ad ad

राजनीति


प्रधानमन्त्रीले भने : यो समीकरणले जनतामा आशा नजगाए देश अप्ठ्यारोतिर जान्छ

प्रधानमन्त्रीले भने : यो समीकरणले जनतामा आशा नजगाए देश अप्ठ्यारोतिर जान्छ

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
चैत ६, २०८० मंगलबार १७:१९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत फागुन २१ गते बनेको पाँच दलीय नयाँ समीकरणले पनि जनतामा आशा र भरोसा जगाउन नसके देश अप्ठ्यारोमा जाने बताएका छन्।

पाँच दलीय गठबन्धन सरकारको ‘न्यूनतम् नीतिगत प्राथमिकता र साझा संकल्प’ मंगलबार सार्वजनिक गर्न सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो भनेका हुन्। 

‘साझा संकल्प भनेर हामीले ल्याएको यो तेस्रो पटक हो। तेस्रो पटकसम्म आउँदा विगतका सबै अनुभवलाई पनि अधिकतम् संश्लेषित गरेर सिक्ने काम भएको छ’, उनले भने, ‘जनतामा अहिले एउटा नयाँ आशा र भरोस जगाउने उद्धेश्यसहित राष्ट्रको वृहत्तर हितलाई केन्द्रमा राखेर नयाँ समीकरण आएको छ।’

उनले कार्यक्रम र नीति भाषामा कति उत्कृष्ट बनायौँ भन्दा जनतालाई डेलिभरी दिनुपर्ने बताए।

‘भाषामा कार्यक्रम कस्तो बनायौँ भन्दा ठूलो कुरा जनतालाई डेलिभरी दिने गरी कति जिम्मेवारी र गम्भीरतापूर्वक अघि बढ्छौँ भन्ने मुख्य हो’, उनले भने, ‘हामीले काम गर्न सके मात्रै यो समीकरण र साझा संकल्पको पुष्टि गर्ने छ।’

दाहालले जनतामा आशा र भरोसा जगाउन नसके देश अप्ठ्यारोमा पर्ने दोहोर‍्‍याए। ‘जनतामा आशा र भरोसा जगाउनेबाहेक हामीसँग अर्को विकल्प छैन’, उनले भने, ‘यो समीकरणबाट पनि जनतामा आशा जगाउन नसकिन, विकास र समृद्धि अघि बढाउन नसकिए देश अप्ठ्यारोमा जाने अवस्था छ।’

पछिल्लो समय समाजमा अराजकता फैल्याउने काम भइरहेको पनि बताए। अब त्यस्ता गतिविधिलाई नियन्त्रणमा लिने पनि उनले उल्लेख गरे।

‘संविधान र नियम कानुन हातमा लिएर हिँड्नेलाई अब हामी नियन्त्रणमा लिन्छौँ’, उनले भने, ‘जे मन लाग्यो त्यही बोल्दै हिँड्नेलाई नियन्त्रणमा लिन्छौँ, त्यसमा केही संकेत देखिएका छन्।’

दाहालले भ्रष्टाचार र बेथितिमा संलग्नता देखिएमा जोसुकैलाई पनि सरकारले कारबाही गर्ने बताए। ‘मैले प्रधानमन्त्री भएदेखि नै सुशासन सामाजिक न्याय र समृद्धिको पक्षमा काम थालिएको थियो’, उनले भने,  ‘त्यसमा मद्दत गर्नेहरूलाई मैले धन्यवाद दिएको छु। तर पछि शिथिलता देखिएपछि नयाँ समीकरण बनाएर मात्रै सुशासन, समृद्धि र िवकासको पक्षमा जनतामा भरोसा देखाउन सकिन्छ भन्ने भयो।’

दाहालले हिजोको परिस्थिति र आजको परिस्थितिमा फरक आएको बताए। ‘जनतालाई सुशासन दिन र विकास र समृद्धिको यात्रा अघि बढाउँदैछौँ भन्न पनि अब काम गर्नुछ’, उनले भने, ‘त्यहीकारण यो संकल्प ल्याइएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .