ad ad

राजनीति


एमालेको भेलामा भण्डारी प्रमुख अतिथि, सक्रिय राजनीतिमा फर्कने कसरत

एमालेको भेलामा भण्डारी प्रमुख अतिथि, सक्रिय राजनीतिमा फर्कने कसरत

सागर न्यौपाने
जेठ १८, २०८१ शुक्रबार २१:२४, काठमाडौँ

उनी पूर्वराष्ट्रपति हुन्। राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले दलीय आबद्धता त्यागेको घोषणा पनि गरिसकेकै हुन्।

देशको सर्वोच्च र सम्मानित पद राष्ट्रपतिमा पुगिसकेको व्यक्ति राजनीतिक कार्यक्रम, त्यसमा पनि दलविशेषका मञ्चमा उपस्थित हुनु उचित हो कि होइन भन्ने बहसकै विषय छ।

तर, पछिल्ला केही महिना यताका गतिविधि हेर्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक कार्यक्रममा पुगेको मात्रै छैनन, भाषण नै गरेकी छन्।

अझ, उनको पृष्ठभूमि जोडिएको दल नेकपा एमालेले नै आयोजना गरेको कार्यक्रममा उनी बढीजसो पुगेको देखिन्छ।

जेठ १६ गते काठमाडौंमा एमालेको ‘राष्ट्रिय महिला भेला’ भयो, जसको उद्घाटन गर्न प्रमुख अतिथि बनेर काठमाडौँको प्रज्ञा भवन पुगिन् भण्डारी।

सोही कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पुगेका थिए। उनलाई विशेष अतिथि बनाइयो। अर्थात्, पार्टीको कार्यक्रममा भण्डारीको प्रमुख आतिथ्य स्वीकार गरी ओली कार्यक्रममा पुगे। 

भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेतृ, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, सांसद, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी गरी १७ सय सहभागी भएको एमाले केन्द्रीय सदस्य एवं भेला व्यवस्थापन समिति सचिव रचना खड्काले जानकारी दिइन्।

एकै वचनमा तयार भइन् भण्डारी
०६३ जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई व्यवस्थापिका संसद्बाट संकल्प प्रस्तावका रूपमा पारित गरिएको थियो। त्यो प्रस्ताव त्यसबेला भण्डारीले नै संसदमा दर्ता गराएकी थिइन्। 

त्यही दिन पर्ने गरी कार्यक्रम तय भएको थियो। र, प्रमुख अतिथि बनाउन आग्रह गर्दै एमालेका नेताहरू भण्डारीनिवास पुगेका थिए।

‘प्रमुख अतिथि बन्न मान्नुभयो भने उहाँ (विद्या भण्डारी)लाई ल्याऊँ, संकल्प प्रस्ताव पेस गरेको र अनेमसंघ (एमालेनिकट अखिल नेपाल महिला संघ)को १८ वर्ष नेतृत्वमा रहेका कारण उहाँ नै उपयुक्त हुन सक्छ भन्ने हामीलाई लाग्यो। अनि हामीले भेटेर प्रस्ताव गर्‍यौँ,’ खड्काले नेपालखबरसँग भनिन्, ‘पार्टीकै ब्यानरमा त अलि अप्ठेरो हुन्छ। सबै जनवर्गीय जनसंगठनको भए ठीकै छ भन्नुभयो।’

यो कार्यक्रम हुने र प्रमुख अथिति भण्डारी नै रहने कुरा गत वैशाख ७ गते पत्रकार सम्मेलन नै आयोजना गरेर एमालेले जानकारी दिएको थियो। त्यसको भोलिपल्ट एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक र त्यसपछि नेकपा स्थापना भएको ७५औँ स्थापना दिवस (हीरक महोत्सव) समारोह हुँदै थियो, जहाँ भण्डारीलाई ‘गणतन्त्र गौरव’को सम्मान प्रदान गरिँदै थियो।

नेतृ खड्का भन्छिन्, ‘आउने-नआउने उहाँकै निर्णय हो भनेर हामीले प्रस्ताव गरेका थियौं, हाम्रो चाहना आइदिनूस् भन्ने थियो, हाम्रो आग्रह स्वीकार गर्नुभयो, उहाँ सजिलै आउनुभयो।’

पार्टीको ब्यानर, राजनीतिक वक्तव्य
महिला भेला पार्टीकै ब्यानरमा भयो। भण्डारीले भाषण पनि राजनीतिक नै गरिन्। 

महिला भएर महिलाको मात्रै एजेन्डामा सीमित नरहन उनले सुझाव दिइन्। राष्ट्रिय मुद्दामा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिनुपर्ने उनले बताइन्।

‘राष्ट्रिय आवश्यकता फरक भएर गएको छ। तपाईंहरूले महिलाका एजेन्डा मात्रै उठाउने होइन, राष्ट्रिय एजेन्डामा अघि बढ्नुपर्छ र नेतृत्व लिनुपर्छ,’ एमाले महिला भेलाको उद्घाटन समारोहमा पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘त्यसो भयो भने महिलालाई कसैले हेप्न सक्तैन।’ 

धेरैको बुझाइमा, भण्डारी राजनीतिमा आउन जोखना हेरिरहेकी छन्। कुनै पनि राजनीतिक मञ्चमा निम्ता पाएपछि उनी पुगिहाल्ने उनको स्वभावका कारण पनि यस्तो अड्कलबाजी गरिन्छ। 

यसलाई एमालेका नेताहरूले कसरी लिएका छन् त?

‘फरक हिसाबले राजनीति जाने भयो, एकता प्रक्रिया अघि बढ्ने भयो भने भण्डारी अघि सर्ने सम्भावना छ,’ एमालेका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘घटनाहरू रातारात घट्ने गर्छन् र अनुमानहरू फरक पर्दै जान पनि सक्छन्।’

ती नेताका अनुसार भण्डारीलाई अघि सारेर केही वाम शक्तिहरूलाई मिलाउने प्रयास पनि एउटा तप्काबाट भइरहेकै छ। विभिन्न दलका दोस्रो–तेस्रो तहका नेताहरू त्यसमा सक्रिय छन्।

अहिले एमाले–माओवादी गठबन्धनको सरकार छ। गत फागुन २१ गते अप्रत्यासितरूपमा नजिकिएपछि यी पार्टीहरू एकता प्रक्रियासम्म पुग्न सक्छन् भन्ने अड्कलबाजीमा बल पुगिरहेको छ।

तर, खड्का भने तत्काल भण्डारी दलीय राजनीतिमा प्रवेश गर्ने सम्भावना कम रहेको र यसमा महिला भेलाको उद्घाटनलाई जोड्न नमिल्ने दाबी गर्छिन्।

‘केपी ओली एमालेको अध्यक्ष रहेसम्म भण्डारीलाई छोडिदिने सम्भावना कम छ,’ उनले भनिन्, ‘घटनाक्रम नै फेरबदल भए अर्कै कुरा हो। नत्र सामान्य परिस्थितिमा त्यो भइहाल्ने देखिँदैन। कुनै घटना, तयारी, परिस्थिति निर्माण तत्काल बन्ने देखिएको छैन।’

नेकपाको ७५औँ स्थापना दिवस (हीरक महोत्सव) समारोहमा भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान प्रदान गरिँदै

त्यसो त एमालेले भण्डारीलाई ललितपुरको गोदावरीमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा ‘गणतन्त्र गौरव’ बाट सम्मानित गरेको थियो। खड्का अरू कुनै कारण नभई राष्ट्रपतिका रूपमा उनले निभाएको भूमिकाकै कारण सम्मानित गरिएको तर्क गर्छिन्।

तर, पछिल्ला दिन भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन प्रयास भइरहेको र महिला भेलाबाट ढोका खोलिएको बुझाइ एमालेभित्रै छ। एक पदाधिकारीले ठोकुवा गर्दै भने, ‘एमालेले उहाँलाई खोज्नुको कारण छ। अब एमालेमा सबैतिर उहाँलाई उभ्याउन होडबाजी चल्छ।’

भण्डारीले स्वयं पनि राजनीतिमा आएर एकपटक कार्यकारी बन्ने चाहना राखेको ती पदाधिकारी बताउँछन्।

‘त्यो कुराको ग्यारेन्टी हुने परिस्थिति निर्माणको प्रयास जारी छ,’ उनले भने, ‘उहाँ त्यति कमजोर व्यक्ति त होइन। नेपालको राजनीतिको गहिरो विश्लेषण गर्नुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .