राजनीति


कांग्रेसको इतर समूहमा बढ्यो दरार, शेखरसँग टाढिँदै गगन

गगनलाई मनाउन सारियो भेला, विश्वप्रकाशलाई गएन निम्तो
कांग्रेसको इतर समूहमा बढ्यो दरार, शेखरसँग टाढिँदै गगन

उजिर कार्की
मंसिर २५, २०८० सोमबार २३:२, काठमाडौँ

गत वर्ष पुस ५ गते महामन्त्री गगन थापाले कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिँदा शेखर कोइराला र विश्वप्रकाश शर्मा उनको साथमा खडा भएका थिए। यससँगै महामन्त्री शर्मा पनि शेखर कोइराला समूहमा खुलेको आकलन गरिएको थियो। 

तर, त्यतिबेला गगनको समर्थनमा उभिएका विश्वप्रकाश त्यसयता शेखर कोइराला नेतृत्वको संस्थापन इतर समूहका जमघटमा कहिल्यै देखिएनन्। बरु, गगन पनि कोइरालाबाट टाढिन थालेका छन्।   

सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा एक भएका शेखर–गगन एक वर्ष नबित्दै फरक–फरक गुटको अभ्यासमा लागेको संकेत देखिन थालेका छन्। 

उसो त, संसदीय दलको चुनावदेखि नै शेखर–गगन समूहमा अविश्वासको बीजारोपण भएको थियो। त्यसबेला यो समूहसँग ३२ भोट थियो। तर गगनले आफ्नै समूहको भोट पनि पाएनन्। यो समूहको ५ भोट देउवालाई गएको थियो। 

त्यसपछि सरकार गठनका बेला मन्त्री छान्दा शेखर–गगन दुरी अझै बढ्न पुगेको थियो। किनभने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री पठाउँदा शेखरले देउवासँग एक्लै भागबण्डा गरेका थिए। जसका कारण गगन थापाले चाहेका एक जना पनि मन्त्री बन्न पाएनन्।

त्यसपछि विश्वप्रकाश र गगन दुवै शेखरसँग टाढिँदै गए। १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वमा चुनाव लडेर महामन्त्री बनेका गगन संसदीय दलको नेतामा आफैँ अघि बढेपछि शेखर उनीसँग बिच्किएको कांग्रेस नेताहरु बताउँछन्। संस्थापनइतरको नेतृत्व हातमा लिने गगनको प्रयासले आफू पाखा लाग्ने डर शेखरलाई परेको उनीहरुको भनाइ छ।

दुई नेताबीचको मतान्तर कोशी प्रदेश सरकार गठनमा पनि देखियो। गगनसँग छलफल नै नगरी शेखरले आफ्नो समूहका प्रदेश सांसद केदार कार्कीलाई विद्रोह गराए र विपक्षी एमालेसँगको सहकार्यमा मुख्यमन्त्रीको उम्मेदवार बनाए। 

पछि कांग्रेस एक भयो। सत्ता गठबन्धनको पनि साथ केदार कार्कीलाई प्राप्त भयो तर गगनले भने सार्वजनिक रुपमै शेखरको निर्णयको आलोचना गरे। देउवा र शेखर दुवैले गलत गरेको टिप्पणी गगनले गरेका थिए। 

गगन र शेखरबीच दुरी बढ्दै जाँदा शेखरले मंगलबार आफ्नो गुटको भेला बोलाएका थिए। गगनसँग सल्लाह नै नगरी बैठक बोलाएपछि उक्त समूहमा खैलाबैला मच्चिएको छ। समूह विभाजनको डिलमा पुगेको भन्दै नेताहरुले दबाब दिएपछि शेखरले बैठक सारेका छन्।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबारका लागि सारिएको छ। मंगलबारको बैठकमा गगन थापा अनुपस्थित हुने भएपछि बैठक सारिएको शेखरनिकट एक नेताले बताए।

‘उहाँलाई खबर भइसकेको छ। आउँदिन भन्नुभएको छैन,’ ती नेताले भने, ‘गगन थापा पनि आउनेमा शेखर दाइ विश्वस्त हुनुहुन्छ। बाहिर हल्ला चलेजस्तो होइन भन्नु भएको छ।’

बैठकमा शेखर–गगन समूहका केन्द्रीय सदस्य, सांसद, पार्टीका प्रदेश सभापति र सभापतिका उम्मेदवारलाई बोलाइएको छ। तर महामन्त्री विश्वप्रकाश शर्मालाई भने बोलाइएको छैन। यसअघि पटक–पटक बोलाउँदा पनि बैठकमा नआएकाले विश्वप्रकाश शर्मालाई खबर नगरिएको शेखरको सचिवालयका एक सदस्यले बताए। 

‘यसअघि पटक पटक बोलाउँदा आउनु भएन, त्यही भएर यसपटक खबर गरिएको छैन,’ उनले भने।

शेखर पक्षका नेता जगदीशनरसिंह केसीले पनि विश्वप्रकाशलाई नबोलाइएको पुष्टि गरे।

‘यो १४ औं महाधिवेशनमा बनेको शेखर समूहको बैठक हो। त्यही भएर उहाँलाई नबोलाइएको हो। उहाँ त्यतिबेला अर्कै समूहबाट चुनाव लड्नु भएको थियो,’ केसीले सोमबार साँझ नेपालखबरसँग भने।  

बैठकमा एजेन्डा नभनिए पनि महासमितिको बैठक र राष्ट्रिय सभाको चुनावको तयारीका विषयमा छलफल हुने केसीले बताए। 

२९ गते कांग्रेसको सम्पादन समितिको बैठक बोलाइएको छ। पुस १६ देखि १९ का लागि महासमिति बैठक तय छ। राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ।

सभापति देउवाले महासमिति बैठक सार्ने बताइरहेका बेला शेखरले भने सार्न नदिन दबाब सिर्जना गर्ने उदेश्यले यो भेला बोलाएका हुन्। तर गगनसँगको दुरीका कारण उनी बैठक सार्न बाध्य भएका छन्।

‘गगन थापासँग पनि सल्लाह गरेर उहाँ पनि काठमाडौंमै भएको बेला यो बैठक बोलाउन पर्थ्यो। सल्लाह लिएर नै बोलाएको हुनुपर्छ भन्ने मलाई लाग्छ। सल्लाह नलिई बोलाएको हो भने अलिकति अप्ठेरो देखिन्छ,’ केन्द्रीय सदस्य केसीले भने। 

केसीले यसअघि रुपान्तरण अभियानले राष्ट्रिय सभागृहमा कार्यक्रम गर्दा पनि शेखर कोइराला उनुपस्थित भएको भन्दै असन्तुष्टि जनाए। 

‘त्यतिबेला शेखर कोइराला विभिन्न कारणले अनुपस्थित हुनुभयो, अहिले महामन्त्री आउनु भएन भने समूह फुट्यो नै त भन्ने भएन तर समूह फुटाउनका लागि पार्टीको संस्थापन पक्ष युद्धस्तरमा लागेको छ। हामीले रुपान्तरण अभियानको कार्यक्रम गर्दा पनि दुई जनामध्ये एक जना त्यो कार्यक्रममा नजाऊन् भन्ने संस्थापन पक्षको धारणा थियो, नभन्दै शेखर कोइराला आउनु भएन,’ केसीले भने। 

महामन्त्री गगन थापानिकट एक सांसदले इमानदारी नहुने हो भने एउटा समूह भन्नुको कुनै अर्थ नहुने बताए।

‘आफू कसरी शक्तिमा पुग्न सकिन्छ, कसरी मन्त्री बन्न सकिन्छ, केन्द्रीय सदस्य कसरी बन्न सकिन्छ भन्ने मात्रै हो र भोलि अर्को लड्दा समूहकै अर्कोले भोट नहाल्ने हो भने टिम किन चाहियो र?’ ती सांसदले भने।

समूहबाट आएको निर्णय सबैले स्वीकार गर्नुपर्ने भन्दै संसदीय दलको चुनावको वैमनश्य मेटाएर १५ औं महाधिवेशनमा प्रवेश गर्नुपर्ने उनी बताउँछन्।

राष्ट्रिय सभाको निर्वाचनमा पनि देउवाले आफ्नो पक्षलाई पाखा लगाउन सक्ने भन्दै त्यसविरुद्ध तयारी गर्ने शेखर समूहको योजना छ। राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्न मापदण्ड तोकिनुपर्ने शेखर समूहको माग छ। 

‘निर्वाचनमा भाग लिएर पराजित र आउटडेटेड मान्छेलाई राष्ट्रिय सभामा ल्याउनु हुँदैन। त्यसका लागि हामी आवाज उठाउँछौँ,’ केसीले भने।

बुधबार बैठक सार्दा पनि गगन थापा सहभागी नभए यो समूह कमजोर बन्ने उनले बताए। 

‘सभापति लडे उहाँहरु नै लड्ने हो। हामी अहिले सभापति लड्ने होइन। पार्टीको समूह बचोस् र एक भएर अगाडि बढोस् भन्ने हाम्रो चाहना हो,’ केसीले भने, ‘तर सभापति हुन खोज्ने मान्छे नै एक हुन चाहनु हुन्न भने हामीले राम बोल्ने हो, काँध हाल्न सक्दैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .