ad ad

राजनीति


लीलादेवी गड्तौलाले सम्हालिन् निमित्त मुख्य सचिवको जिम्मेवारी

लीलादेवी गड्तौलाले सम्हालिन् निमित्त मुख्य सचिवको जिम्मेवारी

नेपालखबर
असार ९, २०८१ आइतबार १९:२९, काठमाडौँ

सरकारको निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवी गड्तौला (निरौला)ले सम्हालेकी छिन्। आइतबार दिउँसो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर मुख्यसचिव बैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका थिए। 

अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकै सचिवहरूमध्येबाट वरिष्ठताका आधारमा गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हालेकी हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले नेपालखबरसँग भने, ‘कार्यसम्पादन नियमावलीअनुसार मुख्यसचिवको अनुपस्थितिमा प्रधानमन्त्री कार्यालयका वरिष्ठतम् सचिवले निमित्त मुख्यसचिवको रूपमा काम गर्ने व्यवस्था छ। सोही अनुसार उहाँ (गड्तौला)ले काम गरिरहनुभएको छ।’

यी हुन् गड्तौला
गड्तौला प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमै कानुन सचिवको रूपमा कार्यरत थिइन्। २०५२ सालमा शाखा अधिकृतको रूपमा निजामती सेवामा प्रवेश गरेकी उनी २०६३ कात्तिक ३ गते उपसचिव र २०७० माघ ९ गते सहसचिव बनेकी थिइन्।

२०७७ कात्तिक २७ गतेदेखि उनी सचिवको रूपमा कार्यरत छिन्। कानुन समूहका प्रायः अधिकृत न्यायाधीशले बन्ने अवसर पाउँछन्। गड्तौलाले भने न्यायाधीशमा रूचि नदेखाएको उनका समकालीनहरू बताउँछन्।

गड्तौला कानुन तर्जुमा र लैंगिक न्यायका विषयमा विशेष दख्खल राख्छिन्। न्याय सेवा आयोगको अभिलेखअनुसार उनको स्थायी ठेगाना सोलुखुम्बु हो। उनका श्रीमान् मात्रिका निरौला वरिष्ठ अधिवक्ता छन्। उनले कानुनमा स्नातकोत्तर (एलएलएम) सम्म अध्ययन गरेकी छन्।

नेपाल सरकारकै पूर्वसचिव एवं लोक सेवा आयोगकी पूर्वसदस्य वृन्दा हाडाका अनुसार, गड्तौला निमित्तकै हैसियतमा भए पनि मुख्य सचिवको रूपमा काम गर्ने पहिलो महिला प्रशासक हुन्। हाडा भन्छिन्, ‘छानेर ल्याउँदा उहाँ नपर्न पनि सक्नुहुन्थ्यो। तर अहिले परिस्थितिले नै भए पनि उहाँले त्यो अवसर पाउनुभयो, म एकदमै खुसी छु।’

गड्तौला आउँदो भदौबाट ५८ वर्षे उमेर हदले अवकाश पाउँदै छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .