राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लाख लाखको बिटो बोक्नेहरूलाई आफूहरूले उम्मेदवार नबनाउने बताएका छन्।
स्याङ्जाको भीरकोट नगरपालिकामा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यसो भनेका हुन्।
‘घिनलाग्दो खेल खेलेर चुनाव जित्ने रणनीतिमा हामी लाग्दैनौँ। नोटको बिटो बोकेर हिँड्ने, विदेशमा भएकाहरूको नाममा भोट हाल्ने, परलोक भइसकेका मान्छेको नाम खोजेर हिँड्ने, वडा र टोल टोललाई लाखको बिटो बाँडेर हिँड्नेलाई रास्वापाले उम्मेदवार बनाउँदैन’, उनले भने, ‘हामी त्यसरी चुनाव जित्न चाहँदैनौँ।’
लामिछानेले पुराना दलका कारण युवाहरू विदेशिन बाध्य भएको आरोप पनि लगाए
‘हामी मिसन ०८४ मा छौँ। व्यक्तिगत लाभका लागि नेता छान्ने होइन। तपाईंहरूले योग्य मान्छे छानेर पठाउने हो’, उनले भने, ‘यहाँबाट चुनाव जितेका नेताहरूको सात पुस्ताले जिते पनि तपाईंहरूको साता पुस्ताले हार्नुभयो। हामी निरन्तर हार्यौँ। त्यसको नतिजा विमानस्थलबाट दिनदिनै बाहिरिनेको ताँतीले बतायो। यो जनताले हारेको हो।’
सभापति लामिछानेले हरेक ठेक्कामा आफन्तवाद, नातावाद र कृपावाद नेताका छोरा छोरी नातानातिनाको दबदबा रहेको बताए।
‘जो हिजो चप्पल पड्काएर आएका थिए, तिनीहरूको पाँच तारे होटेलमा ठुला व्यापारीले झैँ विवाह, व्रतबन्ध भोज भतेर भइरहेको छ’, उनले भने, ‘जनता आफ्नो उपचारका लागि घरबार बेच्न बाध्य छन्। छोराछोरी विदेश पठाउनु परेको छ। यही हो जनता हारेको चुनावी परिणाम। यति भइसक्दा पनि हाम्रो चेत खुलेन।’
रास्वपामा युवा र राम्रो नेतृत्व रहेकाले काम गर्न सक्ने उनको भनाइ छ। ‘तिनले वषौँदेखि कति तलब थाप्छन्, मैले अहिले ८/९ महिनामा थाहा पाइसकेको छु’, लामिछानेले भने, ‘त्यति तलबले केही हुँदैन, तर तिनको महल कसरी ठडियो म आश्चर्यचकित छु। मैले तिनीहरूको हिसाब निकाल्ने अठोट गरेर आएको छु।’
Shares
प्रतिक्रिया