राजनीति


गोरखा-२ प्रचण्डलाई छाडेकामा पश्चाताप गर्दै बाबुरामले मागे माफी

गोरखा-२ प्रचण्डलाई छाडेकामा पश्चाताप गर्दै बाबुरामले मागे माफी

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार ८:१८, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो क्षेत्र गोरखा–२ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडेकामा पश्चाताप गरेका छन्। 

गोरखा जिल्ला भ्रमणका क्रममा आम नागरिक र पार्टीका साथीहरूले गत निर्वाचनमा आफैँ नउठेर प्रधानमन्त्री प्रचण्डलाई छाडेर गम्भीर गल्ती गरेको भनी गुनासो गरेको डा. भट्टराईले उल्लेख गरेका छन्।     

‘कहिलेकाहीँ असल मनशायले गरेको कामको गलत परिणाम आउँछ। जनसेवामा समर्पित इमान्दार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिच्किचाउनु हुँदैन’, डा. भट्टराईले भनेका छन्, ‘मासिक जिल्ला भ्रमणको क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आम निर्वाचनमा  गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनुभएको छ। साथै समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट,अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ।’

यसका लागि उनले आम नागरिक तथा पार्टीका सहकर्मीहरूसँग माफीसमेत मागेका छन्। 

‘मैले असल मनशायले गरेको निर्णयले आम जनता र पार्टीका साथीहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु’, उनले भनेका छन्। 

यस क्रममा डा. भट्टराईले प्रधानमन्त्री प्रचण्डको कडा आलोचना पनि गरेका छन्। 

‘परन्तु निर्वाचन यता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुँदै गइरहेको, उल्टै मैले उनलाई निःस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गर्दै गइरहेको, देश र जनताका आकांक्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौँ जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्तास्वार्थसँग साटेर सत्य निरुपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगहरूका कामलाई टुंग्याउनु सट्टा खेलबाड गरिरहेको लगायतका घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि र मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .