ad ad

राजनीति


अधिवेशन अन्त्यबारे सभामुखले पत्र पढेर सदनमै दिए जानकारी

अधिवेशन अन्त्यबारे सभामुखले पत्र पढेर सदनमै दिए जानकारी

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १६:२२, काठमाडौँ

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको घोषणा गरिएको हो।

प्रतिनिधि सभाको चालु चौथो अधिवेशनको आजको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए।

सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो (आइतबार) राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसदलाई पठाएका थिए।

राष्ट्रपतिले पठाएको सो पत्र पढ्दै सभामुख घिमिरेले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्।

यता, राष्ट्रिय सभाको चालु अधिवेशन पनि अन्त्य भएको छ।

आजको बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए।

यस अवधिमा राष्ट्रिय सभाका ४० वटा बैठक बसी जम्मा ७३ घण्टा ५५ मिनेट सभाको काममा व्यतित भएको अध्यक्ष दाहालले बताए। यस अधिवेशन अवधिमा १७ वटा बैठकमा शून्य समय रहेको, उक्त शून्य समयमा ४४ जना सदस्यहरूले २ घण्टा ०२ मिनेट समय उपयोग गरेको बताए।

१६ वटा बैठकमा विशेष समय रहेको र विशेष समयमा ५२ जना सदस्यहरूले २१ घण्टा ५६ मिनेट समय उपयोग गरेको अध्यक्ष दाहालले बताए। यस अधिवेशनका १ वटा बैठकमा प्रादेशिक सरोकार समय रहेको थियो।

यस अधिवेशन अवधिमा राष्ट्रिय सभामा दर्ता भएका मिडिया काउन्सिल विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा  ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१, तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ भने सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई पारित गरी प्रतिनिधि सभामा पठाएको बताए।

चालु अधिवेशनमा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको थियो। सोही अध्यादेशलाई प्रतिस्थापन गर्न प्रतिनिधि सभामा उत्पति भएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ दुवै सभाबाट पारित भई प्रमाणीकरण समेत भएको बताए।

उनले यसै अधिवेशन अवधिमा नेपाल विश्वविद्यालय विधेयक२०७९ र सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ दुवै सभाबाट पारित भई प्रमाणीकरणको लागि पठाएको र अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ खाद्य स्वच्छता तथा गुणस्तर विधेयक,२०७७, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९,  विनियोजन विधेयक, २०८१, आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महशुल विधेयक, २०८१ दुवै सभाबाट पारित भई प्रमाणीकरण भएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .