ad ad

राजनीति


प्रहरी समायोजन नभएकाले मात्र प्रदेशको औचित्यमा प्रश्न उठेको होइनः लामिछाने

प्रहरी समायोजन नभएकाले मात्र प्रदेशको औचित्यमा प्रश्न उठेको होइनः लामिछाने

नेपालखबर
चैत १५, २०८० बिहिबार १८:३१, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजन नभएका कारण प्रदेशहरूले काम गर्न नसकेको भन्न नहुने बताएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा लामिछानेले प्रदेशको औचित्यमा प्रश्न उठ्नुमा प्रहरी समायोजन मात्रै नभएको बताएका हुन्। 

बैठकमा प्रदेश प्रहरी समायोजन हुन नसकेकाले शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा समस्या परेका विषयमा छलफल भएको थियो। छलफलमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजनजस्ता अत्यावश्यक विषयसमेत नटुंगिँदा संघीयताको औचित्यमै प्रश्न उठाउन थालिएको बताएका थिए। 

जवाफमा गृहमन्त्री लामिछानेले प्रहरी समायोजन विधेयक जति सक्दो छिटो अघि बढाउने तयारी रहेको जानकारी गराउँदै भने,  ‘संविधानले प्रदेशलाई दिएको अधिकार नदिने भन्ने हुँदैन, त्यसमा केही विलम्ब भएको होला। तर, त्यतिले मात्रै प्रदेशले काम गर्न नसकेको भनेर औचित्यमै प्रश्न उठाउनु जायज होइन।’

बैठकमा मुख्यमन्त्री पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा समेत प्रदेश संरचनालाई बेवास्ता गरिरहेको भन्दै पार्टीकै सभापति गृहमन्त्री हुँदा अधिकार दिने गरी कानुन बनाउने कुरामा विश्वस्त हुन कसरी सकिएला भन्ने प्रश्न गरेका थिए। 

गृहमन्त्री लामिछानेले संविधानअनुसारका कानुन बनाउने या परिमार्जन गर्ने कुरामा राजनीतिक प्रश्नले फरक नपर्ने स्पष्ट पारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .