प्रमुख प्रतिपक्षी नेकपा एमालेको सातौँ केन्द्रीय कमिटी बैठक च्यासलमा सुरु भएको छ।
यो बैठक बिहीबारसम्म चल्नेछ। एमालेका अनुसार बैठकका लागि ६ वटा कार्यसूची तयार गरिएको छ।
बैठकका लागि जनपरिचालन र जनदबाब, राजनीतिक स्थितिको समीक्षा, संगठनात्मक प्रतिवेदन, संगठन शुद्धीकरणबारे विशेष कार्य योजना तर्जुमा लगायत कार्यसूची छन्।
एमालेले गठबन्धन सरकारले मुलुक र जनताविरुद्ध ज्यादती गर्न थालेको, राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आँच आउने काम गरेको निष्कर्ष निकालेर सडक आन्दोलनमा जाने तयारी गरेको छ। त्यसको तयारीका लागि यो बैठक डाकिएको हो।
यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गर्ने छैनन्। उनले मुलुकको परिस्थितिबारे विश्लेषण मौखिक रुपमै सुनाउनेछन्।
सरकारको काम कारबाही, पार्टीका तत्कालीन कार्यदिशाबारे पनि ओलीले बोल्नेछन्। गठबन्धन सरकारका राष्ट्रिय हित, जनसरोकार र सुशासनमा गम्भीर बिचलन आएको निष्कर्ष एमालेको छ।
यसअघि एमाले सचिवालय बैठक गत बिहीबार बसेको थियो। जसले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेको थियो।
एमालेको उक्त निर्णयपछि भ्रातृसंगठन अनेरास्ववियुले चरणबद्ध आन्दोलन घोषणा गरिसकेको छ।
एमालेले मंसिरमा मध्यपहाडी मिसन ग्रासरुट अभियान चलाएपछि पार्टी संगठनलाई सक्रिय बनाइरहेको छ। यही बेला एमालेले धमाधम जिल्ला अधिवेशन पनि गर्दैछ।
Shares
प्रतिक्रिया