ad ad

राजनीति


इलामले ‘सुहाङ तिमी भाग्न मिल्दैन’ भनेपछि म उम्मेदवार बन्न तयार भएँ : नेम्वाङ

इलामले ‘सुहाङ तिमी भाग्न मिल्दैन’ भनेपछि म उम्मेदवार बन्न तयार भएँ : नेम्वाङ

फाइल तस्बिर


नेपालखबर
चैत १२, २०८० सोमबार १२:१६, काठमाडौँ

नेकपा एमालेका तर्फबाट इलाम क्षेत्र नम्बर २ का उम्मेदवार सुहाङ नेम्वाङले बुवाप्रति इलामेली जनताको आशा, भरोसा र विश्वासले आफूलाई राजनीतिमा पछ्याएको बताएका छन्। 

सोमबार सामाजिक सञ्जालमार्फत उम्मेदवार बनाउन सहयोग गर्नेप्रति आभार व्यक्त गर्दै नेम्वाङले इलामेली जनताले देखाएको माया, सद्भाव र शुभेच्छाले अन्त जाने अनुमति नदिएको उल्लेख गरेका छन्।

‘हो, बुवालाई राजनीतिमा साथ दिदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय थिएँ। यसो भनौं, ‘आफ्नो बाटो आफै खन्दै थिएँ।’  मेरा लागि जनसेवाका अनेकन सजिला र फराकिला बाटाहरु स्वागतको लागि तयार थिए,’ उनले लेखेका छन्, ‘तर, निर्वाचनको क्रममा देखेको बुवाप्रतिको इलामेली जनताहरुको आशा, भरोसा र विश्वासले मलाई पक्रिरह्यो। बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो। आदरणीय इलामेली जनताहरुले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरुतिर जाने अनुमति दिएन। र भनीह्यो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है।’

उनले आफू उम्मेदवार बन्दैगर्दा पार्टीको विकास, विस्तार र आन्दोलनमा लागेका नेताहरूको भावनालाई शिरमा राखेको बताएका छन्। 

उनले अझै केही वर्ष ‘लो प्रोफाइल’मा बसेर बुवाकै साथमा रहेर सिक्ने, बुझ्ने रहर भएपनि अकल्पनीय आकस्मिकता आइलागेको सुहाङले भनेका छन्।

‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नु भएको सपना र गर्नु भएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु। इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु,’ सुहाङले भनेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्:

आगमी १५ वैशाख २०८१ मा इलाम क्षेत्र नं. २ को उप–निर्वाचनको लागि गौरवमय इतिहास बोकेको नेपाली जनताको प्रिय पार्टी नेकपा (एमाले) ले मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। म खुशी र उत्साही छु। 

यो महत्वपूर्ण अवसरको निम्ती हाम्रो पार्टी नेकपा (एमाले) र श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु। उम्मेदवारको लागि सिफारिस गर्ने नेकपा (एमाले) इलाम जिल्ला कमिटी, उम्मेदवार सिफारिस कार्यदल, इलामका सबै आदरणीय नेता कमरेडहरुप्रति आभारी छु। 

मलाई उम्मेदवार बन्नका लागि प्रेरित गर्नुहुने इलामका सबै आदरणीय अभिभावक, प्रियजन र नौजवान साथीहरुप्रति कृतज्ञ छु। तपाईहरुको माया, साथ र शुभेच्छा मेरा लागि अजस्र शक्तिको स्रोत र अमुल्य सम्पति हो। अप्ठ्यारो परिस्थीतिमा मलाई हौसला, उर्जा र साहस प्रदान गर्दै अघि बढ्नका लागि प्रेरित गर्नुहुने सबै आदरणीय व्यक्तित्वहरुलाई धन्यवाद भन्छु। आभार। 

पार्टीले मलाई उम्मेदवार बनाउने निर्णयपछि विभिन्न माध्यमबाट बधाई र शुभकामना दिनु हुने यहाँहरु सबैप्रति म असाध्यै आभारी छु। एक मुष्ठ धन्यवाद भन्न चहान्छु।

यहाँहरुलाई थाहा छ, इलाममा विशेष अवस्थामा उपनिर्वाचन हुदैछ। प्रतिनिधिसभा निर्वाचन–२०७९ मा इलामेली आदरणीय जनताहरुले मेरो बुवा उहाँहरुको प्रिय नेता सुवासचन्द्र नेम्वाङलाई जिताएर पठाउनु भएको थियो। तर, हामीलाई अकल्पनीय ब्रजपात आइलाग्यो। भौतिक रुपमा हामीलाई छोडेर जानुभयो। उहाँको सिद्धान्त, विचार, सपना र संकल्पहरु हाम्रो साथमा रहे पनि भौतिक साथ छुट्यो। उपनिर्वाचनको परिस्थीति आइलाग्यो। 

गएको निर्वाचनमा म बुवाको साथमा चुनावी अभियानमा थिएँ। यस क्रममा मैले बुवालाई आशीर्वाद दिने इलामेली वृद्ध बुवाआमाहरूको भावना नजिकबाट सुनेको थिएँ। उहाँहरुको सुखदुःख थाहा पाएको थिएँ। भबिष्यप्रतिको उज्यालो आशा सहित अहोरात्र निर्वाचनमा खट्नु भएका इलामेली नौजवान साथीहरुको अपेक्षा र चाहना बुझेको थिएँ। बुवाप्रतिको उचो विश्वास र भरोषा सहित उहाँले भबिष्यप्रति राख्नु भएको आशा असाध्यै नजिकबाट थाहा पाएको थिएँ। बुवाको काखमा आएर लुटपुटिदै ‘अल द बेस्ट’ भन्ने  कलिला नानीहरुका आँखामा दौडिएको मायालाई नजिकबाट छोएको थिएँ। 

गएको निर्वाचनको क्रममा बुवाप्रति इलामेली जनताहरुले देखाउनु भएको त्यो आशा, अपेक्षा,  भरोषा र विश्वास मेरो लागि कति भव्य थियो ? त्यो म यहाँ लेखेर उल्लेख गर्न सक्दिन। मलाई लागेको थियो, ‘अझै थुप्रै बर्षहरु बुवाको साथमा रहनेछु। सिक्नेछु। बुझ्नेछु। जान्नेछु। ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नु भएको सपना र गर्नु भएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु। इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु।’ म उहाँको लागि दरिलो सहयोगी बन्नेछु। तर बिडम्बना मेरो जीन्दगीमा पनि अकल्पनीय ‘आकस्मिकता’ आइलाग्यो। अकल्पनीय ब्रजपात आइलाग्यो। बुवाले देखाउनु भएको बाटो र दिनु भएको उज्यालो समातेर उहाँका ती सपनाहरु पुरा गर्न तयार हुनुपर्ने अवस्था आयो।

हो, बुवालाई राजनीतिमा साथ दिदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय थिएँ। यसो भनौ, ‘आफ्नो बाटो आफै खन्दै थिएँ।’  मेरा लागि जनसेवाका अनेकन सजिला र फराकिला बाटाहरु स्वागतको लागि तयार थिए। तर, निर्वाचनको क्रममा देखेको बुवाप्रतिको इलामेली जनताहरुको आशा, भरोषा र विश्वासले मलाई पक्रिरह्यो। बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो। आदरणीय इलामेली जनताहरुले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरुतिर जाने अनुमति दिएन। र भनीह्यो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है।’ 

त्यसैले म उम्मेदवारको लागि तयार भएँ। म उम्मेदवार बन्दै गर्दा आफ्नो जीन्दगीको उर्वर समय पार्टीको बिकास, विस्तार र आन्दोलनका लागि खर्चिनु भएका इलामका आदरणीय नेताहरुको भावनालाई शिरमा राखेको छु। उहाँहरुको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधरण योगदानप्रति सधैं नतमस्तक छु। उहाँहरुप्रति असाध्यै ऋणी छु। रहनेछु।

हो ! म असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएँ। यहाँनिर फेरि स्पष्ट गर्न चहान्छु, केवल परिस्थीतिजन्य हिसाबले मात्रै म तयार भएको भने कदापी होइन। मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्प सहित उभिएको छु। त्यो प्रतिबद्धता र अठोट सहित तयार भएको छु। इलामको लागि स्पष्ट योजना र मार्गचित्र सहित यात्राको लागि तयार भएको हुँ। तपाईहको माया, साथ र सहयोग अझै धेरै चाहिएको छ। फेरि पनि सबैप्रति आभार र धन्यवाद। 
धन्यवाद। नमस्कार!

सुहाङ नेम्वाङ
नेकपा (एमाले) को तर्फबाट 
प्रतिनिधिसभा सदस्य उम्मेदवार
इलाम क्षेत्र नं.२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .