ad ad

राजनीति


योगेशले दोहोर्‍याए : विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग स्पष्टीकरण लिनुपर्छ

योगेशले दोहोर्‍याए : विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग स्पष्टीकरण लिनुपर्छ

नेपालखबर
भदौ १२, २०८१ बुधबार १५:१४, काठमाडौँ

नेकपा (एमाले) का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले विद्युत प्राधिकरणको असुल गर्नुपर्ने १६ अर्ब वक्यौता रकम आफूखुशी मिनाहा गरेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियारको दुरुपयोग गरेको आरोप लगाएका छन्।

सार्वजनिक लेखा समितिका सदस्य समेत रहेका उनले बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै विपक्ष दलका नेता दाहालले कुनै अधिकार नै नभएको विषयमा प्राधिकरणको १६ अर्ब बक्यौता छुट दिने निर्णय गर्नु महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन बिरुद्ध भएकाले उनलाई संसदले पनि स्पष्टिकरण सोध्नुपर्ने बताए।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै दाहालले नेपाल विद्युत प्राधिकरणको बक्यौता रकमबारे प्रधानमन्त्री ओलीले स्पष्टिकरण दिनुपर्ने माग गरेका थिए।

तर एमाले सचिव भट्टराईले भने सो सम्बन्धमा तत्कालीन प्रधानमन्त्री दाहालले अख्तियारको दुरुपयोग गरेर कानून विपरित बक्यौता रकम छुट सम्बन्धी निर्देशन दिएकाले उनले तत्काल संसदमा स्पष्टिकरण दिनुपर्ने तर्क गरे।

सचिव भट्टराईले एमालेले प्राधिकरणको असुल गर्नुपर्ने कुनैपनि बक्यौता रकम छुट दिनुहुन्न भन्ने पक्षमा रहेको पनि दोहोर्‍याए।

उनले भने, ‘हिजो पुष्पकमल माननीयजीले विपक्ष दलका नेताजीले प्रधानमन्त्री केपी ओलीजीलाई स्पष्टिकरण सोध्छु भन्नुभयो। म यो प्रतिनिधि सभाको तर्फबाट तत्कालीन प्रधानमन्त्री हालको विपक्ष दलका नेता माननीय पुष्पकमल दाहालजीलाई भन्न चाहन्छु–तपाईले कुन कानूनको आधारमा तपाईसँग भएको कुन अधिकार प्रयोग गरेर नेपाल विद्युत प्राधिकरणको १६ अर्ब बक्यौता छुट दिने निर्णय गर्नुभयो? यो प्रतिनिधि सभाले तपाईलाई स्पष्टिकरण सोध्छ।’

उनले थपे, ‘उहाँले नभएको अधिकार प्रयोग गर्नुभयो। यसको मतलव उहाँले अख्तियारको दुरुपयोग गर्नुभयो। यदि यो देशमा अख्तियार छ भने उसले पुष्पकमल दाहाललाई सोध्नुपर्छ कि तपाईले यो अख्तियारको दुरुपयोग किन गर्नुभयो? तपाई यति १६ अर्ब रकम छुट दिने निर्णय किन गर्नुभयो? हामीले उठाएको प्रश्न यहाँ हो।’

सचिव भट्टराईले कानून विपरित जाने काम तत्कालीन प्रधानमन्त्री दाहालले गरेकाले आफूहरुले त्यसमाथि स्पष्टिकरण माग गर्नुपरेको दाबी गरे।

उनले तत्कालीन प्रधानमन्त्री दाहालले गएको वैशाख २७ गते ऊर्जा मन्त्रालयमार्फत नेपाल विद्युत प्राधिकरणलाई एउटै मितिमा दुई वटा पत्र पठाएका कारण विवाद सुरु भएको बताए।

‘त्यो पत्रले २१ अर्ब ८८ करोडको बक्यौतालाई उहाँले एकैचोटी ६ अर्बमा झारिदिनुभयो। र बाँकी १६ अर्ब मिनाहा गर्ने आशयको पत्र पठाउनु भयो’ भट्टराईले भने, ‘विवाद यहाँबाट शुरु भएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .