ad ad

राजनीति


मधेस प्रदेश: १५ महिनामा ४ पटक विश्वासको मत, ११ पटक मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेश: १५ महिनामा ४ पटक विश्वासको मत, ११ पटक मन्त्रिपरिषद् विस्तार

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार ७:१०, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजावादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

यादवले माओवादी केन्दबाट दुई र एकीकृत समाजवादीबाट एक मन्त्री तथा एमालेबाट एक राज्यमन्त्री थप गरेर बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। 

मुख्यमन्त्री भएको १५ महिनामा चार पटक विश्वासको मत लिएका यादवले हिजो ११ औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

माओवादी केन्द्रका भरतप्रसाद साह र युवराज भट्राई तथा एकीकृत समाजवादीबाट बेची लुंगेली मन्त्री बनेका छन् भने एमालेबाट शारदा थापा राज्यमन्त्री बनेकी छन्। साह र लुंगेलीलाई मन्त्रालय तोकिएको छैन। उनीहरु विना विभागीय छन् भने माओवादीका भट्टराईले उद्योग तथा पर्यटन मन्त्रीको शपथ लिएका छन्।

एमालेकी शारदा थापा गृह तथा सञ्चार राज्यमन्त्री बनेकी छन्। भट्टराई र थापा पहिलोपटक मन्त्री बनेका हुन्। 

माओवादी केन्द्रले यसअघिकी उद्योग पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर भट्टराईलाई पठाएको हो। माओवादीले उद्योग पर्यटन राज्यमन्त्री रहबर अन्सारीलाई पनि फिर्ता बोलाएको छ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् भने राज्यमन्त्री थापाले मुख्यमन्त्री यादवबाट सपथ ग्रहण गरेकी छन्। 

मुख्यमन्त्री यादवले ११ औं पटक मन्त्रिपरिषद पुनर्गठन गरेपनि मधेशको मन्त्रिपरिषदको किचलो अझै सकिएको छैन। 

स्रोतका अनुसार माओवादीबाट अघिल्लो सरकारमा गृहमन्त्री रहेका साह हाल अर्थ मन्त्रालयको दावी गरिरहेका छन्। हाल जसपाका सञ्जयकुमार यादव अर्थमन्त्री छन्। 

साहले आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री यादवलाई दबाब दिइरहेका छन्। 
मुख्यमन्त्री यादवसँग यतिबेला श्रम तथा यातायात वन तथा वातावरण मन्त्रालय छ। यी दुईमध्ये एउटा मन्त्रालय रोजेर लिन मुख्यमन्त्री यादवले आग्रह गरे पनि साहले मानिरहेका छैनन्। 

मधेश प्रदेशको १५ सदस्यीय मन्त्रिपरिषदमा जसपाका ५ जना मन्त्री छन्। अर्थ मन्त्रालयमा जसपाका सञ्जय यादव, खेलकुद तथा समाज कल्याण मन्त्रालयमा जसपाकी सुरिता साह, ऊर्जा, सिंचाइ तथा खानेपानीमा जसपाकै सिंहासन सिंह कलवार र राज्यमन्त्री शेषर अब्दुल कलाम आजाद छन् ।

एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरोज यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सत्रुधन सिंह, गृह संचार तथा कानुन मन्त्रालयमा राजकुमार लेखी र शिक्षा तथा संस्कृति मन्त्रालयमा प्रमोदकुमार जयसवाल मन्त्री छन्। गृह संचार तथा कानुन मन्त्रालयमा राज्यमन्त्री शारदा थापा र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा केशव राय गरी मन्त्रिपरिषदमा एमालेका ६ जना छन्।

मन्त्रिपरिषदमा माओवादी र एकीकृत समाजवादीबाट दुई दुईजना मन्त्री छन्। माओवादीले एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर अर्को मन्त्रालय लिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .