ad ad

राजनीति


संसद् बैठक : कार्कीले खोजिन् गृहमन्त्री, चौधरीले औँल्याए अस्थिरताको कारण

संसद् बैठक : कार्कीले खोजिन् गृहमन्त्री, चौधरीले औँल्याए अस्थिरताको कारण

सांसद रोशन कार्की र मेटमणि चौधरी (फाइल तस्बिर)


नेपालखबर
असार २५, २०८१ मंगलबार १४:३३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजी गरेकी छिन्। 

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरु त्रासमा रहेको बेलामा गृहमन्त्री संसद बैठकमा समेत नआएको भन्दै गृहमन्त्रीको खोजी गरेकी हुन्। 

देशभर विपद्को अवस्था कस्तो छ सो को बारेमा संसद बैठकमा जानकारी गराउन उनले माग गरिन्। गृहमन्त्री आफ्नै फाइल खुल्ने हो कि भनेर संशकित भएको उनको जिकिर थियो।

‘यत्रा नागरिकहरू मरिराखेका छन्। डुबानमा परिराखेको छ। बाढी, पहिरो चारैतिर त्राहिराम छ। तर उहाँ(गृहमन्त्री) यहाँ उपस्थित हुनुभएन। म उहाँको मनस्थिति बुझ्छु, उहाँलाई अत्यन्तै पीडाबोध भएको छ। किनभने फाइलहरू त खुल्न थालेका छन्। यो त अर्को सरकारले पनि खोलिदिएला,’ उनले भनिन, ‘कहीँ उहाँ आफ्नै फाइलसँग पनि सशंकित हुनुहुन्छ कि जस्तो लाग्यो। यो फाइलका कुरा, बेचन झाका कुराहरु अहिले गर्ने बेला होइन। यो त नेपाली जनतालाई कसरी संकटबाट मुक्त गर्ने भन्नेकुरा सोच्नुपर्ने बेला हो। वर्षातको समय बाँकी छ। जनतालाई मर्न नदिने कुरा सोच्ने बेलामा अर्कै कुरा गर्नुहुन्छ। आएर सत्यतथ्य जानकारी दिनुस् संसदलाई। यो तपाईंको कर्तव्य हो। गृहमन्त्री यहाँ उपस्थित हुनुपर्छ।’

नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले अस्थिरताको मुल कारण प्रधामन्त्रीको कुर्सी मोह भएको पनि बताए। उनले देश नबन्नुमा एकले अर्कोलाई दोषारोपण गरिने गरेको भन्दै विगत ३५ वर्षमा ज–जसले सरकारको नेतृत्व गरे उनीहरू सबै दोषी भएको बताए। 

‘देश नबन्नुमा २०४६ सालदेखि अहिलेसम्म ३५ वर्षको अवधिमा जो–जोले नेतृत्व गर्नुभयो। उहाँहरु सबै दोषी हुनुहुन्छ। अझै पटक–पटक प्रधामन्त्री बन्नुभएको सबैभन्दा धेरै दोषी हुन्छ। दुई तिहाई वरिपरिको सरकार पनि चलाउन नसक्ने, सहयात्री दलहरुले सहयोग गर्दा पनि समीकरण फेरिरहने, १८ महिनामा ५ पटकसम्म विश्वासको मत लिनुपर्ने अवस्थाको सिर्जनाको मुल कारक नेतृत्व नै हो। संघमा हुने सहयात्री दलहरूको फेरबदलका कारण सातवटै प्रदेशमा फेरबदल हुन थाल्छ। यो बाहेक अरु केही हुन सकेको छैन। यसको कारण अरु केही नभएर प्रधानमन्त्रीको चरम कुर्सी मोह नै हो।’

उनले सत्ता सहयात्री दलहरूले साथ दिदाँदिदै पनि समीकरण फेरिरहने नेतृत्व अस्थिरताको मूल कारण भएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .