ad ad

राजनीति


रुकुम पुगेर प्रधानमन्त्री प्रचण्डले भने : माओवादी कमजोर हुनुमा विचार संश्लेषण छोड्नु पनि हो

रुकुम पुगेर प्रधानमन्त्री प्रचण्डले भने : माओवादी कमजोर हुनुमा विचार संश्लेषण छोड्नु पनि हो

नेपालखबर
कात्तिक ९, २०८० बिहिबार १८:८, काठमाडौँ

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी विशेष महाधिवेशनबाट पार्टीमा नयाँ विचार संश्लेषण गरिने बताएका छन्।

बिहीबार रूकुमको बाफिकोटमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हिजो जनयुद्धको बेला हामीले विचार संश्लेषण गर्यौं, त्यसले पार्टीलाई केन्द्रीकृत गर्यो, विचारमा एकरूपता कायम भयो, संगठनमा एकतासहित गति हासिल भयो। पछिल्लोसमय हामीले विचार संश्लेषणलाई महत्त्व दिन सकेनौं, त्यसले पार्टी विकेन्द्रितजस्तो, विचार र संगठनमा अनेकताजस्तो भएको छ। आगामी विशेष महाधिवेशनमा यो त्रुटिपूर्ण हामी सच्चाउँछौं। नयाँ आधारमा विचार संश्लेषण गर्छौं।’

उनले आफूहरु रूपान्तरणको प्रक्रियामा रहेको भन्दै माओवादी फेरि सच्चिन थालेको जनअभिमत रहेको र यसकै बलमा सुदृढ पार्टी बनाउने बताए।

माओवादी बलियो भएन भने परिवर्तनका मुद्दा नै अप्ठ्यारोमा पर्न सक्ने उनले बताए।

उनले पार्टी कमजोर हुनुमा विचार संश्लेषण छोड्नु पनि एक रहेको स्वीकार गरे।

‘हामी कमजोर हुनुमा विचार संश्लेषण छोड्नु पनि एक हो। हामी कमजोर हुँदै जाँदा प्रतिक्रियावादीहरू बलियाजस्ता देखिए’ उनले भने, ‘पार्टी कमजोर हुँदा परिवर्तन कमजोर हुन्छ।’

रूस–युक्रेन, इजरायल–हमास युद्धले तेस्रो विश्वयुद्ध हुनसक्ने खतरा उनले औँल्याए। यसलाई गम्भीरतापूर्वक बुझ्नुपर्ने र नेपालले कुटनीतिक सन्तुलन र असंलग्नतामा जोड दिनुपर्ने उनले बताए।

प्रधानमन्त्री प्रचण्डले जनताको दुःखसुखमा ध्यान दिन र विकास निर्माणका काममा प्राथमिकता दिन कार्यकर्तालाई निर्देशन दिए।

यो अभियान सकिएपछि अर्को अभियानमा गएर महाधिवेशनमा गर्ने उनको भनाई थियो।

प्रधानमन्त्री प्रचण्डले आफू जति दिन प्रधानमन्त्रीको कुर्सीमा रहेपनि राम्रो काम मात्रै गर्ने दाहोर्याए।

‘जति दिन प्रधानमन्त्रीको कुर्सीमा रहन्छु, त्यति दिन राम्रो मात्रै गर्छु। जनताको हित र स्वार्थका लागि मात्रै काम गर्छु’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .