ad ad

राजनीति


प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको भेट गराउने नयाँ दिल्लीको वचन

मलेसियाली प्रमको भ्रमणका कारण समय मिलाउन अप्ठेरो
प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको भेट गराउने नयाँ दिल्लीको वचन

तत्कालिन प्रधानमन्त्रीको रुपमा भ्रमणमा गएका बेला सन् २०१७ मा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा शेरबहादुर देउवा र पत्नी आरजु राणालाई स्वागत गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (तस्बिर : गेट्टी ईमेज)


नेपालखबर
भदौ १, २०८१ शनिबार २०:४१, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको आसन्न भ्रमणलाई उच्च प्राथमिकतामा राखेको संकेत नयाँ दिल्लीले दिएको छ। 

मन्त्री राणाको भ्रमणको पूर्व सन्ध्यामा विज्ञप्ति जारी गर्दै नयाँदिल्लीले नेपाललाई आफ्नो प्राथमिकतामा परेको मित्रको रुपमा परिभाषित त गरेको छ। 

साथसाथै, नयाँ दिल्लीका अधिकारीहरूले प्रधानमन्त्री मोदीसँग भेटघाटको प्रबन्ध मिलाइने वचन पनि दिएका छन्। 

आइतबारदेखि हुन लागेको भ्रमणबारे भारतीय विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले शनिबार अपरान्ह एकसाथ विज्ञप्ति जारी गरेका छन्। 

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतको छिमेक नीतिमा नेपाल प्राथमिकतामा परेको मित्र (प्रायोरिटी पार्टनर) भएको उल्लेख गरिएको छ। 

‘भारतको छिमेक पहिलो नीति अन्तर्गत नेपाल प्राथमिक साझेदार हो‘ विज्ञप्तिमा भनिएको छ, ‘परराष्ट्रमन्त्री राणाको आसन्न भ्रमणले द्विपक्षीय सहयोगमा भएका प्रगतिबार छलफल र समीक्षा गर्ने अवसर प्रदान गर्नेछ। यसबाट  मुलुकबीचको सम्बन्धलाई अझ अगाडि बढाउन मद्दत पुग्नेछ।‘ 

नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा पनि यस प्रकारका उच्चस्तरीय भ्रमणहरुले दुई मुलुकबीचको पुरानो सम्बन्धलाई थप सुदृढ तुल्याउने उल्लेख गरिएको छ। 

परराष्ट्रमन्त्री डा. देउवा भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा नयाँदिल्ली जान लागेकी हुन्। 

उपचारको सिलसिलामा नयाँदिल्ली जाने योजनामा रहेपनि डा. राणाको भ्रमणलाई औपचारिक स्वरुप प्रदान गर्न भारतीय विदेशमन्त्री जयशंकरले निम्तो पठाएका थिए। 

भारतीय विदेशमन्त्री डा। जयशंकरसँग मन्त्री राणाको सोमबार भेटवार्ता हुने बताइएको छ। 

भारतले भ्रमणलाई औपचारिक स्वरुप प्रदान गर्ने भएपछि मन्त्री राणामार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तोपत्र पठाउने योजना बनाएका छन्। 

अघिल्लो हप्ता नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीमार्फत् पनि प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। 

यसपटक चाहिँ मन्त्री राणा औपचारिक निम्तोपत्र बोकेर नयाँ दिल्ली जानेछिन्। 

प्रधानमन्त्री मोदीसँग भेट हुने यकिन भइसकेको त छैन। तर नयाँदिल्लीका अधिकारीहरुले सकभर भेटघाटको प्रबन्ध मिलाउने वचन दिएका छन्। 

प्रधानमन्त्री मोदीको निमन्त्रणामा मलेसियाका प्रधानमन्त्री इब्राहिम अनवरले पनि यसैहप्ता भारत भ्रमण गर्दैछन्।

‘मलेसियाली प्रधानमन्त्री अनवरको भारत भ्रमणमा भ्रम मोदी व्यस्त हुने भएकाले परराष्ट्रमन्त्री डा. राणासँग भेटघाटको कार्यतालिका नमिलेको हो,’ स्रोतले भन्यो, ‘भारतीय पक्षले प्रम मोदी र परराष्ट्रमन्त्री डा. राणाबीच सकभर भेट गराउने वचन दिएको छ। उहाँ प्रम मोदीसँग भेटको अपेक्षासहित नयाँदिल्ली जाँदै हुनुहुन्छ।’

मलेसियाली प्रधानमन्त्री अनवर भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुग्नेछन् र मंगलबार स्वदेश फर्कनेछन्।

‘यही समयमा अर्का कुनै विदेशी उच्चपदस्थको पनि भारत भ्रमण हुँदै रहेछ‘ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘दुई दुई उच्चपदस्थ भ्रमणका कारण भारतीय पक्षलाई परराष्ट्रमन्त्री डा। राणाको प्रम मोदीसँग भेटघाटको समय मिलाउन कठिन भइरहेको छ।’

परराष्ट्रमन्त्री राणा चार दिन नयाँ दिल्लीमा रहनेछिन्। आइतबार भारत प्रस्थान गर्ने उनी उपचार र उच्चस्तरीय भ्रमण सम्पन्न गरेर बिहीबार स्वदेश फर्कनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .