ad ad

राजनीति


सत्ता समीकरण फेरबदलबारे के भन्छन् प्रमुख दलका सांसदहरू? (भिडिओ)

सत्ता समीकरण फेरबदलबारे के भन्छन् प्रमुख दलका सांसदहरू? (भिडिओ)

नेपालखबर
असार १७, २०८१ सोमबार २१:१, काठमाडौँ

नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्री र मन्त्रीहरू फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संकीर्ण सोच भएको बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले महिना महिना दिनमा हुने उथलपुथलले राजनीति र व्यवस्थालाई फाइदा नपुग्ने बताए। एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाएर अर्को व्यक्ति प्रधानमन्त्री बन्ने कुराका लागि मात्रै दुई दल मिल्नु निकृष्ट र संकीर्ण सोच भएको बताए। 

‘महिना महिना दिनमा हुने उथलपुथलले राजनीतिलाई, राजनीतिज्ञहरुलाई र व्यवस्थालाई केही पनि फाइदा हुँदैन। दुईवटा दल मिल्ने कुरा फेरि कसैलाई प्रधानमन्त्रीबाट हटाएर अर्कोलाई स्थापित गर्ने, मन्त्रीहरु परिवर्तन गर्ने कुरामा मात्रै आधारित भयो भने त्यो झन् निकृष्ट र संकीर्ण सोचबाट निर्देशित प्रयत्न हो भन्ने लाग्छ,’ पाण्डेले भने, ‘संविधान बदल्नु छ, कानुनहरू बदल्नु छ, सत्तालाई स्थिर ढंगले चलाउनु छ। बाँकी रहेको ३ वर्षलाई स्थिर शासन दिने ध्येयले ठूलो उद्देश्यले एक ठाउँमा उभिने कुरा गरे भने, देशको अर्थतन्त्र कमजोर छ, राजनीतिक अस्थिरता छ, त्यसकारण देशको अर्थतन्त्रलाई पनि सुदृढ बनाउँछौ भने त्यो उचित हुनेछ।’

त्यस्तै, नेपाली कांग्रेसकै अर्का सांसद डा.प्रकाशशरण महतले संविधान संशोधन लगायतको विषयमा सझादारी बन्यो भने कांग्रेस एमालेको सहकार्य हुनसक्ने बताए। उनले केवल सत्तामा मात्रै आधारित नभइ मुद्दामा आधारित भएर अगाडि बढ्नुपर्ने बताए।

‘हामी मुद्दामा आधारित हुनुपर्छ। सरकार परिवर्तन हुनुमात्रै महत्त्वपूर्ण होइन। यो सरकार दिगो हुनुपर्छ र दीर्घकालिन रुपमा काम गर्ने वातावरण हुनुपर्छ। अब सत्ताको लागि सत्ता होइन कि त्यसको दिगोपन, के–के मुद्दामा सहमती हुने?,’ उनले भने, ‘निर्वाचन प्रणालीले स्थायित्वमा समस्या आयो भन्ने कुरा छ। यी सबै कुरामा समझदारी बन्यो भने अगाडी बढ्नसक्छ। कुराकानी हुनु अस्वभाविक होइन। तर हामी सत्तामा जानका लागि मात्रै केन्द्रित भएर गर्दैनौँ।’

 

सत्तारुढ नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भने एमाले वर्तमान सरकारलाई मजबुत बनाएर लैजाने पक्षमा रहेको बताए। ‘एमाले यो सरकारलाई मजबुद बनाएर लैजाने पक्षमा छ। सरकार अदल बदल गरेर त्यसको नेतृत्व परिवर्तन गर्ने खेलमा एमाले छैन। सरकारलाई मजबुत बनाएर लैजानुपर्छ,’ उनले भने।

त्यस्तै, नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले नेताहरुबिचको भेटवार्ताले सत्ता समिकरणमा फेरबदल नआउने बताए। आज नै वर्तमान सत्ता समीकरणलाई नै मजबुत बनाएर लैजाने विषयमा प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भद्र सहमती भएको जिकिर गरे।

‘प्रधानमन्त्रीको पहलमा सरकारलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने, समिकरणलाई बचाउने, सहकार्यलाई निरन्तरता दिने र ०८४ सम्म नै समिकरण अगाडी बढाउनुपर्छ। सरकार सञ्चालनमा चाहीँ यही समिकरणलाई मजबुद बनाएर जाऔँ भनेर बालुवाटारमा भद्र सहमती पनि भएको छ दुई नेताहरुका बीचमा। त्यसकारण तरंगित भइराख्नुपर्ने आवश्यकता देखिँदैन। सत्ता समिकरणमा फेरबदल आउने परिस्थिति देखिँदैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .