ad ad

राजनीति


इलाम २ : माओवादीको आधा मत सुहाङलाई नखस्ने एमालेको आशंका

इलाम २ : माओवादीको आधा मत सुहाङलाई नखस्ने एमालेको आशंका

फाइल तस्बिर


रुपक चौलागाईं
चैत २८, २०८० बुधबार २०:४, काठमाडौँ

इलाम–२ को उपनिर्वाचनमा आफ्नै उम्मेदवार मैदान उतार्ने तयारीमा थियो, नेकपा माओवादी केन्द्र। 

सोही अनुसार जिल्ला र प्रदेश कमिटीले उम्मेदवारको नाम पनि केन्द्रमा सिफारिस गरेको थियो। इलाम जिल्ला कमिटीले धीरेन्द्र शर्माको नाम सिफारिस गरेको थियो। 

तर, गत चैत ११ मा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार घोषणा गर्दा नै शीर्ष तहमा माओवादीले उम्मेदवारी नदिने समझदारी बनिसकेको थियो। 

सोही समझदारी बलियो बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली चैत १२ गते बिहान सुहाङलाई नै लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगे। प्रचण्डले सुहाङलाई नै सघाउने वचन पनि दिए।

तर, जिल्ला र प्रदेश तहका नेताहरूलाई प्रचण्डले यसबारे सुइँको दिएका थिएनन्। 

उम्मेदवारी दर्ताको अघिल्लो दिन मात्रै पार्टी केन्द्रबाट निर्देशन गयो– सुहाङलाई नै चुनावमा सहयोग गर्नू। 

प्रचण्डको निर्देशनपछि धीरेन्द्र पछि हटे। अहिले उनी सुहाङलाई जिताउनेगरी चुनावी अभियानमा खटिएका छन्। 

बुधबार दिउँसो नेपालखबरसँग कुरा गर्दैगर्दा एउटै कम्युनिस्ट उम्मेदवार बोकेर मतदातामाझ पुग्दा बेग्लै उत्साह देखिएको बताउँछन् शर्मा। 

उनकै भनाइमा, इलाममा माओवादी सम्पूर्ण रुपमा सुहाङ जिताउने अभियानमा कस्सिएर लागेको छ। 

‘हामी कस्सिएर लागेका छौँ। मतदाता पनि खुसी छन्,’ उनले भने, ‘हामीले मतदातामाझ यसअघिका केही अधुरा काम सक्ने प्रतिबद्धता गरिरहेका छौँ।’

आफ्नै उम्मेदवार नहुँदा मतदाता खिन्नता र वाम एकताको तयारीले उनीहरुमा उत्साह रहेको शर्माको भनाइ छ।

‘मतदातामा अलिकति आफ्नै चिन्हमा भोट हाल्न पाइएन भन्ने खिन्नता त छँदैछ,’ उनी भन्छन्, ‘केन्द्रको निर्देशन मान्नैप¥यो। वाम एकतासहितको तयारी केन्द्रबाट भएको हुँदा मतदातामा अर्कै उत्साह पनि छ।’

तर, माओवादीप्रति एमालेको स्थानीय नेतृत्व भने सशंकित देखिन्छ। चुनावी अभियानमा सँगै हिँडे पनि माओवादीले पुग्दो सहयोग नगर्ने आशंका एमाले इलामका एक नेताले व्यक्त गरे।

‘चुनावी प्रचारमा उहाँहरू (माओवादी केन्द्र) को सहयोग त छ,’ ती नेताले भने, ‘तर मनैदेखि सहयोग गरेको देखिँदैन।’

माओवादीको मत ‘ट्रान्सफर’ हुने सम्भावना कम देखिएको उनले नेपालखबरलाई बताए।

‘हुन त उहाँहरुको धेरै भोट छैन। तर जति भोट छ, त्यसको आधा पनि खस्ने देखिँदैन,’ उनले भने।

अघिल्लो निर्वाचनमा सामानुपातिकतर्फ इलाम २ मा माओवादीले  ५ हजार १ सय ५३ मत पाएको थियो।

एमाले इलाम उपाध्यक्ष उदय राईले भने माओवादीबाट सहयोग पाउने अपेक्षा व्यक्त गरे।

‘पार्टी केन्द्रबाटै सर्कुलर छ, हामी मिलेरै चुनावी अभियानमा लागेका छौँ,’ उनले भने, ‘कम्युनिस्ट एकताको सन्देशसमेत दिनेगरी यो पटक निर्वाचन अभियानमा लागेका छौँ।’

यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार मिलन लिम्बूले भोट काट्नसक्ने चिन्ता माओवादी नेताहरूमा देखिन्छ। मिलन लामो समय माओवादीमा आवद्ध थिए। उनी पत्रकारितामा हुँदा पनि माओवादी निकट संगठन प्रेस सेन्टरमा आबद्ध थिए।

अहिले उनी आबद्ध दल रास्वपाको यहाँ बलियो जनाधार छैन। अघिल्लो निर्वाचनमा यहाँ रास्वपाका उम्मेदवारले प्रत्यक्षतर्फ जम्मा १ हजार ३ सय ८० मत प्राप्त गरेको थियो। समानुपातिकतर्फ भने रास्वपाले ४ हजार ६ सय ८६ मत पाएको थियो। 

माओवादीको १ हजारदेखि १५ सयसम्म मत मिलनलाई जानसक्ने आकलन एमाले–माओवादीको छ।

तर माओवादी नेता शर्मा भने माओवादीको मत मिलनलाई नजाने बताउँछन्।

‘उहाँ (मिलन) स्वतन्त्र मात्रै भएर निर्वाचनमा होमिएको हो भने हाम्रो मतमा असर पर्नसक्थ्यो,’ उनले भने, ‘तर दलमै गइसक्नुभएकाले हाम्रो सांगठनिक मतमा असर पर्दैन।’

एमाले–माओवादीका संयुक्त उम्मेदवार सुहाङलाई आगामी वैशाख ५ गतेसम्म निर्वाचन क्षेत्रका सबै वडामा पु¥याउने तयारी गरेको छ। यो क्षेत्रमा ४२ वटा वडा छन्। 

बुधबार (चैत २८) सुहाङ माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर ४ र ५ को चुनावी अभियानमा छन्। 

यी सबै वडामा सरसर्ती मतदातासँग भेटघाट गराएर ठूलो आमसभामा गर्ने एमाले–माओवादीको तयारी छ। शर्माका अनुसार देउमाइ नगरपालिकामा पर्ने मंगलबारे बजारमा आमसभा गर्ने तयारी छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .