नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन्।
आइतबार पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले बिना पैसा कुनैपनि सरकारी सेवाहरू प्राप्त गर्ने परिस्थिति नरहेको जिकिर गरे।
भ्रष्टाचार र बेथितिको अन्त्य कसरी गर्ने भन्नेबारेमा काम गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले आफ्नो स्वार्थको निम्ति सरकारी ढुकुटी खर्च गर्ने परम्परा हटाउन आवश्यक रहेको पनि बताए।
‘अहिले प्रत्येक ठाउँमा भ्रष्टाचार छ। बिना पैसाको कुनै काम हुँदैन। सेटिङहरू मिलाइएको छ। त्यसैले यो बेथितिको अन्त्य गर्ने कसरी? यो नीतिमा पनि देखा पर्छ। काम र व्यवहारमा देखापर्छ। दोस्रो समस्या भनेको सामग्रिक वृहत् चिन्तनको कमी,’ उनले भने, ‘हामी तत्काल अहिले आफ्नो स्वार्थको निम्ति कुन चिज हो परियोजना, त्यो बनाउँछौँ, अर्बौं खर्च गरिदिन्छौँ। अर्बौं कहाँ खर्च गर्ने?’
उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवद्र्धन गर्न आवश्यक रहेको बताउँदै उनले विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा सबैले गम्भीर भएर सोच्न जरुरी रहेको पनि बताए।
‘उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवद्र्धन गर्नका लागि, देशको आय बढाउनका लागि, सिंगो अर्थतन्त्रलाई उँभो उठाउनका लागि राष्ट्रिय पुँजीको विकास गर्नका लागि, उद्यमशिलताको विकास गर्नका लागि, चाहे कृषि होस्, जलविद्युत, पर्यटन, उद्योग धन्दा यी सबैका लागि पूर्वाधारको विकास होस्,’ उनले भने, ‘पूर्वाधारको लागि शिक्षा, स्वास्थ्यको विकास होस्। विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा के गर्नुपर्छ, त्यसमा गम्भीर चिन्तन र छलफल गर्नुपर्ने आवश्यकता छ। यसका लागि नेपालका कम्युनिष्ट पार्टीहरुमा एकता र सहमति आवश्यक छ।’
Shares
प्रतिक्रिया