ad ad

राजनीति


त्यो एजेन्डा हिक्मत कार्कीको हो, म सधैं बोकिरहन्छु : मुख्यमन्त्री कार्की (अन्तर्वार्ता)

‘मन्त्री नबनाएका कारण सरकारको इन्धन, मन्त्रीको तलब बच्यो, के नराम्रो भयो?’
त्यो एजेन्डा हिक्मत कार्कीको हो, म सधैं बोकिरहन्छु : मुख्यमन्त्री कार्की (अन्तर्वार्ता)

उजिर कार्की
माघ २, २०८० मंगलबार २२:५, काठमाडौँ

नेपाली कांग्रेसबाट विद्रोह गरेर केदार कार्की मुख्यमन्त्री नियुक्त भएको सय दिन पूरा हुन लाग्यो। गत असोज २७ गते उनी एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

सुरुमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारेका सत्ता गठबन्धनका दलले उनी पक्षको विद्रोहका कारण बहुमत जुटाउन सकेनन्। पछि उनै कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरे र विश्वासको मत पनि दिए।

उनी मुख्यमन्त्री बनेसँगै विघटनको डिलमा पुगेको कोशी प्रदेश सभा त जोगियो तर उनले भने सय दिन पुग्न लाग्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन्। 

मुख्यमन्त्रीमा उनले विश्वासको मत लिँदा पक्षमा ८६ र विपक्षमा ५ मत मात्रै परेको थियो। आफूलाई मुख्यमन्त्री बनाउने एमालेलाई सुरुमा उनले सरकारमा सामेल गराएका थिए। तर, अहिले एमालेले सरकार छाडिसकेको छ।

यद्यपि, एमालेले समर्थन फिर्ता लिएको छैन। यसबाट पुष्टि हुन्छ कि एमालेसँग उनको निकटता टुटिसकेको छैन। जसले केन्द्रीय सत्ता गठबन्धनमा शंका कायमै राखेको छ। 

आगामी साता राष्ट्रिय सभाको निर्वाचनमा कोशीबाट दुईजना चुनिँदै छन्। तीमध्ये ‘अन्य’ समूहबाट उम्मेदवार बनेका कांग्रेसकै कृष्णप्रसाद सिटौला सर्वाधिक चासोमा छन्।

सिटौला कार्कीले प्रतिनिधित्व गर्ने समूहका नेता होइनन्। त्यसैले गठबन्धन उम्मेदवारप्रति मुख्यमन्त्री कार्कीको समूहको भूमिका कस्तो रहला? अनि केही दिनअघि भएको निर्वाचनमा सत्ता गठबन्धनबाहिरको राप्रपालाई सभामुख किन सुम्पिनुपर्‍यो? 

यिनै प्रश्नको वरिपरि रहेर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँगको संवादः

तपाईँ मुख्यमन्त्री नियुक्त भएको सय दिन हुन लाग्यो। यो सय दिनमा के गर्नुभयो?
उपलब्धि धेरै भएका छन्। सरर...भन्न गाह्रो पनि हुन्छ। आउनेबित्तिकै मैले बजेटलाई प्रतिस्थापन गर्नुपर्ने थियो, जुन सबैभन्दा झन्झटिलो र अप्ठेरो थियो।

प्रतिस्थापन विधेयकमार्फत् बजेट ल्याउनैपर्यो। विधेयक ल्याउन मात्रै होइन, प्रदेशस्तरीय बनाउन पनि अझ गाह्रो थियो। किनभने, पहिले नै सार्वजनिक भइसकेको बजेटलाई काटेर ल्याउनु सामान्य कुरा थिएन। तर संघलाई समेत कुरीकुरी र खबरदारी गर्ने गरी हामीले प्रतिस्थापन विधेयक ल्यायौं।

संसदप्रति सरकारलाई जिम्मेवार बनाउनलाई शून्य समय र विशेष समयमा उठेका प्रश्नलाई त्यहीँ सदनमा गएर मन्त्रीले जवाफ दिने वातावरण पनि हामीले तयार गर्‍यौं। संसदले ५ वटा विधेयक पास गर्‍यो। प्रदेश निजामती सेवा ऐन, स्थानीय र कर्मचारी प्रशासन ऐन पनि हामीले पास गर्‍यौँ। यो पनि सितिमिति कुरा थिएन। लामो समयदेखि अड्किएको र संसदको गतिरोध नै जस्तो भएर बसेको थियो।

लोक सेवा आयोगलाई चलायमान बनाउने काम पनि गर्‍यौँ। प्रदेश प्रहरी ऐन सहज रूपमा कार्यन्वयन गर्ने अवस्था बनाउन हामी जुटिरहेका छौं। १० वर्षमुनिका बालकालिकाको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयनमा ल्याउने तयारीमा छौं। ५ महिनादेखि प्रदेश सभा सभामुखविहीन थियो। त्यसमा पनि सहजरूपले लिँदै लिन्न भनेको राप्रपालाई लिने वातावरण बनाएर सर्वसम्मत चुन्यौं। 

कोशी प्रदेश सभा विघटनको मुखमा पुगेको बेलामा तपाईँ अप्ठेरो गरी मुख्यमन्त्री नियुक्त हुनुभयो। त्यसका लागि पार्टीभित्रै विद्रोहसमेत गर्नुभयो। तर पछि गठबन्धनका सबै सांसदले विश्वासको मत दिए। सबैको मुख्यमन्त्री बनिरहँदा काम गर्न सहज भयो कि अप्ठेरो?
सबैको समर्थन पाउँदा काम गर्नलाई सजिलो पनि हुन्छ, अप्ठेरो पनि। सजिलो यस मानेमा कि मलाई सबैले समर्थन गर्नुभएको छ भनेर एउटा आँट हुन्छ। तर, सबैको इच्छा–चाहना पूरा गर्न अप्ठेरो पनि हुन्छ। टुक्राटाक्री इच्छा–चाहना आइदियो भने अप्ठेरो हुन्छ। थोरै स्रोतमा व्यवस्थापन गर्न कठिन हुन सक्छ। तर असहजलाई कसरी सहज बनाउने भन्ने त मुख्यमन्त्रीको व्यवस्थापनको कुरा हो। 

सय दिन पूरा हुँदा पनि सरकार विस्तार गर्न सक्नुभएन। बरु तपाईँलाई मुख्यमन्त्री बनाउने दल नै सरकारबाट बाहिरियो। मन्त्रिमण्डललाई पूर्णता दिन तपाईँलाई किन समस्या भयो?
सरकार विस्तार भनेको मुख्यमन्त्रीको आवश्यकताअनुसार गर्ने कुरा हो। काम गरेन, भ्रष्टाचार गर्‍यो, ढिलासुस्ती भयो, मन्त्री नभएका कारण कुनै रोकियो भने डर मान्नुपर्छ। तर, मन्त्री बनाएन, मन्त्री नबनाएका कारण सरकारको इन्धन बच्यो, मन्त्रीको तलब बच्यो, मन्त्रीको सचिवालयमा नियुक्त हुने कर्मचारीको तलब बच्यो, त्यो रकमले काम हुने भयो भन्ने कुरा आयो भने त त्यो राम्रो कुरा हो नि।

एकातिर मन्त्रीचाहिँ थोरै बनाउनुपर्छ भनेर कराउने, लेख्ने। अनि अर्कोतिरचाहिँ मन्त्री बनाएन, थोरैले मात्रै चलायो भनेर आलोचना गर्ने कुराचाहिँ नकारात्मक हो।

सानो मन्त्रिमण्डलबाट पनि यति धेरै व्यवस्थापन गरेर राम्रो काम गर्दै छ, यति सजिलैसँग संसद फेस गर्दै छ भने त्योचाहिँ ठूलो कुरा हो। मन्त्री बनाएन, कार्यकर्तालाई तलब खुवाएन, झण्डावाल गाडी धेरै कुदाएन भन्ने कुरा राम्रो होइन। 

मन्त्रीको खर्च त बच्यो होला तर काम गर्नचाहिँ कतिको गाह्रो छ?
सानो मन्त्रिमण्डल भए पनि राम्रै काम भइरहेको छ। मलाई असहज छैन। त्यही भएर त मन्त्रिमण्डल हतारहतार बिस्तार नगरिहालेको।

तपाईँ सर्वदलीय सरकार बनाउँछु भन्नुहुन्थ्यो। त्यसका लागि के भइरहेको छ त?
त्यो मेरो प्रयास सधैं रहिरहन्छ। खासमा यो अघिल्ला मुख्यमन्त्री हिक्मत कार्कीको एजेन्डा हो। त्यसलाई म जहिल्यै बोकिरहन्छु। किनभने, मलाई मुख्यमन्त्री उहाँले बनाउनुभएको हो। उहाँले मलाई आफ्ना दलका सबै सांसदलाई उपस्थित गराएर विश्वासको मत दिनुभएको छ। सर्वदलीय सरकार उहाँको एजेन्डा हो, त्यो एजेन्डालाई म सधैं बोकिरहन्छु। 

सरकारमा ल्याउन एमालेसँग पटकपटक छलफल पनि गर्नुभएको थियो। के नमिलेको हो?
हाम्रो मिलेको कुरा भनेको प्रदेशलाई समृद्ध बनाउने भन्नेमा हो। मन्त्रिमण्डल बनाउने कुरामा चाहिँ तलमाथि भइरहन्छ। यसमा छलफल निरन्तर गरिरहन्छु। 

एमाले मन्त्रीको संख्यामा कुरा नमिलेर नआएको कि केन्द्रीय गठबन्धनतिर ढल्किनुभयो भनेर?
एमाले किन सरकारमा रहेन, उसैलाई थाहा होला। तर, छलफलमा भएका कतिपय कुरा बाहिर ल्याइहाल्न पनि मिल्दैन। यति भन्न सक्छु, उहाँहरूसँग मेरो निरन्तर छलफल चलिरहेको छ।

सरकारबाट बाहिरिसकेपछिको एमालेको सहयोग कस्तो छ?  
अस्ति सभामुख चयनमा हाम्रो सहमति देखिहाल्नुभयो। सभामुखमा एकै ठाउँमा उभियौं। बजेटमा एकमत भयौं। विधेयकहरूमा एउटै मत भयो। भइहाल्यो त। कालो चिया पनि गिलासमा हाल्दा रक्सीजस्तै देखिन्छ तर लाग्दैन। एमाले र हाम्रो सम्बन्ध पनि बाहिरबाट देखेजस्तो होइन। 

केन्द्रको निर्णयविरुद्ध जानुभयो भनेर तपाईँसँग पार्टीको संस्थापन पक्ष नै असन्तुष्ट थियो। अहिले पार्टी संस्थापनको दृष्टिकोण र भूमिका कस्तो पाउनुभएको छ? 
पार्टीबाट कहाँ असहयोग हुनु? उहाँहरू सबैले विश्वासको मत दिनुभयो नि, असन्तुष्टि त्यहीँ सकियो। प्रदेशमा सबैले विश्वासको मत दिएपछि कुरा सकिगो। केन्द्रको कुरा त केन्द्रले प्रदेशमा हस्तेक्षप गर्नुहुँदैन, हामी आफैं सक्षम छौं भनेर माननीयहरूले मुख्यमन्त्री बनाएपछि उहाँहरूले के भन्नुहुन्छ? सहयोग गर्नुहुन्छ कि हुँदैन भनेर सरकार बनाएको हो र?

प्रदेशको नामकरण विवाद कसरी निरुपण गर्नुहुन्छ?
हरेक समस्याको निरुपण गर्नकै लागि म मुख्यमन्त्री भएको हो। अरूले ल्याएको समस्या म समाधान गर्दिनँ नभनीकन, जे समस्या आए पनि सबैको समाधान खोज्ने आँट र हिम्मतका साथ मुख्यमन्त्री भएको हुँ। पहिचानवादीहरूको पहिचानको कुरा सम्बोधन हुन्छ। यसमा म सकारात्मक छु। 

ल्होसारको शुभकामना दिँदा तपाईँले प्रदेशको नाम नै उल्लेख गर्नुभएको थिएन। यसको रहस्य के हो?
केही लालबुझ जोकरहरू छन्, सामाजिक सञ्जालमा लेखेर आफूलाई ठूलो मान्छे बनाउन खोज्छन्। विश्वविद्यालय पढेको प्रमाणपत्र पनि बोकेका छन्। अमेरिकाको राष्ट्रपतिले लेख्दाखेरि पनि अमेरिका लेख्दैनन्, न्यूयोर्क लेख्छन्।

पुपष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यही दिन लेखेको विज्ञप्तिमा पनि आफ्नो नाम लेखेर तल काठमाडौं लेखिएको छ। मैले पनि विराटनगर लेखिसकेपछि कहाँको मुख्यमन्त्री हुन्छ त? केदार कार्की भन्ने संसारमा कहाँ अर्को मुख्यमन्त्री छ? मान्छे भनिसकेपछि उसका अंगअंगलाई छुट्टै भनिराख्नुपर्छ?

‘केदार कार्की, विराटनगर’ लेखेपछि कोशी प्रदेशको राजधानी हो भन्ने पनि थाहा छँदै छ। अब यति गर्दा पनि कोही खुसी हुन्छन्, कोही रिसाउँछन्। अब यस्तो त भइरहन्छ। पहिचानवादी पनि यही देशका नागरिक हुन्, उनीहरूले पनि असहमति राख्न पाउँछन्। असहमति राख्नेको पनि यो सरकार हो। मैले उनीहरूको पनि कुरा सुन्नुपर्छ। असहमति राख्दैमा ड्याङ्ग छातीमा गोली हान्नुपर्छ भन्ने हुन्छ र? 

तपाईँको बहुमतप्राप्त सत्ता गठबन्धनले सभामुख पद राप्रपालाई सुम्पिनुपर्ने अवस्था कसरी आयो?
हामीले जबर्जस्ती नोमिनेसन गराइदिएको होइन। उहाँहरूले नोमिनेसन गर्नुभयो, हामीले झगडा नगरिकन उहाँलाई समर्थन गर्यौँ। मुख्यमन्त्री त सर्वसम्मत भयो भने सभामुखमा किन झगडा गर्ने? 

राप्रपाभित्र झगडाको बिउ त रोपिदिनुभयो नि? 
राप्रपा पनि यही ग्रहको पार्टी होइन र? सबै पार्टीमा वादविवाद हुने राप्रपामा चाहिँ आदेश नै मानिराख्नुपर्ने? पुरानै राजाकै शैलीमा राजाले जे भन्यो, त्यही हुकुम राप्रपाले मानिराख्नुपर्छ भन्ने छ र? 

सबै कुरा सत्तामा भएकैले लिनुपर्छ भन्ने पनि त छैन।

अर्को साता राष्ट्रिय सभाको निर्वाचन हुँदै छ। सत्ता गठबन्धन प्रस्ट बहुमतमा छ तर तपाईँकै प्रदेशमा तपाईँकै पार्टीका उम्मेदवार कृष्णप्रसाद सिटौला तपाईँका कारण ढुक्क छैनन्। सत्ता गठबन्धन ढुक्क छैन। किन?
कोशी प्रदेशमा केही गाह्रो छैन। हामी कृष्णप्रसाद सिटौलालाई जिताउँछौं। सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउँछौं। हाम्रो पार्टीले निर्णय गरेको छ, उहाँ हाम्रो पार्टीको नेता हो, आफ्नो पार्टीको नेतालाई जिताउन हामी कुनै कसर बाँकी राख्दैनौं। माओवादी पनि डराउनुपर्ने कुरै छैन। हामी सबै जिम्मेवार छौं। आफ्नो जिम्मेवारी पूरा गर्छौं। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .