ad ad

राजनीति


आज पाँचौँपटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री

१०७ सदस्यीय प्रदेशसभाबाट यादवले पाउलान् ५४ मत?
आज पाँचौँपटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८१ बुधबार ८:३१, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। 

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले समर्थन फिर्ता लिएपछि यादवले आज पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हाे। 

डेढ वर्षअघि मुख्यमन्त्री बनेका यादवले यसअघि चारपटक विश्वासको मत लिइसकेका छन्। आज उनले पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन्। ​मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि बुधबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। 

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि सहयात्री दलले यादवको साथ छाडेपछि पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो। तर, जसपाका अध्यक्ष उपेन्द्र यादव निकट मानिने मुख्यमन्त्री यादवले आज विश्वासको मत पाउने सम्भावना निकै कमजोर देखिएको छ। 

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाछ। 

२०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवले यसअघि २०७९ माघ ४ गते, २०८० जेठ ३० गते, २०८१ फागुन ६ गते र २०८१ वैशाख ४ गते विश्वासको मत लिएका थिए। 

यसअघि चारपटक विश्वासको मत पाएका यादवले प्रदेशसभाका सांसदको अंकगणित हेर्दा आज भने विश्वासको मत पाउने सम्भावना कमजोर देखिन्छ। उनलाई जसपाबाहेक नेपाली कांग्रेसले मात्र विश्वासको मत दिने सम्भावना छ।

यादव आवद्ध पार्टी जसपा नेपालको सबै मत उनले पाएको अवस्थामा उनको पक्षमा ४१ सांसद् मात्र हुनेछन्। मधेस प्रदेश सभामा जसपाका १९ र कांग्रेसका २२ सांसद छन्।

१०७ सदस्यीय मधेस प्रदेशसभामा नयाँ सरकार गठननको लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्छ। 

प्रदेश सभामा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन्। तर, मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कि नदिने लोसपाले अझै निर्णय गर्न सकेको छैन। 

त्यसैगरी मधेस प्रदेस सभामा नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक प्रदेश सांसद छन्। उनीहरुले पनि कता मतदान गर्छन् खुलेको छैन। 

एमाले, माओवादी केन्द्र, जनमतसहितको विपक्षी गठबन्धले जनमत पार्टीलाई मधेसको मुख्यमन्त्री दिने सहमति गरिसकेका छन्। सोहीअनुसार जनमत पार्टीकाे तर्फबाट सप्तरीबाट निर्वाचित महेशप्रसाद यादव मधेस प्रदेशको अबका मुख्यमन्त्री हुने चर्चा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .