ad ad

राजनीति


रास्वपाबाट इलाम २ को टिकट लिएका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त

रास्वपाबाट इलाम २ को टिकट लिएका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त

इलाम २ का मतदातासँग मिलन लिम्बू


नेपालखबर
चैत १६, २०८० शुक्रबार १२:५६, काठमाडौँ

वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि इलाम २ को उम्मेदवार बन्न राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका मिलन लिम्बू नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरबाट बर्खास्त भएका छन्।

माओवादी केन्द्रमा आवद्ध उनी बिहीबार रास्वपामा प्रवेश गरेर इलाम २ को टिकट लिइसकेका छन्। मिलनले रास्वपाबाट टिकट लिएलगत्तै प्रेस सेन्टरले विज्ञप्ति निकालेर बर्खास्त गरिएको जनाएको छ।

मिलन रास्वा प्रवेश गर्नुअघि माओवादीको उपत्यका विशेष प्रदेश समिति सदस्य र प्रेस सेन्टरका सचिवसमेत थिए।

माओवादीबाट राजीनामा नदिई उपचुनाव लड्न अर्कोतिर लागेपछि उनलाई बर्खास्त गरिएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेले बताएका छन्। 

‘प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट केन्द्रीय सचिवको जिम्मेवारीमा रहेका मिलन लिम्बूले संगठनको नीति, विधि, विधान र आचरणविपरीत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक अभिव्यक्ति दिने तथा अनुशासनविपरीत गतिविधि गरिरहेको, पछिल्लो समय रास्वपाको तर्फबाट उम्मेदवार बनेको देखिएको छ', पौडेलले भनेका छन्, 'संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत बेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गर्दै त्यस्ता हर्कत र गतिविधि जारी राखेकाले संगठनको अनुशासन समितिको सिफारिसमा आजकै मितिदेखि सबै जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ।’

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २५ गते राति निधन भएपछि इलाम २ रिक्त थियो। जहाँ आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा मिलन माओवादी छाडेर रास्वपाबाट उठ्दैछन्। उनलाई रास्वपाले बिहीबार टिकट दिइसकेको छ। 

उपनिर्वाचनमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ उठेका छन्। त्यस्तै पहिचानवादी दलहरूले पनि उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने उम्मेदवार तय गरेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .