राजनीति


मलंगवाबाट झण्डै बिथोलियो हिन्दू–मुस्लिम सद्‌भाव : कसको ‘गेम प्लान’?

मलंगवाबाट झण्डै बिथोलियो हिन्दू–मुस्लिम सद्‌भाव : कसको ‘गेम प्लान’?

जेवी पुन मगर
भदौ २४, २०८० आइतबार १८:२८, काठमाडौँ

सर्लाहीको सदरमुकाम मलंगवामा शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका निम्ति जाँदै गर्दा घरको छतबाट ‘तातोपानी र ढुंगा प्रहार’ गरिएको भन्दै हिन्दू समुदायका केही व्यक्तिले मुस्लिम बस्तीमा तोडफोड गरेपछि दुई पक्षबीच भएको भिडन्तले डरलाग्दो रूप लियो। शुक्रबार साँझ भीड नियन्त्रण गर्न सुरक्षाकर्मीले हवाई फायर र अश्रुग्यास प्रहार गर्दासमेत स्थिति सामान्य हुन हम्मेहम्मे परेको स्थानीय सञ्चारकर्मी बताउँछन्।

त्यस दिन भीड नियन्त्रणमा त आयो, तर त्यसको असर भोलिपल्ट बिहानैदेखि देखिन थाल्यो। 

सम्भावित दुर्घटना टार्न व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिए पनि शनिबार बिहानैदेखि प्रदर्शनकारीहरू भेला भई नाराबाजी गर्न थालिसकेका थिए। एकाबिहानै जम्मा भएको आक्रामक भीडले मुस्लिम समुदायका सम्पत्तिमाथि आक्रमण गर्न थालेपछि अवस्था भयाभव हुन थाल्यो।

त्यसपछि स्थानीय प्रशासनले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्‍यो। जुन कर्फ्यु अवस्था सामान्य बन्दै गएको भन्दै आइतबार बिहान स्थानीय प्रशासनले हटाएको छ। तर मिहिन विश्लेषण गर्दा अवस्था कस्तो देखिन्छ भने अतिवादी पक्षहरू सक्रिय भइरहे भने कुनै पनि बेला फेरि हिंसा भड्किन सक्छ। 

त्यसो त यसअघि प्रशासनले सर्वदलीय बैठक राखेर समस्या हल गर्ने प्रयत्न गरेको थियो। केही दिनअघि मात्र धरान उपमहानगरमा सर्वदलीय/सर्वपक्षीय छलफलबाट सम्भावित दंगा नियन्त्रण गरिएको अभ्यास मलंगवामा पनि गरियो। तर मलंगवामा यस प्रयासले पनि काम गरेन। घटनालाई साम्प्रदायिक रूप दिन खोज्ने प्रदर्शनकारी नै बैठकमा आइदिएनन्। स्थानीयहरूका अनुसार बरु उल्टै सर्वदलीय/सर्वपक्षीय बैठक चलिरहेका बेला जिविस चोकमा आगो बाले। ९ नम्बर वडामा रहेको मदरसामा तोडफोड गरे। ब्रम्हपुरीमा पनि दंगा भड्काउन खोजियो। भीड नियन्त्रण गर्ने क्रममा डीएसपी दीपेन्द्र पञ्जियार घाइते भए। त्यसपछि स्थानीय प्रशासन निषेधाज्ञा जारी गर्न बाध्य भयो। 

सर्लाही जिल्ला प्रशासन प्रमुख इन्द्रदेव यादवको हस्ताक्षरमा शनिबार जारी प्रेस विज्ञप्तिमा पनि उक्त कुरा उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ–

‘शुक्रबार राति मूर्ति सेलाउने क्रममा भएको विवाद समाधान गर्न सर्वदलीय/सर्वपक्षीय बैठक बसी सामाजिक सद्‌भाव कायम गर्न सार्वजनिक सर्वपक्षीय अपिल गर्दा पनि साविक मलंगवा नगरपालिका क्षेत्रमा आज (शनिबार) बिहानैदेखि भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जानसक्ने स्थिति देखिएकोले कर्फ्यु आदेश जारी गरिएको छ।’

दंगा भड्काउन प्रमुख भूमिका खेलेको आरोपमा हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण यादवसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

सेल्फ–सेन्सरसिप
केही समययता मधेश प्रदेशमा हिन्दू-मुस्लिम झडप अचाक्ली बढ्न थालेको छ। धर्म रक्षाका नाममा कट्टरपन्थीहरूले भारतकै शैलीमा मुस्लिम समुदायले वर्षौंदेखि मनाइरहेको सांस्कृतिक चाडमा ‘यो गर, त्यो नगर‘ भन्दै हस्तक्षेप गर्ने र आफ्ना चाडको अवसर पारी मुस्लिम बस्तीमा गई तिनलाई चिढ्याउने उग्र नाराबाजी गर्न थालेपछि दुई पक्षबीच द्वन्द्व बढ्दै गइरहेको बताइन्छ।

शुक्रबार र शनिबारका घटना नजिकबाट नियालेका स्थानीय सञ्चारकर्मीहरूका भनाइमा शुक्रबार पनि त्यस्तै प्रवृत्ति दोहोर्‍याइएको थियो। मूर्ति विसर्जन गर्न जाने बाटोका लागि मुस्लिम बस्तीलाई रोजिएकाले झडप भएको हो। अघिल्ला वर्ष आफ्ना धर्म-संस्कार मनाउँदा एकअर्काविरुद्ध नाराबाजी नगर्ने, हिन्दूले मुस्लिम बस्तीमा र मुस्लिमले हिन्दू बस्तीमा भीड नलैजाने एकखालको भद्र सहमति भएको थियो। तर पछिल्लो समय यो सहमति तोड्ने काम गरिएको छ। शुक्रबार पनि मुस्लिम बस्तीबाट उग्र नाराबाजी गर्दै गएकाले त्यो भीड फर्किंदा मुस्लिम युवाहरूले ढुंगामुढा गरेको बताइन्छ। 

यस्ता झडपले साम्प्रदायिक रंग लिन थालेपछि स्थानीय सञ्चारकर्मीहरू समाचार लेख्नसमेत डराउन थालेका छन्। शुक्रबार र शनिबारका घटनामा पनि उनीहरूले ‘दुई पक्षबीच झडप भएकोले निषेधाज्ञा लगाइएको’ मात्र लेखेका छन्। सञ्चारमाध्यममा प्रकाशित समाचार पढेर मलंगवामा पाठकले के भएको र दुईपक्ष भनिएका को को हुन् भन्ने भेउ नै पाउँदैनन्।

सञ्चारमाध्यममा आएका अपुरा समाचारभन्दा बढी सूचना त जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा देखिन्छ। यसबारे मैले त्यहाँका सञ्चारकर्मीहरूसँग कुरा गरेको थिएँ। तिनका कुरा चिन्ताजनक थिए।

एकजना सञ्चारकर्मीले मसँग भने, ‘हामीले लेखेको समाचारले दंगा झन् भड्किएला भन्ने डर र अर्काे हामीमाथि नै आक्रमण हुनसक्ने भयले सेल्फ-सेन्सरसिप गरेका हौँ।’

सद्‌भाव भड्काउने सूत्र 
पछिल्ला श्रृ‌ंखलाबद्ध यस्ता झडप केलाउँदा तिनको प्रकृति एउटै खालको देखिन्छ। मधेश प्रदेशका जिल्लामा दिनानुदिन हुन थालेका यस्ता झडप नियोजितजस्तो देखिने स्थानीय सञ्चारकर्मीहरूको बुझाइ छ।

जनकपुरका एकजना सञ्चारकर्मी भन्छन्, ‘धार्मिक उन्माद फैलाउन सक्रिय केही युवाहरू छन्, जो जनकपुरमा पनि उफ्रिरहेका हुन्छन्, उनीहरू नै इटहरी, महोत्तरीतिर धर्म रक्षार्थ भन्दै आयोजना गरिएका र्‍यालीहरूमा पनि अग्रपंक्तिमा नै देखिन्छन्। त्यसैले अहिले मधेशमा भइरहेका साम्प्रदायिक झडप नियोजितजस्ता देखिन्छन्।’

यस्तो बुझाइ सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित स्वतन्त्र सा‌ंसद अमरेशकुमार सिंहको पनि छ। मधेशमा बढिरहेको ‘प्रायोजित’ यस्ता साम्प्रदायिक झडपबारे सिंहले संसद्‌लाई बारम्बार जानकारी पनि गराइरहेका छन्।

सर्लाहीमा सांसद सिंहकै क्षेत्र नम्बर ४ मा भएको एउटा घटना यहाँ उल्लेख गरिनु सान्दर्भिक हुन्छ।

सिंहको निर्वाचन क्षेत्र नेपाल-भारत सीमामा पर्ने गोडैतामा गत महिना मुस्लिमहरूको चाड मोहर्रममा केही उग्र हिन्दूवादी व्यक्तिहरू प्रदर्शन गर्न गए। उनीहरूको त्यस्तो व्यवहारले रिसाएका मुस्लिम समुदायका युवाहरू पनि प्रतिकारमा उत्रिए। अनि भिडन्त भयो। झडपले दंगाको स्वरूप लिएपछि १५ दिनसम्म त्यो क्षेत्र अशान्त बन्यो। झडपमा कैयौँ घाइते भए। भड्किएको दंगा नियन्त्रण गर्न प्रशासनले दुई दिनसम्म कर्फ्यु लगायो। 

मलंगवा झडपभन्दा केही दिनअघि मात्र महोत्तरीमा पनि यस्तै प्रकृतिको घटना भएको थियो। कुरा यही भदौ १२ गतेको हो। महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ३ महदैया तपनपुरमा भदौ ११ गते राति अज्ञात व्यक्तिले कृष्ण जन्माष्टमीका लागि बनाइएको मूर्ति तोडफोड गरे। यसको आरोप मुस्लिम समुदायलाई लगाइयो। यस विषयमा भोलिपल्ट दुई समुदायबीच गाउँमा छलफल चलिरहेका बेला आफूलाई हिन्दू सम्राट सेनाका कार्यकर्ता बताउने बाहिरबाट गएका केही युवाले नाराबाजी गर्न थाले। 

बैठक खल्बल्याउन थालेपछि हिन्दू सम्राट सेनाका कार्यकर्ताविरुद्ध स्थानीय मुस्लिम युवाहरू जाइलागे। नाराबाजी गर्न गएका राजेश यादव, मञ्जु मण्डल, लक्ष्मी साह, पंकज झालगायतकाले कुटाइ खाए। त्यस घटनामा घाइते भएकी जमुना साहले स्थानीय सञ्चारमाध्यममा भनेकी छन्, ‘मूर्ति तोडफोडमा सोही ठाउँका केही उपद्रव व्यक्तिहरूको संलग्नता देखिएकाले धर्मरक्षाका निम्ति त्यहाँ पुग्दा आक्रमणमा पर्‍यौँ।’

मधेश प्रदेशका ठाउँठाउँमा धर्मरक्षाका नाममा उग्र रूपमा प्रस्तुत हुने हिन्दू सम्राट सेनाले केही दिनअगाडि धरानबाट गई धर्मप्रचार गरिरहेका इसाई दम्पतीलाई कालोमोसो दली जनकपुर बजारमा डुलाएका थिए। यो ‘सेना’ले त्यसको केही दिनअघि धरानकाण्ड चर्किएका बेला जनकपुरमा भेला भई ‘हर्क साम्पाङलाई कारबाही गर, राई-लिम्बु मुर्दावाद’ नारा लगाएको थियो, जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। 

मधेशमा यस्ता साम्प्रदायिक झडप दुई सालयता निकै हुन थालेका छन्, जसको केन्द्रमा हिन्दू सम्राट सेनाजस्तो संस्था देखिन्छ। गएको संघीय निर्वाचनको स्थलगत रिपोर्टिङका क्रममा मैले यस्ता संस्थाले मधेशमा फैलाइरहेको घृणाको राजनीतिलाई नजिकबाट महसुस गरेको थिएँ। त्यतिबेला मलाई मधेश प्रदेश हेर्ने बर्दिबासमा रहेको सशस्त्र प्रहरीको वाहिनीपति गणेश ठाडाले सुनाएको एउटा प्रसंग यहाँ जोड्न चाहन्छु। घटना चुनाव हुनुभन्दा एक वर्षअगाडि दीपावलीको थियो।

राजेश यादव नेतृत्वमा रहेको हिन्दू सम्राट सेनाको संयोजनमा मधेशका विभिन्न ठाउँमा कलश यात्रा आयोजना गरिएको थियो। प्रशासनको अनुमति लिई त्यस्तै कार्यक्रम महोत्तरीको भंगाहा नगरपालिका ८ मा पनि राखिएको थियो। यो संस्थाको चरित्र बुझेको हुनाले प्रशासनले अनुमति लिएर मात्र कलशयात्रा गर्न आदेश जारी गरेको थियो। धार्मिक संवेदनशीलतालाई ध्यान दिई मुसलमानलक्षित कुनै उग्र नारा नलगाउने सर्तमा कलश यात्रा गर्न दिइएको थियो। 

तर भीडले त्यो वाचा पूरा गरेन। भीड उग्र नाराबाजी गर्दै मुस्लिम बस्तीतर्फ अघि बढ्यो। भीड आफूलाई आक्रमण गर्न आएको ठानी मुस्लिम बस्ती प्रत्याक्रमणका निम्ति तम्तयार भयो। नजिकै पुगेको भीडमा मुस्लिम समुदायका मानिसले ढुंगा बर्साउन थाले भने भीडले मुस्लिमको धार्मिक झण्डा च्यात्न थाल्यो। मदरसा र मुस्लिमका घर तोडफोड गरिए। भिडन्तले उग्र रूप लियो। त्यो दंगामा परिणत भयो। प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि प्रशिक्षित सशस्त्र प्रहरीको मधेश प्रदेश हेर्ने वाहिनी खटिनुपरेको थियो। त्यसपछि मधेश प्रदेशको सुरक्षा परिषद्‌को आकस्मिक बैठक बसी दुई पक्षबीच मिलापत्र गराइएको थियो। तर कुरा त्यतिमै सकिएन। भोलिपल्ट बिहान २ बजे केही उद्दण्ड व्यक्तिले मदरसाभित्र सुँगुर हुलिदिए। 

हिन्दूत्व राजनीतिको क्रीडास्थल
भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को रणनीति सन् २०२४ मा हुने चुनाव पनि भारतीय जनता पार्टीलाई जिताउने हुने नै भयो। मधेशसका सांसद र सञ्चारकर्मीहरूको विश्लेषण के छ भने त्यो रणनीति अन्तर्गत आफुलाई फाइदा हुने गरी आरएसएसले भारतसँग सिमाना जोडिएका नेपालका विभिन्न क्षेत्रमा धार्मिक र जातीय दंगा भड्काउन सहयोग गर्न सक्नेछ। 

भारतीय राजनीति राम्ररी बुझेका सर्लाही घर भएका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले यस्तो खतरा रहेको दाबी संसद् तथा सार्वजनिक मञ्चहरूमा गर्दै आएका छन्। 

सिंहले दाबी गर्ने गरेका छन्, ‘आरएसएसले आउँदो चुनावमा उत्तर प्रदेश र बिहारको सिटमा आफ्नो वर्चस्व जमाउन हाम्रो भूमिमा धार्मिक दंगा गराउने र त्यसलाई आफ्नो राजनीतिका निम्ति ‘क्यास गर्ने’ योजनामा काम गरिरहेको छ। दसै‌ँपछि मधेशमा यस्तो झडप र दंगा झन् बढेर जानेछ।’

सिंहको कतिपय दाबी मिलेको पनि देखिन्छ। यो साल धार्मिक झडप मोहर्रम, रामनवमी हुँदै कृष्ण जन्माष्टमीसम्म आइपुगेको छ। नजिकै छठ र त्यसलगत्तै दसहरा र दीपावली पर्व आउँदै छन्। मधेशका जनप्रतिनिधि र भारत बुझेका अध्येताले औँल्याइरहेको सन्निकट संकटमा ध्यान नदिने हो भने आउँदा दिन आरएसएस प्रवर्द्धित हिन्दूत्व राजनीति मधेशका निम्ति कष्टकर हुने निश्चितप्राय: देखिन्छ।

दक्षिण एसियाली राजनीतिलाई नजिकबाट अध्ययन गरिरहेका सञ्चारकर्मी कनकमणि दीक्षितले आरएएसको यस्तो ‘गेम प्लान’लाई ‘क्लियर एन्ड प्रिजेन्ट डेन्जर‘ अर्थात् प्रत्यक्ष र विद्यमान खतराका रूपमा विश्लेषण गर्दै खुला सिमानाबाट छिरिरहेको यस्तो विषाक्त राजनीतिलाई समयमै रोक्न नसक्ने हो भने बित्याँस पार्ने बताइरहेका छन्।

अहिलेसम्म साम्प्रदायिक सद्‌भाव नबिथोलिएको बहुसांस्कृतिक समाज धरानमा दुई साताअघि हिन्दू-इसाईबीच बाहिरका कट्टरपन्थीहरूले धार्मिक वितण्डा गराउन रचेको कुत्सित मनसाय प्रत्यक्ष देखेको थिएँ। तर तिनको त्यस्तो कलुषित योजना धरानका नागरिक समाज, राजनीतिक दल र समुदाय एक भएर विफल तुल्याइदिए (हेर्नुहोस् स्थलगत रिपोर्ट)। 

तर मलंगवामा त्यस्तो सत्प्रयत्न सफल हुन सकेन। मलंगवामा दंगा भड्किएपछि निवर्तमान राष्ट्रपतिका सल्लाहकार टीका ढकालले प्रधानमन्त्रीलाई कटाक्ष गर्दै ट्विट गरेका छन्, ‘धरानमा हुन हुन खोज्यो, बालबाल हुन पाएन। तर, मलंगवामा भइहाल्यो हिजो (शुक्रबार) र आज (शनिबार)। निरोले रोममा पाएको बाँसुरी अब यूएन र चाइना पुगेर बजाउने तयारी छ। यता आफैँले झोसेको आगो निभे सरकारको सफलता, फैलिए कांग्रेस सभापति दम्पतीको जिम्मा! सरकार चलाउन अरुले पनि सिक्ने कि?’

माओवादीका मलंगवा नगर अध्यक्ष लक्ष्मी नारायण चौधरीका भनाइमा शुक्रबार र शनिबार मलंगवामा दंगा फैलाउने कार्यमा हिन्दू सम्राट सेनाका कार्यकर्ता संलग्न छन्।

हिन्दू सम्राट केन्द्रीय उपाध्यक्ष कृष्ण यादव सर्लाहीकै खुटौनावासी हुन्। यादवले साम्प्रदायिक दंगा गराउन नेपालसँग सीमा जोडिएको बिहारको सीतामढीबाट समेत मान्छेहरू ल्याएको स्थानीहरूको दाबी छ। 

मलंगवा एक राजनीतिक कार्यकर्ता भन्छन्, ‘मूर्ति सेलाउँदा यसअघि कहिल्यै यसरी झगडा हुन्थेन। यसपालि यो सबै नियोजित रूपमा गरिएको छ। कृष्ण यादवहरू आर्थिक सहयोग लिएरै परिचालन भएको जस्तो देखिन्छ।’

भारतको बिहार राज्यसँग ६२ लाखभन्दा बढी जनसंख्या भएको र ४६९ किलोमिटर लामो मधेश प्रदेशका ८ जिल्ला समेटिने खुला सिमाना जनघनत्वका हिसाबले निकै संवेदनशील क्षेत्र मानिन्छ। त्यहाँ हुने सानो झडपले पनि तत्कालै डरलाग्दो स्वरूप धारण गर्ने गौर हत्याकाण्डजस्ता घटनाले देखाइसकेका छन्। त्यसमाथि सामाजिक सञ्जालले तत्कालै फैलाउनसक्ने विषाक्त भावनाको संवेदनशीलता थपिदिएको छ। सामाजिक सञ्जालको यस्तो दुरुपयोग मलंगवा प्रकरणमा पनि देखिएको छ।

नेपालखबरसँग आइतबार बिहान कुरा गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘एउटा समूह हिंसा फैलाउन सामाजिक सञ्जालमा अर्कै ठाउँमा भएका घटनाका भिडिओ क्लिप्स सेयर गर्दै उत्तेजना फैलाउन सक्रिय देखियो।’

मधेशमा पछिल्लो समय धर्मका नाममा एउटै पोसाक लगाएर प्रदर्शन गर्न थालिएको छ। त्यस्ता प्रदर्शनकारीमध्येका उग्र जमातले जनकपुर मन्दिर पछाडि रहेको मस्जिद भत्काउनुपर्छ भन्दै बखेडा गर्न थालेको धेरै भएको छैन, जबकि त्यो पनि जानकी मन्दिर हाराहारीमै बनेको बताइन्छ। समग्र जनसांख्यिक रूपले अल्पसंख्यक भए पनि मधेश प्रदेशमा मुसलमानको जनसंख्या सानो छैन।

धरानमा अर्काे अल्पसंख्यक धार्मिक समुदायविरुद्ध घृणा फैलाई हिन्दू आस्थावान्‌हरूको भावनासँग खेल्ने दाउ पनि तत्काललाई असफल भएको छ, तर खतरा अझै टरेको छैन (हेर्नुहोस् अन्तर्वार्ता)। 

मलंगवामा पनि दंगा फैलाउने केही व्यक्तिलाई पक्राउ गरी निषेधाज्ञा हटाइए पनि खतरा अझै नटरेको स्थानीय बताउँछन्। स्थानीय प्रशासक यादवका भनाइमा उनीहरूलाई छुटाउन नाराबाजी हुनसक्ने हुनाले सुरक्षा व्यवस्था थप कडा पारिएको छ। तर मलंगवा अझै सन्त्रासमुक्त हुन सकेको छैन।

एक स्थानीय भन्छन्, ‘कतिखेर के हुन्छ भन्न सकिने अवस्था छैन।’

यो सबै हेर्दा भारतसँग खुला सिमाना जोडिएका भूभागमा अहिले जेजस्ता गतिविधि भइरहेका छन्, ती हाम्रो सार्वभौमसत्ता, राजनीति र समग्र समाजका निम्ति स्वस्थकर होइनन् भन्ने तथ्य बुझ्न र बुझाउन जरुरी भइसकेको छ। नत्र यसले निराशामा गइरहेको समाजलाई भयानक दुर्घटनामा लैजाने खतरा छ।

यस्तो अन्ध र विषाक्त राजनीतिले हाम्रो बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय धरोहरलाई ध्वस्त बनाउने हुँदा नागरिक समाज र सञ्चार जगत्‌ले राजनीतिक नेतृत्वलाई  आफ्नो सत्ता बचाउन भारतमा जस्तो ‘धर्म राजनीति’ अँगाल्नबाट बचाउने वातावरण सिर्जना गर्न ढिला भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .