्यकक्षमै गई केक काटेर क्रिसमस मनाएको तस्बिर सार्वजनिक भयो, जसमा मेयर हर्क ‘क्रिसमस ह्याट’ मा देखिन्छन। यो प्रकरणसँग जोड्दै हर्कलाई इसाई मिसनरी भएको प्रचारबाजी गरेको देखिन्छ।

त्यसो त धरानका किरातहरुले २०४६ सालदेखि नै आफ्नो धर्म, संस्कृति अपनाउने र अरुको छाड्ने भन्दै दशैँ–तिहार जस्ता चाडहरु बहिष्कार अभियान नै चलाएकोले हर्कले पनि त्यसैलाई अनुकरण गरेका थिए। तर त्यसो गर्दा उनले आफू सबै जात र धर्मावलम्बीका जनप्रतिनिधि हुँ भन्ने मर्म बुझेनन्। 

पहिचानको आन्दोलनप्रति ‘सफ्ट कर्नर’ राख्ने मेयर हर्कले त्यो बमोजिम आफ्नो धारणा पनि सार्वजनिक गर्दै गए। त्यसैले उनका सञ्जालमा फैलिएका हिन्दू धर्म–संस्कृति र संस्कारलाई आहत पुग्ने स्टाटस र इसाई र किरातीहरुका संस्कृतिलाई मान र प्रवद्र्धन गरिएका विचारहरु बढ्दै गए। जति उनका यस्ता विचार थुप्रिँदैगए त्यति नै बेसी उनका विरोधी संगठित हुँदै गए।

चर्च र गोरु प्रकरण
गएको वैशाखमा धरानको बालगोपाल मन्दिरसम्मुख चर्च खडा गरिदिएपछि विजयपुर धार्मिक संरक्षण समन्वय समितिका जुद्ध लोहनी, बासुदेव बराल र मातृका नेपालहरुले ‘स्थानीय तहबाट नक्सा पास नै नगरी संरचना बनाइएको’ भन्दै मेयरलाई चर्च भत्काउन दबाब दिए। मेयरले दुवै पक्षलाई अदालतमा गएर छिनोफानो गर्नाेस् भनिदिए। चर्च प्रकरणमा मेयर हर्कले इसाईहरुलाई काखी च्यापेको तिनको बुझाइ थियो। 

त्यसैले होला बालगोपाल मन्दिरमा बोलाइएका विवादास्पद धर्मगुरु श्रीनिवास आचार्यले प्रवचनकै क्रममा मेयर हर्कलाई इसाई मिसनरी भन्दै सत्तोसराप गरे। त्यसपछि बिच्किएका मेयर पनि हिन्दू धर्मभित्रको छुवाछुत र विभेदका कारण इसाई बढेको भन्दै तिनको प्रतिवादमा उत्रिए। त्यसले हिन्दू भर्सेस इसाईको द्वन्द्वजस्तो देखिन गयो। 

गोरुको मासु सहित पक्राउ परेका कुमार राई र राजन परियार छुटेको खुसियालीमा सांस्कृतिक अधिकार संरक्षण समितिले गोरु वध गरी आयोजना गरेको भोजका बारेमा पनि मेयर हर्कले मध्यममार्ग नरोजेर किरातीहरुलाई उक्साउने र हिन्दूहरुलाई चिढ्याउने काम गरे। हर्कको यस्तो हर्कतले पनि उनलाई इसाई मिसनरी भन्दै प्रचारबाजी गर्न थालियो। जबकि यो भोज आयोजनासँग इसाईहरुको कुनै सम्बन्ध थिएन।

यो विशुद्ध किरातीहरुले गरेको भोज थियो, जसको नेतृत्व समितिका अध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङले गरेका थिए। अर्काे काम गोरुलाई गाई काटेको भन्दै प्रोपागाण्डा फैलाएर हिन्दू भावना भड्काउने काम पनि गरियो।

ईसाई–हर्क कनेक्सन
आदिवासी पहिचान अर्थात् पहिचानको राजनीतिको केन्द्र मानिने १२३ वर्ष पुरानो धरानको आकार–प्रकार र त्यसको चिन्तनमा अहिले ठूलो परिवर्तन आइरहेको देखिन्छ। गएको दस बर्षमा धरानमा आदिवासीको धर्म संस्कृति खिइँदै गइरहेको र इसाइकरणले जब्बर आकार ग्रहण गर्दै गइरहेको देखिन्छ। यदि धर्म राजनीतिसँग जोडियो भने यो संख्याले चुनावी परिणाम उल्टाउने हैसियत बनाइसकेको छ।

धरान क्रिस्चियन समाजका सल्लाहकार पादरी कुबेर गुरुङका अनुसार धरानभित्र ७५ वटा चर्च बनिसकेका छन् भने धर्मप्रचारमा ८० जना जति पादरी सक्रिय छन्। यी चर्चमा धाउने संगठित सदस्यहरुको संख्या २५ हजार जति पुगेको छ। 

सुकुम्बासीहरुको सहर भनी नयाँ परिचय समेत बनाएको धरानलाई इसाईकरण गर्नमा पनि यही वर्ग नै बढी सक्रिय देखिन्छ। सुकुम्बासी आयोगको तथ्यांकमा धरानमा सुकुम्बासीहरुको जनसंख्या करिब १६ हजार देखिए पनि नेपाल बसोबास बस्ती संरक्षण समाजले यो संख्या ६५ हजार जति रहेको दाबी गर्दै आइरहेको छ। यो धरानको चुनावी परिणाम प्रभाव पार्ने निर्णायक संख्या हो, जसमा इसाई समुदायको प्रभाव बढी रहेको मानिन्छ। त्यसैले केही वर्षयता राजनीतिक दलहरुले पादरीहरुको सक्रिय सहयोग लिंँदै आइरहेका थिए। तर यसपालि यो खेलमा हर्कले बाजी मारे। 

हर्कलाई चुनाव जिताउन टोलटोलमा संगठित र आक्रामक रुपमा काम गर्ने इसाई समुदायको निर्णायक भूमिका रहेको भर्खर दलका नेताहरुले बुझिरहेका छन्। एमाले नगर कमिटीमा पार्टी समर्थित इसाई कार्यकर्ताहरुले ‘यसपालि हाम्रो पादरीहरुले हर्क साम्पाङलाई मत दिने भन्नुभएको छ’ भन्ने रिपोर्ट गरेपनि उपेक्षा गरिएको एक जना एमाले नेताको स्वीकारोक्ति छ। 

हर्क हरेकको घरघरमा पुगेका थिए। यसका निम्ति उनका दायाँ–बायाँ हात मानिने समीर तामाङ र तर्क मगरले निर्णायक भूमिका खेलेका थिए। त्यसैले वृक्षरोपण कार्यक्रममा पनि इसाई समुदायका मान्छेहरुको सधैँ अग्रणी सहयोग देखिने विश्लेषण गरिन्छ।

आफूलाई जिताउन भूमिका खेल्ने इसाई समुदायसँग मेयर हर्कको स्वाभाविक लगाव देखिन्छ। यसैलाई जोडेर विपक्षीले उनलाई इसाई मिसनरीको रुपमा चिनाइरहेका छन्।

मैले पादरी कुबेर गुरुङसँग सोधेको थिएँ– के मेयर हर्क तपाईंहरुको विश्वासी (सदस्य) हुन्?

उनको जवाफ थियो– ‘उहाँ विश्वासी होइन। तपाईंले सुनेको दुष्प्रचार हो।’

‘म तीन चुले हुँ
मैले माथि उल्लेख गरेको प्रश्नमा मेयर हर्कले आफू तीन चुला पूज्ने प्रकृतिपूजक राई समुदायको भएकोले कहिल्यै धर्मान्तरण गरी क्रिस्चियन नभएको बताए।

‘मलाई विरोधीले क्रिस्चियन बनाउनु भो। पास्टर बनाउनु भो। त्यतिले नपुगेर क्रुसमा पनि टाँगिदिनु भो। यी कुरा कसैले भन्ने होइन, स्वघोषणा गर्ने कुरा हुन्। मैले कहिल्यै आफूलाई इसाई घोषणा गरेको सुन्नुभएको छ?’ मेयर हर्क भन्छन्, ‘यदि म इसाई भएको भए म इसाई हुँ भन्न मलाई केको डर हुन्थ्यो? म त्यो हुँदै होइन। म त पुर्खाको धर्म, संस्कृति पछ्याउने मुन्धुमी हुँ।’

प्रकृतिपूजक मुन्धुमी भएकै कारण आफूले लाखौँ बिरुवा रोपेको तर्क गर्ने हर्क भन्छन्, ‘म प्रकृति संरक्षक हुँ। श्रम संस्कृतिको प्रवर्द्धक हुँ। त्यसैले अधिकांश समय प्रकृतिसँग बिताउँछु।’ 

आफूले पिण्डेश्वर मन्दिरमा गई पूजाअर्चना गरेको र पानी ट्यांकी शिलान्यास गर्दा पण्डितले आफूलाई मन्त्रोच्चारण गर्न लगाएको तथ्य लुकाएर इसाई मिसनरीको रुपमा एकोहोरो प्रस्तुत गर्नेहरु मेयरको लोकप्रियताबाट डराएको उनको तर्क छ। 

‘हर्कको लोकप्रियता यही स्तरमा बढ्दै गयो भने यो मान्छेले दल खोल्छ र सबै लपेट्छ भनेर दलका नेताहरु थरथर काँपेका छन्। त्यसैले मलाई इसाईसँग जोडेर दुष्प्रचार गरिँदैछ,’ उनी यसलाई आफ्नो उचाइ बढेको रुपमा अथ्र्याउँदै भन्छन्, ‘देशभरका मान्छे जम्मा भएर हर्के मुर्दावादको नारा लगाइरहेका छन्। यसले मेरो उचाई कहाँ पुगेको रहेछ भन्ने पनि थाहा भो।’ 

चर्च–मन्दिर विवाद अदालतको कार्यक्षेत्र र गोरु प्रकरण प्रहरी प्रशासनको दायराभित्र पर्ने हुनाले त्यसमा आफूलाई जोड्नुको कुनै तुक नरहेको उनको भनाइ छ।

(यो रिपोर्टको शीर्षक परिवर्तन गरिएको छ) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .