ad ad

राजनीति


बोआओ फोरममा एमाले उपाध्यक्ष पौडेलले गरे चिनियाँ नेतृत्वको प्रशंसा

बोआओ फोरममा एमाले उपाध्यक्ष पौडेलले गरे चिनियाँ नेतृत्वको प्रशंसा

तस्बिर : रासस


रासस
चैत १६, २०८० शुक्रबार १२:१९, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास पहल (जीडीआई) का लागि चिनियाँ नेतृत्वको प्रशंसा गरेका छन्। 

चीनको हाइनान प्रान्तमा जारी बोआओ फोरम फर एसिया (बीएफए) लाई बिहीबार नेपालका तर्फबाट सम्बोधन गरेका हुन्। 

चीनले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विकासजस्ता प्राथमिकताका साथ जीडीआई अवधारणा ल्याएको र यसबाट नेपालले पनि लाभ लिन सक्ने उनको भनाइ थियो।

उपाध्यक्ष पौडेलले नेपालको आफ्नै विकास प्राथमिकतासँग मिल्दोजुल्दो यस अवधारणाको उद्देश्यलाई समर्थन गर्ने देशहरूको बढ्दो सङ्ख्यामा नेपाल पनि सामेल रहेको बताए।

यसप्रतिको प्रतिबद्धता कायम गर्दै नेपाल सरकारले हालै जीडीआई समूहमा सामेल हुने निर्णय गरेको पनि जानकारी उनले दिए।

जीडीआईको मूल सिद्धान्त चिनियाँ राष्ट्रपति सी चिनफिङको मानवजातिको साझा भविष्यको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको र यसले विश्व शान्ति र अन्तरसम्बन्धलाई जोड दिएको प्रसंग उल्लेख गर्दै उनले भने, 'एक साँच्चै साझा भविष्य तब मात्र साकार हुन सक्छ, जब सबै विकसित र विकासशील राष्ट्रहरूले प्रगति र समृद्धिका लागि समान अवसर प्राप्त गर्दछन्।'

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले भने, 'चीनको नजिकको छिमेकी नेपालले पनि जीडीआईको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छ। पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र क्षमता विकासजस्ता क्षेत्रमा बढ्दो सहयोगले नेपालको राष्ट्रिय विकास प्रयासलाई गति दिनेमा हामी विश्वस्त छौँ। हामी पनि हाम्रो अर्थतन्त्रमा परिवर्तन ल्याउन र नेपालको विशिष्ट विकास आवश्यकतालाई सम्बोधन गर्ने गरी परियोजनाहरू अघि बढाउन तत्पर छौँ।'

जीडीआईको दिगो र समतामूलक विकासका लक्ष्य हासिल भएको सुनिश्चित गर्न, यसका चुनौतीहरू स्वीकार गर्न र सम्बोधन गर्न आवश्यक रहेको चर्चा गर्दै उनले यसको पारदर्शिता र दिगोपनका चिन्तालाई भने दूर गर्न जरुरी रहेको बताए।

त्यसैगरी, सहुलियतपूर्ण वित्तीय सहायता, ज्ञान आदानप्रदान र विकासोन्मुख देशहरूको विशेष आवश्यकताअनुरूप निर्माण हुने परियोजनाहरूले जीडीआईको उद्देश्य, आपसी विश्वास र समावेशितालाई थप बलियो बनाउने उनको धारणा थियो।

नेपालले बहुपक्षीयतालाई महत्त्व दिने र जीडीआई ढाँचा तथा अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा हुने छलफलमा सक्रियरूपमा योगदान गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।

उनले भने, 'हामी सार्वभौमिक र सबैका लागि लाभदायक विकास एजेन्डालाई थप प्रवर्द्धन गर्न चीन र समान विचारधाराका साझेदारहरूसँग काम गर्न इच्छुक छौँ। विश्वमा थप समृद्धि, शान्ति र दिगो भविष्य निर्माण गर्न जीडीआई एक शक्तिशाली माध्यम बन्न सक्छ भन्ने कुरामा नेपाल विश्वस्त रहेको छ।'

बोआओ फोरमले एसिया र समग्र विश्वको विकासका लागि आवश्यक मुद्दाहरूमा संवादका लागि महत्त्वपूर्ण अवसर दिएको उनले बताए।

यस वर्षको विषयवस्तु ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभः प्रमोटिङ वर्ल्ड पिस’ समयसापेक्ष रहेको र यसले विश्वको विकास र शान्तिको आगामी मार्गका लागि सहयोग पुग्ने धारणा उनले व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .