राजनीति


केन्द्रमा हार भोगिरहेका ढुंगेललाई फेरि फाप्यो प्रदेश, बालकोट नै लागेको थियो जिताउन

प्रतिनिधिसभाको टिकट खोसिएका दाहाल फेरि निराश
केन्द्रमा हार भोगिरहेका ढुंगेललाई फेरि फाप्यो प्रदेश, बालकोट नै लागेको थियो जिताउन

फाइल तस्बिर


सुनिता विष्ट
असोज १३, २०८० शनिबार ०:२६, हेटौंडा

नेकपा एमाले बागमती प्रदेश कमिटीले शुक्रबार सम्पन्न पहिलो अधिवेशनबा नयाँ नेतृत्व पाएको छ। 

रामेछापका कैलाश ढुंगेल प्रदेश अध्यक्षमा मा विजयी भएका छन्। ढुंगेल विजयी हुँदा मकवानपुरका कृष्णप्रसाद दाहाल पराजित भए। बिहीबारसम्म दाहालको पक्षमा देखिएको माहोल रातारात बदलिँदा ढुंगेलले बाजी मारे। 

ढुंगेलले ६९६ मत ल्याउँदा पराजित भएका दाहालले ४३९ मतमा चित्त बुझाए।

बागमती प्रदेश सरकारको अघिल्लो कार्यकालमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका ढुंगेललाई बालकोट (अध्यक्ष केपी शर्मा ओली) ले सर्वसम्मत अध्यक्ष बनाउन चाहेका थिए।

तर, कार्यकताहरु चुनावमै जाने मुडमा देखिएपछि ओलीको चाहनाले फेल खायो। ढुंगेललाई अध्यक्ष बनाउन ओलीनिकट पोलिट्व्यूरो सदस्य महेश बस्नेतसहितका नेताहरु खुलेर लागेका थिए। 

सातै प्रदेशमा पहिलो अधिवेशन चल्दै गर्दा अध्यक्ष ओली आफूले रोजेकै व्यक्ति सर्वसम्मतिमा ल्याउने योजनामा थिए। उनले लुम्बिनी, कर्णाली र कोशीमामेत सर्वसम्मत नेतृत्वको रटान लगाइरहे। तर कार्यकर्ताले प्रतिस्पर्धाबाट नेतृत्व चुन्ने बाटो रोजे। 

कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल

लुम्बिनी प्रदेशबाट सुरु भएको अधिवेशन बागमतीसम्म आइपुग्दा अवस्था ओलीले सोचेजस्तो भएन। बागमतीमा ओलीले चाहेको नभए पनि बाालकोटकै योजनाका अध्यक्ष भने निर्वाचित भए। 

सोमबारदेखि सुरु भएको बागमतीको अधिवेशन सर्वसहमतिको विकल्प खोज्दा खोज्दै तीन दिन बितेको थियो। 

यी तीन दिनमा उम्मेदवारहरुको संख्या घटाउनेदेखि फिर्ता गराउने अनेक प्रयास भए। बिहीबार राति ९ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी फिर्ताको अन्तिम समय तोकेको थियो। 

उक्त समयसम्म पनि ओली लगायत उनीनिकटका नेताहरु मकवानपुरका दाहालको उम्मेदवारी फिर्ता गराउने प्रयासमा जुटिरहेका थिए। तर दाहालले कुनै हालतमा निर्वाचनमा होमिने निष्कर्ष सुनाएपछि अन्तिम विकल्पमा मतदान भएको हो। 

गत मंसिरको आमनिर्वाचनमा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ को टिकट नपाएका दाहाल ओलीसँग रुष्ट थिए। ओलीले दाहालको टिकट खोसे राप्रपा नेपालका कमल थापालाई दिएका थिए। तर ओलीले विश्वास गरेका थापा पनि पराजित भए। जहाँ राप्रपाका दीपक सिंहले बाजी मारे।

यसअघि ओलीको बलियो विश्वासपात्र मानिने दाहाल त्यही बेलादेखि बालकोटले नरुचाएको नेतामा पर्छन्। जसकारण ओलीले ढुंगेललाई बागमतीको नेतृत्व सुम्पिने तयारी गरेका स्रोत बताउँछ।

ढुंगेललाई फापेको प्रदेश
एमालेको बागमती प्रदेश अध्यक्षमा निर्वाचित ढुंगेल पराजित भइरहने नेताका रुपमा चिनिन्छिन्। 

प्रतिनिधि सभा र संविधान सभाको निर्वाचनमा चार पटक टिकट पाए पनि विजयी हुन सकेनन्। तर प्रदेश भने ढुंगेललाई फापेको छ। 

२०७४ सालको आम निर्वाचनमा रामेछापको प्रदेशतर्फको क्षेत्र नं २ बाट उनले पहिलो पटक निर्वाचनमा सफलता हात पारेका थिए।

तत्कालीन निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवार जीतबहादुर मगरलाई १२ हजारभन्दा बढी मतान्तरले हराएका थिए।

वाम गठबन्धनबाट २०७४ मा प्रदेशसभा तय गरेका उनी एमाले–माओवादीको गठबन्धन सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए।

प्रतिनिधि सभामा भने तीनपटक उम्मेदवार बनेका उनी लगातार हारिरहे। ढुंगेल ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधि निर्वाचनमा कांग्रेसका पूर्णबहादुर तामाङसँग १६ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .