ad ad

राजनीति


सुशासन र समृद्धिको बाटोहुँदै समाजवादतिर अघि बढौँ: प्रचण्ड (भिडिओ)

सुशासन र समृद्धिको बाटोहुँदै समाजवादतिर अघि बढौँ: प्रचण्ड (भिडिओ)

नेपालखबर
असोज ३, २०८१ बिहिबार ७:३२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डले सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचकाविरुद्ध नेपाल राष्ट्र र नेपाली जनतालाई एकताबद्ध गर्नु जरुरी रहेको बताएका छन्। 

संविधान दिवस र राष्ट्रिय दिवसका अवसरमा बिहीबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई वर्तमान संविधानले अधिकार सम्पन्न  बनाएको पनि उल्लेख गरेका छन्। 

‘सबैभन्दा पहिले म यस ऐतिहासिक दिवसका अवसरमा संविधान निर्माणका निम्ति योगदान गर्ने देशभित्र र बाहिरका सम्पूर्ण नेपाली जनताप्रति हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु,’ प्रचण्डले सन्देशमा भनेका छन्, ‘देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको स्तरसम्म ल्याइपु¥याउन महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न प्रकारका आन्दोलनमा प्राण उत्सर्ग गर्ने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’

भिडिओ

यस अवसरमा उनले बेपत्ता योद्धा, घाइते तथा अपाङ्ग लगायत सम्पूर्ण गणतान्त्रिक योद्धाहरुप्रति उच्च सम्मान पनि व्यक्त गरेका छन्। 

आफूहरु इतिहासको निकै चुनौतीपूर्ण र अवसरयुक्त मोडबाट गुज्रिरहेको चर्चा गर्दै प्रचण्डले यतिबेला संविधान दिवस मनाउनुको अर्थ सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोंचका विरुद्ध नेपाल राष्ट्र र नेपाली जनतालाई एकताबद्ध गर्नु नै भएको बताएका छन्। 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकार सम्पन्न बनाएको र राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई एक हदसम्म सुनिश्चित गरेको बताएका छन्। 

‘यसलाई अझ सुदृढ गर्न अगाडि बढ्नु हामी सबैको जिम्मेवारी हो,’ प्रचण्डले भनेका छन्, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको हाम्रो सुस्पष्ट बाटो हुनेछ।’ 

संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्ने प्रतिवद्धता पनि प्रचण्डले व्यक्त गरेका छन्। 

‘यसका लागि हाम्रो पार्टी निरन्तर अभियानात्मक कार्यक्रमसहित अघि बढ्ने तयारीमा छ,’ प्रचण्डले भनेका छन्, ‘जनताले प्राप्त गरेका अधिकारको उच्चतम उपभोग गर्दै सबैखाले अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न र यो अभियानमा सहभागी हुन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्न चाहन्छु।’ 

उनले संविधान दिवसले सबैलाई संविधान कार्यान्वयनमा बाँकी रहेका कामहरु अझ तदारुकताका साथ र दृढताका साथ कार्यान्वयन गर्न उत्प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .